नेपाल–भारत सीमा सुरक्षा बैठक आज पाेखरामा हुँदैः दुवै देशका सुरक्षा उच्च अधिकारी सगभागी हुने

समाधान संवाददाता २०७६ मंसिर ४ गते १२:१०

भरत कोइराला
पोखरा

नेपाल–भारत सीमा विवाद चर्किरहेका बेला दुवै देशको सीमा सुरक्षा समन्वय बैठक बुधबारबाट पोखरामा सुरु हुँदैछ । नेपालको सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहित दुवै देशका सुरक्षा अधिकारी बैठकमा सहभागी हुनेछन् ।

सीमा सुरक्षाका बारेमा नियमति बैठक भएकाले यसमा अहिले चर्किएको कालापानीको नक्सा विवादबारे कुनै छलफल नहुने गृहमन्त्रालय स्रोतले बताएको छ । ६ गतेसम्म चल्ने बैठकमा भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर सार्वजनिक गरेको विवादित राजनीतिक नक्साबारे कुनै छलफल नहुने गृह मन्त्रालय स्रोतले बताएको छ । पोखराको दोबिल्लास्थित माउन्टग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रा सहभागी हुनेछन् ।

Advertisement

भारतबाट महानिर्देशकसहित ५ जनाको टोली मंगलबार नै पोखरा आइपुगेको छ । बैठकमा सहभागी हुन आएका गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले बैठकमा अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदानलगायत विषयमा छलफल हुने बताए । ४ गते मुख्य बैठक हुनेछ । ५ गते संयुक्त टोलीले कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद तालिम केन्द्रको अवलोकन गर्ने र ६ गते काठमाडौंमा औचारिक रुपमा समापन हुने उपसचिव घिमिरेले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट पेस गर्ने एजेन्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरेका थिए । उक्त प्रस्ताव केही परिमार्जन गर्दैे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमा बुझाइसकेको छ ।
२०७५ साउन २३ र २४ गते भारतको राजधानी नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । त्यसअघि २०६९ र २०७२ मा भारत र नेपालले क्रमश पहिलो र दोस्रो बैठक आयोजना गरेका थिए । दिल्लीमा सम्पन्न तेस्रो बैठकले समन्वय बैठक वर्षको एकपटक, सीमा सुरक्षा गण तहमा २ पटक र बोर्डर अब्जर्भर पोस्ट (बिओपी) तहमा हरेक महिना बैठक बस्ने निर्णय गरेको थियो । उक्त बैठकमा सीमापार अपराध नियन्त्रणका लागि औपचारिक संयन्त्र बनाई नियमित गस्ती गर्ने सहमति भएको थियो । क्षमता अभिवृद्धिका लागि २ संगठनले आ–आफ्ना अनुभव साट्ने र अवलोकन भ्रमण गर्ने समझदारी पनि त्यही बेला भएको थियो ।

Advertisement

गण र बिओपी तहमा नियमितजसो सीमा सुरक्षा, अन्तरदेशीय अपराध रोकथाम, नियन्त्रण र सूचना आदानप्रदानबारे हरेक वर्ष दुवै देशका सीमा सुरक्षा निकायबीच बैठक आयोजना हुने गरेको छ । केन्द्रीय तहमा समन्वय बैठकलाई नियमित गर्न नसकिएको गृह मन्त्रालयका उच्च अधिकारीले बताए । नेपाल र भारतबीच पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म २३ जिल्लामा करिब १ हजार ८ सय ८० किमि सीमा लम्बाइ कायम छ । केही वर्षयता एसएसबीले नेपाल–भारत सीमामा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । उसले ५ सय ३० वटा सीमा पोस्ट खडा गरिसकेको छ । एपिएफले पनि त्यसैअनुरूप संरचना अगाडि बढाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया