वृद्धमा भन्दा युवामा मुटु जोखिम बढिः डा. भगवान् कोइराला

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:०१

मोहसिन अलि मियाँ
गोरखा

वृद्धवृद्धामा भन्दा युवामा मुटुरोगको जोखिम बढी भएको चिकित्सकले बताएका छन् । विगत ५ वर्ष यता गोरखा अस्पतालमा हरेक वर्ष हुँदै आएको निशुल्क मुटु परीक्षण शिविरका क्रममा वृद्धवृद्धामा भन्दा युवाको मुटु बढी जोखिममा रहेको देखिएको चिकित्सकले बताएका हुन् ।

रोटरी क्लब अफ गोरखा र रोट्रयाक्ट क्लब अफ गोरखाले बर्सेनि आयोजना गर्ने निशुल्क मुटु शिविरमा परीक्षण गराउन आउनेमध्ये करिब ७० प्रतिशत युवाको मुटुमा कुनै न कुनै किसिमको समस्या देखिएको छ । ‘मुटु जाँच्दा बुढाबुढीभन्दा युवाको बढ्ता जोखिम देखिन्छ’ सोमबार जिल्ला अस्पताल गोरखामा भएको शिविरमा आएका डा. भगवान् कोइरालाले भने, ‘पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको सिकारमा युवा परेका छन् ।’ विशेष गरी खानपान, विलासी जीवनशैली, व्यायामको अभाव लगायत कारणले पछिल्लो पुस्ताको मुटु जोखिममा परेको चिकित्सकको भनाइ छ ।

Advertisement

मुटु परीक्षण गराउन आउने २५ देखि ५० वर्षसम्मका बढी छन् । ‘अधिकांश युवा अवस्थाका व्यक्ति जँचाउन आउँछन्,’ अस्पतालका सूचना अधिकारी एवं रोटरी क्लब अफ गोरखाका उपाध्यक्ष कृष्ण ढकालले भने, ‘जीवनशैलीकै कारण पछिल्लो समय यो समस्या बढेको हुनसक्छ ।’ पछिल्लो समय युवामा उच्च रक्तचाप, सुगर लगायतका समस्या बढी देखिने गरेको उनको भनाइ छ ।

बर्सेनि हुने शिविरमा मुटु परीक्षण गराउनेसमेत बढेका छन् । अघिल्लो वर्ष २ दिन शिविर सञ्चालन गर्दा करिब १ हजारले मुटु जाँच गराएका थिए । जयन्ती मेमोरियल ट्रस्टको समन्वय तथा मनमोहन कार्डियोथोरासिक भास्कुलार तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोगमा जिल्ला अस्पतालमा १ दिन सञ्चालन गरिएको शिविरमा ८ सय ४७ जनाले मुटुको परीक्षण गराएको रोटरी क्लब अफ गोरखाका अध्यक्ष शरद कट्टेलले बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको नेतृत्वमा ९ अमेरिकीसहित ३१ जनाको टोलीले सोमबार शिविरमा मुटु परीक्षण गरेका थिए । शिविरमा २ सय २ जनाको इको, ३ सय ४२ जनाको इसिजीका साथै एक्सरे गराइएको अध्यक्ष कट्टेलले बताए । शिविरमा चेकजाँचका लागि आएकामध्ये १४ जनामा मुटुसम्बन्धी जटिल रोग देखिएकाले शल्यक्रियाका लागि काठमाडौं रिफर गरिएको बताइएको छ । उनीहरुको शल्यक्रियासमेत निशुल्क रुपमा व्यवस्था गरिएको रोट्रयाक्ट क्लब अफ गोरखाका निरञ्जन कट्टेलले जानकारी दिए ।

Advertisement

गोरखा अस्पतालमा भएको शिविरमा मुटु परीक्षण गर्दै डा. भगवान कोइराला । तस्बिरः मोहसिन÷समाधान

तपाईको प्रतिक्रिया