१३ औं साग तयारी तीव्रः आर्चरी मैदान तयार, प्याराग्लाइडिङ अन्योलमा

समाधान संवाददाता २०७६ मंसिर ४ गते १४:१५

सुरेशराज अधिकारी
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा हुने भनिएका ९ खेलको तयारी तीव्र रुपमा अघि बढेको छ । साग प्रतियोगिता हुन १३ दिनमात्र बाँकी हुँदा भौतिक संरचना निर्माणका काम पनि अन्तिम चरणमा पुगेको संघका पदाधिकारी बताउँछन् ।

पोखरामा हुने खेलमध्ये ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन पोखरामा नै हुनेछ । भौतिक संरचना र प्राविधिक हिसाबले अहिलेसम्म निर्माण कार्य तीव्र बढेको छ ।

Advertisement

पोखरामा हुने खेलमध्ये ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्याँडबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोक्तोलन पोखरामा नै हुने छ । भौतिक संरचना र प्रविधिक हिसाबले अहिलेसम्म निर्माण कार्य तीव्र बढेको छ ।

ट्रायथोलन
ट्रायथोलनका लागि प्रतियोगिता स्थल फेवाताल, हिमागृह हुँदै राष्ट्रबैंक चोक, मुस्ताङचोक, बिरौटा, ड्यामसाइड राष्ट्रबैंक चोकदेखि हिमागृहको रुट तयार पारिएको छ । सोही अनुसार हिमागृहदेखि राष्ट्रबैक चोक हुँदै मुस्ताङचोकसम्म पिच गरिएको छ । भने मुस्ताङचोकदेखि बिरौटा चोक र बिरौटा चोकबाट राष्ट्रबैंक चोकसम्म पिच गर्न बाँकी रहेको ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटा बताउँछन् ।

Advertisement

देवकोटाका अनुसार हिमागृह हुँदै राष्ट्रबैंक चोक, मुस्ताङ चोक, बिरौटा, ड्यासाइड राष्ट्रबैंक चोकदेखि हिमागृहसम्मको बाटोमा ४ पटकसम्म साइकलमा घुम्ने र १ पटक दौडने रुट बनाइएको हो । फेवातालको पानी प्रतियोगिताका लागि उपयुक्त भएको नभएको बुधबारमात्र थाहा हुनेछ ।

आर्चरी
पोखरा रंगशालाको दक्षिणपट्टि रहेको आर्चरी खेलमैदानमा आर्चरी प्रतियोगिता गर्न लागिएको छ । आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनका अनुसार अहिले भौतिक संरचनाको निर्माणको काम सम्पन्न भएको छ । प्रतियोगिताको लागि अब टेक्निकल विषय र स्टेज निर्माण लगायत काम बाँकी रहेको शेरचनले बताए ।

गत चैत्रमा भौतिक पूर्वाधार निर्माणका लागि ९० लाख रुपैयाँ माग गरिएकोमा कात्तिक १ गतेमात्र २५ लाख रुपैयाँ विनियोजन भएको थियो । विनियोजन भएकोमध्ये केही रकममात्र आर्चरी संघले पाएको छ भने बाँकी रकम प्रक्रियामा रहेका कारण आउन बाँकी रहेको शेरचन बताउँछन् । २५ लाख रुपैयाँले खेल मैदान समथर बनाउने, भवनमा रङ लगाउने, शौचालय मर्मत गर्ने लगायत काम गरेको छ ।

बिच भलिबल
बिच भलिबल प्रतियोगिताका लागि बाराही घाटको खेल मैदान तोकिएको छ । उक्त खेल मैदानमा ४ वटा भलिबल कोर्ट निर्माण योजना अघि बढेको लगभग महिना भएको छ । तर बिच भलिबलका लागि आवश्यक बालुवा नपाइएका कारण निर्माणमा ढिलो भएको छ । उक्त खेलका लागि आवश्यक बालुवा छनोटको काम अघि बढेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली बताउँछन् । खेल मैदान वरिपरि अस्थायी शौचालय प्रयोग हुनेछ । कोर्ट निर्माणका लागि ५२ लाख रुपैयाँ विनियोजन भएको छ । केही रकममात्रै संघको खातमा आएको छ ।

