प्यारापिट जडान आजदेखि

समाधान संवाददाता २०७६ मंसिर ४ गते १३:४१

समाधान संवाददाता
पोखरा

पोखरा रंगशालामा निर्माणाधीन फुटबल मैदानका लागि स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड (प्यारापिट) को जडान बुधबारदेखि सुरु हुँदै छ । निर्माणाधीन फुटबल मैदानका लागि आवश्यक पहिलो चरणमा १४ कन्टेनर तथा ५४ सय सिट क्षमताको प्यारापिट पोखरा रंगशालामा आइसकेको छ । काम सुरु गरेको ४ दिनभित्र नै ५४ सय जना अट्ने प्यारापिट जडान गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि दीपक बरालले बताए । उनले प्यारापिट जडान भएपछिमात्र रंगशाला आर्कषक र नयाँ रुपमा देखिने सुनाए । प्यारापिटका अन्य सामान पनि केही दिनमा नै नेपालको नाकामा आउने र अबको हप्ता दिनमा पोखरमा नै आइपुग्ने बरालले बताए । उनका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ८ देखि १० हजार दर्शक अट्ने प्यारापिट निर्माण हुनेछ भने ७ वटा शौचालयन निर्माण गरिनेछ । विदेशबाट ल्याएको रेडिमेड प्यारापिट पोखरा रंगशालामा जडानमात्र गरिने छ । अन्य कामभन्दा प्यारापिट जडान छिटो हुनेछ ।

पहिलो चरणको प्यारापिट नोभेम्बर पहिलो साता आइपुग्ने भनिए पनि सामान १ साता ढिलो गरी आएको हो । साग खेलका लागि पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट फुटबल मैदानको पूर्व र पश्चिमतर्फ राख्ने फाउन्डेसन तयार गरिएको छ । मैदानको पश्चिमतर्फ भिआइपी प्यारापिटसहित चेन्जिङ रुम लगायत अन्य विभिन्न कक्ष निर्माण गरिनेछ । तर ती पूर्वाधार भने फुटबल प्रतियोगितापछि मात्रै तयार हुनेछन् । मैदानसँगै ट्रयाकका लागि अस्फाल्ट कालोपत्रे अन्तिम चरणमा पुगेको छ ।

Advertisement

गत फागुनदेखि पोखरा रंगशालाको फुटबल मैदान निर्माण सुरु भएको हो । गएको असोजदेखि दुबो बिछ्याउने काम सुरु भएको हो । फुटबल मैदान बनाउन निर्माण कम्पनीले तीव्र काम गर्दै आएको छ । रातमा बत्ती प्रयोग गरेर काम अघि बढाएका छन् । रंगशलामा १८ हजारभन्दा बढी दर्शक अटाउने भनेर निर्माण थालिएको डोमको ६० प्रतिशत काम सकिएको बरालले जानकारी दिए । १ अर्ब २८ करोडको लागतमा फुटबल मैदान निर्माण गर्न लागिएको हो । प्यारापिट जडान हुँदै गर्दा मैदानमा दुबो राम्ररी उम्रिएको छैन । मरेको दुबो विस्थापित गर्नुपर्ने काम बाँकी नै छ । त्यसका लागि अझै पनि २५ सय स्क्वायर फिट दुबो आवश्यक छ । दुबो आउने क्रम जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया