दर्ताविनै चल्छन् गाेरखा बजारका पसलहरु

मोहसिन अली मियाँ
गोरखा
गोरखा बजार आसपासका वडाका अधिकांश पसल दर्ताविनै सञ्चालनमा भएको पाइएको छ । मंगलबार गोरखा नगरपालिकाको नेतृत्वमा भएको बजार अनुगमनमा अधिकांश पसल कुनै पनि निकायमा दर्ता नै नभएको देखियो ।
गोरखा १, २, ४, ६ र ८ का केही साना बजारमा मंगलबार अनुगमन गरिएको थियो । ‘हामी नियमित बजार क्षेत्र लक्षित गरी अनुगमन गरिरहेका छौं’, गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईँले भने, ‘अबको टार्गेट मुख्य बजारमात्रै होइन, वडाका साना पसल पनि छन् ।’
अधिकांश पसल दर्ता नभएको, मूल्यसूची नराखेको, म्याद गुर्जेका सामान राखेको, होटल तथा रेस्टुरेन्ट सफा नभएको भेटिएको छ । ‘आज हेरेको ४७ वटामध्ये अधिकांशले दर्ता नगरेको भेटियो’, उनले भने, ‘केहीले दर्ता त गरेको तर नवीकरण नगरेको, दर्ता गर्नुपर्ने सबै निकायमा नगरेको पनि छन् ।’ त्यस्ता पसल तथा फर्मलाई नगरपालिकाले दर्ता प्रक्रियामा जान २ हप्ता समय दिएको छ ।
पसलका सञ्चालकहरु भने दर्ता प्रक्रिया झण्झटिलो भएका कारण ढिलाइ भएको बताउँछन् । ‘दर्ता नै नगरी पसल चलाउने मनसाय हाम्रो पनि होइन । दर्ता गर्न गयो प्रक्रिया नै झन्झटिलो छ,’ कोखे आहालेका १ व्यापारीले भने, ‘हामी जस्ता गाउँका साना व्यापारीलाई सबै कुरा मेसो पनि नहुने ।’ वडा कार्यालयले गाउँका पसलको दर्ता प्रक्रिया व्यवहारिक रुपमा सहज बनाउनुपर्ने उनीहरुको माग छ ।
वडा नम्बर १ को स्यामबजार, कटुसघारी, २ को कोखेआहाले बजार, ४ को फिनाम, ८ को आहाले र ६ को घ्याम्पेसाल बसपार्क वरपरका पसलमा गरिएको अनुगमनका क्रममा झण्डै ९० प्रतिशतले मापदण्ड पूरा गरेको देखिएन । २ वटा मासु पसल, ३१ वटा किराना, ११ वटा होटल, १ औषधी पसल र अन्य खुद्रा २ वटा पसलमा अनुगमन गरिएको हो ।
तपाईको प्रतिक्रिया