साझाकी रजनीको घरदैलोेः पोखरेलीले सोच्ने बेला आएन र ?

समाधान संवाददाता २०७६ मंसिर ४ गते १४:२४

अमृत सुवेदी
पोखरा

छोरेपाटन हुँदै कृस्ती नाच्नेचौरको डाँडामा पुगेर साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पोखरा लियाल्दै भने, ‘पोखरा पनि काठमाडौंकै बाटोमा हिँड्यो ।’ जहाँबाट सिंगो पोखरा र निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल, चालु पोखरा पोखरा विमानस्थल दुई आँखामा अटाउँछन् ।

मिश्रले चिन्ता व्यक्त गरे, ‘हेर्दाहेर्दै सुन्दर पोखरा कुरुप हुँदै गयो । लाग्छ पोखरा पनि कुनै दुर्घटनाको पर्खाइमा छ । जोगाउनतिर पोखरेलीले सोच्नै बेला आएन र ?’ चिन्ताको उत्तर पनि उनी आफैंले दिए, ‘सुन्दर पोखराका मानिस शिक्षित छन् । यसपाली व्यवस्थित पोखराको आवाज उठाउने जिम्मेवारी साझालाई दिनेछन् । तराजुमा भोट हाल्ने छन् ।’

दोपहरे चोकबाट दक्षिण, पश्चिम हुँदै मिश्र ओरोलो लागे । पोखरा–२१ मा भविष्य निर्माण मावि छ । त्यसकै माथिपट्टी छ, नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालय । नेपाली कांग्रेसको झण्डा फरफराइरहेको कार्यालय अघिल्तिर रोकिए मिश्र । कांग्रेसकै झण्डा फरफराइरहेको घरमा सानो होटल पनि छ । मिश्र लगायतलाई खाना खाने प्रवन्ध त्यही मिलाइएको छ ।

त्यही चोक हुँदै विद्यार्थी आउजाउ गरिरहेका छन् । भविष्य निर्माण माविको शीरनेरै अभिएर, मिश्रले देश र जनताको भविष्य निर्माणको कुरा गरे । ‘यो देशको भविष्य निर्माण गर्ने हामीले नै हो । वर्षौंसम्म यही ठाउँबाट जितेर गएका पुराना पार्टीले देश बदलेनन्, आफ्नो आर्थिक हैसियतमात्रै बदले,’ चोकमा उभिएर मिश्रले बोले, ‘अब यो देश बदल्न शिक्षित नेपालीले मन र मत बदल्नुपर्छ ।’

साझा पार्टीकी उम्मेदवार रजनी केसीको चुनावी प्रचार अभियानमा मिश्रसहितको टोली त्यहाँ पुगेको थियो । मिश्र पुग्नु भन्दाअघि नै घरदैलोमा गाउँ पसिसकेकी रहिछन् रजनी । रजनीलाई भोट माग्न पुगेका युवाको समूहले चोकको सरसफाइ गर्दै थियो । ‘हामी सभ्य र सुसंस्कृत राजनीतिको पक्षमा छौं,’ रजनीको प्रचारमा घरदैलो गर्न पुगेका तीलक राजले भने, ‘सभ्य हुने सुरुआत आफैंबाट गर्नुपर्छ भन्ने मान्यताका साथ चोक सरसफाइ ग¥यौं । हामी चाहन्छौं, फोहोरी राजनीति सफा होस् ।’

खाना खाने प्रवन्ध हुँदै गर्दा मिश्रले चोकबाट आउजाउ गर्ने गाउँलेसँग गफगाफ गरिरहे । एक वृद्ध आइपुगे । मिश्रले कुराकानी थाले, ‘बुवा नमस्कार । हामी त तराजुलाई भोट हाल्नुस् भन्नलाई आएका ।’ उनी रहेछन्, लालबहादुर शाही । उनले भने, ‘बिरामी छु । औषधी खाने पैसासमेत नभएर गाह्रो छ । वृद्धा भत्ता पाउन अझै उमेर पुगेको छैन । जसले वृद्धा दिलाइदिन्छ, म त उसैलाई भोट हाल्ने हो ।’

मिश्रले उमेर सोधे । लालबहादुरले खल्तीबाट नागरिकता झिकेर देखाए । ६५ वर्ष पुगेछन् । ‘नागरिकता परिवर्तन गर्न मिल्दैन बुवा । अरु कसैले भत्ता दिलाइदिन्छु भने पनि नपत्याउनु होला, झुक्याउन सक्छन्,’ मिश्रले भने, ‘बरु मलाई आशीर्वाद दिनुस् । भ्रष्टाचार गर्ने, समाजलाई पाप गर्ने बुद्धि कहिल्यै नआओस् भनेर अषिश माग्ने गरेको छु ।’