ह्यान्डबल
ह्यान्डबल प्रतियोगिता पोखरा रंगशालामा रहेको बहुद्देश्यीय भवनमा गर्ने योजना छ । योजना अनुसार चीनबाट हलका लागि ल्याएको म्याट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै रोकिएकोे छ । उनका अनुसार ह्यान्डबलको संरचना निर्माणका लागि ४ करोड रुपैयाँ माग गरिएको १ वर्ष भयो । ‘बजेट समयमा नै नआएर समस्या परेको छ, ‘थापाले भने, ‘बहुद्देश्यीय भवनमा राखिएको सामान त अन्य प्रतियोगिताका लागि पनि प्रयोग हुन्छ ।’

ब्याडमिन्टन
ब्याडमिन्टन खेल पोखरा रंगशलामा रहेको ब्याटमिन्टन हलमा गर्ने योजना रहेको छ । ब्याडमिन्टन हल निर्माण अन्तिम चरणमा पुगे पनि हलमा आवश्यक म्याट र बिजुली जडानको काम बाँकी छ । खेलाडीका लागि चेन्जिङ रुम, ट्वाइलेट, बाथरुम निर्माणका काम पूरा भएको ब्याटमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए ।

महिला क्रिकेट
महिला क्रिकेटका लागि पोखरा रंगशालाको दक्षिणपट्टिको क्रिकेट मैदानमा पिच तयार पार्ने काम अघि बढेको छ । क्रिकेटका लागि प्यारापिट बनाउने नबनाउने अहिलेसम्म अन्योलन नै रहेको कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार ६० लाख बजेट विनियोजन भएको मध्ये अहिलेसम्म जम्मा १० लाख रुपैयाँमात्र संघको खातामा आएको छ ।

महिला फुटबल
महिला फुटबलका लागि निर्माणाधीन मैदानको काम तीव्र पारिएको छ । रंगशालामा प्यारापिट जडान अघि बढाइएको छ भने असोजमा रोपेको दुबो केही मात्रामा मरेको छ । उक्त दुबो विस्थापन गर्ने काम भएको छ । प्रतियोगिताका लागि ८ हजारदेखि १० हजार दर्शक अट्ने प्यारापिट निर्माण हुनेछ ।

भारोत्तोलन
भारोत्तोलन खेल पोखरा १२ माटेपानीस्थित एसआर केसी बैंक्युटमा हुने भएको छ । प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । खेलका लागि मंसिर १४ गतेदेखि २५ गतेसम्म हल चाहिने भएकाले सोही अनुसार हल बुक भएको भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले जानकारी दिए ।

हलमा पार्टेसन गर्ने, स्टेज बनाउने लगायत काम भएको कारण १५–२० दिनमा तयारी पूरा हुने बताए । अहिले पोखरा रंगशालामा तयारीका लागि स्टेज, पार्टेसन लगायत सामान निर्माण भइरहेको छ ।

प्याराग्लाडिङ
सराङकोट तोरीपानीबाट फेवाताल लगायत क्षेत्रमा प्याराग्लाइडिङ प्रतियोगिता गर्ने योजना छ । अहिलेसम्म पाकिस्थानका २ जना पुरुष खेलाडीमात्र सहभागी हुने भएका छन् । अन्य देशका खेलाडी सहभागी नभए प्रतियोगिता हुने छैन ।
प्रतियोगिता हुनुभन्दा २० दिन अघि नै सबै खेलका खेल मैदान निर्माण हुनुपर्नेमा केही ढिला भएको हो ।

तपाईको प्रतिक्रिया