आचारसंहिता उल्लंघनका ३ उजुरी

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:३३

विकास रोकामगर
पोखरा

निवार्चन आचारसंहिता मिचेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखरामा ३ उजुरी परेको छ । कार्यालयमा पोखरा महानगर, पोखरा १५ वडाध्यक्ष र संघीय समाजवादीविरुद्ध १÷१ उजुरी परेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् ।

निर्वाचन आचारसंहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार उपचुनाव भइरहेको छ । आचारसंहिता अनुसार निर्वाचन अवधिभर सम्बन्धित स्थानीय तह तटस्थ र निष्पक्ष रहनु पर्ने उल्लेख छ ।

Advertisement

‘निर्वाचन सम्पन्न नभएसम्म प्रचारप्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने,’ आचार संहितामा भनिएको छ, ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा गर्न वा काजमा खटाउन हुँदैन ।’ तर, कास्की क्षेत्र नम्बर २ मा विभिन्न सरकारी तथा राजनीतिक दलले आचारसंहिताविपरीत काम गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबारसम्म ३ वटा उजुरी परेको हो ।

कर्मचारी सरुवा बदर
पोखरा महानगरविरुद्ध उपनिर्वाचनको समयमा कर्मचारी सरुवा गरेको भन्दै उजुरी परेको छ । उपचुनाव हुन लागेको कास्की २ भित्र पर्ने पोखरा १६ मा कार्यरत २ शिक्षकलाई अन्यत्र सरुवा गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

Advertisement

महानगर शिक्षा महाशाखाले १ जनालाई १७ नम्बर वडा र अर्कोलाई ११ नम्बर वडामा सरुवा गरेको हो । सहायक निर्वाचन अधिकृत उपाध्यायले कार्यालयमा उजुरी परिसकेपछि छानबीन पश्चात सरुवा बदर गरिसकिएको जानकारी दिए । ‘निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गरेको उजुरी आयो । उजुरीपछि अनुसन्धान गरेर सरुवा बदर गरिदियौं,’ उनले भने, ‘यो उजुरी पार लागिसकेको छ ।’

महानगर शिक्षा महाशाखाका अधिकृत वसन्त पौडेल भने कर्मचारी सरुवा असार १९ गते नै गरेको दाबी गरे । ‘उपनिर्वाचनका लागि आचारसंहिता लागु समयअघि नै हामीले शिक्षक सरुवा गरेका हौं । यो कुरा अहिले बाहिर आएकोमात्रै हो,’ उनले समाधानसँग भने, ‘हामीले प्रक्रियाअनुसार नै सरुवा गरेको विवरण पेश गरेका छौं । सरुवा प्रक्रिया बदर भइसकेको आफूलाई जानकारी नभएको तर, बदर भए स्वीकार्न तयार रहेको उनले सुनाए ।

कम्बल बाँडेको आरोप
कास्की क्षेत्र नम्बर २ भित्र पर्ने पोखरा १५ का वडाध्यक्षले स्थानीयलाई कम्बल बाँडेको भन्दै उजुरी परेको छ । पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले उपचुनाव आचारसंहिताविपरीत ‘मतदाता’लाई कम्बल बाँडेको उजुरी परेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

‘गाउँलेलाई प्रभावित पार्न कम्बल बाँडेको भनेर वडाध्यक्षविरुद्ध उजुरी परेको छ,’ उपाध्यायले भने, ‘उहाँलेचाहिँ संस्थाले बाँडेको हो मैले होइन भन्नु भएको छ । वास्तविकता के हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ उजुरी परेका वडाध्यक्ष तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्षले आचारसंहिताविपरीत कम्बल बाँडेको भन्दै नेपाली कांग्रेसले समेत प्रेस विज्ञप्ति जारी गरेको छ ।

पोखरा १५ वडाध्यक्ष पौडेलले भने आफूले स्थानीयलाई कम्बल बाँडेको नभई १ गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुनमात्रै गएको दाबी गरेका छन् । ‘त्यहाँको एउटा संस्थाले मलाई प्रमुख अतिथिका रुपमा गएका हुँ । संस्थाले त्यहाँका गरिब जनतालाई १२ वटा कम्बल बाँडेको हो,’ उनले भने, ‘वडाध्यक्षको हैसियतले त्यहाँ पुगेको हुँ । मैले किन त्यस्तो काम गर्थें र ?’ उनले सामाजिक काम गरेको फोटो फेसबुकमा पोस्ट गर्दा अपवाह फैलाएको आरोप लगाए ।

उपनिर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै संघीय समाजवादीविरुद्ध पनि उजुरी परेको छ । पोखरा १६ अर्मलामा पानीको पाइप बाँडेको भन्दै स्थानीयले उजुरी दिएको अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । तर, स्थानीयले दिएको उजुरीमा पाइपको फोटामात्रै देखिएको र त्यसबाहेक अरु प्रमाण पेश गर्न नसकेको बताए । ‘फोटोमा केही पाइप छन् । फोटो त जसले पनि खिच्न सक्छ । तर, खासमा के भएको रहेछ अनुसन्धान गर्दैछौं,’ उनले भने ।

प्रतिनिधि सभा सदस्य तथा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो । मंसिर १४ गते हुने उपचुनावका लागि स्वतन्त्रसहित २१ जना चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

तपाईको प्रतिक्रिया