एकैछिनमा मुस्कुराउँदै नमस्कार गर्दै आइपुगिन्, साझाकी उम्मेदवार रजनी । उनको अनुहारमा बिछट्टै चमक छ । हिँडाइमा रफ्तार । थाइ कट कपाल र सारीमा सजिएकै रजनीको हातमा चुनावी पर्चा छ । मिश्रनेर आइपुगेर रजनीले भनिन्, ‘म यताको गाउँ पसेर घरदैलो गरेर आइपुगें । मतदाताले उत्साही पो बनाइरहेका छन् ।’ रवीन्द्रको मुहार उज्यालियो । रजनीसँग बताउँदै हात मिलाउँदै भने, ‘जित्नुपर्छ ।’

भविष्य निर्माण माविनेरको चोकबाट देश निर्माणको उद्घोष गर्दै घरदैलोमा फेरि निस्कनै लाग्दा माइकिङ गर्दै आएको एउटा जीप नजिकै रोकियो । जीपबाट कोट, पाइन्ट र ढाका टोपी लगाएका एक जना युवा निस्किए । उनी थिए, कास्की क्षेत्र नम्बर २ कै स्वतन्त्र उम्मेदवार कमलजंग कुँवर । मिश्र नमस्कार गर्दै कमलजंगतिरै सोझिए । अनि सुरु भयो, दुईको संवाद ।

मिश्रः कमलजी नमस्कार, कता हजुर पनि घरदैलोमा ?
कमलः नमस्कार हजुर । आज म पनि यो क्षेत्रमा घरदैलोमा आइपुगेको ।
मिश्रः ए ल शुभकामना । तर, यो देशमा एक्लै हिँड्न धेरै गाह्रो पो छ त कमलजी । एक्लै देश बदल्न कहाँ सकिएला । पहिले पनि तपाईंसँग कुरा भएकै हो । तपाईंले पनि पुरानो पार्टी छाडिहाल्नु भयो । मिलेर जाऔं ।
कमलः म पनि एउटा समूह बनाउँदै छु । आफ्ना विचार राखेर प्रचारसामाग्रीसहित जनतासामु जाँदैछु । धेरै मतदाता दलहरुमा आवद्ध भइसकेपछि बन्धनजस्तो बन्दोरहेछ । भोट परिवर्तन गर्न गाह्रो मान्दा रहेछन् ।
मिश्रः तपाईंमा यो उत्साह हुनु ठूला कुरा हो । तपाईंले जुन लक्ष्यसहित जागिर छाड्नुभयो, त्यो लक्ष्य पूरा गर्न अरु पार्टीमा तपाईं जान सक्नुहुन्न । हामीसँगै आवद्ध हुने हो । यसलाई गम्भीरता पूर्वक सोचिदिनुपर्‍यो ।
कमलः अब एउटै उद्देश्य छ भने फरक फरक बाटो जानु पर्ने त केही छैन । तर, हतारमा हामी मिल्यौं भने पनि गाह्रै होला । म पनि संस्थागत गर्ने र नीतिका आधारमा एउटा आकार ग्रहण गरिसकेपछि कति नजिक हुन्छौं, त्यसपछि विचार गरौंला । पहिले म मेरो विचार जनतासामु पु¥याउँछु । एउटा टिम पनि बन्छ । त्यसपछि विचार गरौंला ।
मिश्रः हस्, कमलजी शुभकामना । फेरि मिल्नुपर्छ ।
साझाकी उम्मेदवार रजनीले पनि हात मिलाउँछिन् । दुबैले शुभकामना साटासाट गर्छन् र बाटो लाग्छन् ।

घाँस दाउरा बोकेर आइरहेको केही गाउँले लस्करै भेटिए । उनीहरु गाउँ उक्लँदै गर्दा रजनीको चुनावी प्रचार समूह कुराकानी गर्दै अगाडि बढ्छ । रजनीले सबैको हात–हातमा पर्चा बाँड्दै जनताको दुखसुखमा सँगै हुने बताइन् । मिश्रले घाँस, दाउरा गरेर जीवन बिताइरहेका गाउँलेका घरसम्म सरकार आउन नसकेको बताउँछन् । घाँस , दाउरा बोकिरहेकाहरुको साझा आवाज आउँछ, ‘हामीलाई के को सरकार । जुन सरकार आए पनि हाम्रा दुख हामीसँगै हुने हुन् ।’

सधैं एउटै पार्टी र दललाई भोट हालेर पठाएका सांसदले जनताका विषयमा नसोच्दा दुख जहाँको त्यहीँ रहेको बताउँछन् । ‘तपाईंहरुले सुन्दर हिमाल गर्दै घाँस, दाउरा, किसानी गरेर पठाएका नेताले केके गरे हेर्नुहोस् त ? उनीहरुको अवस्था बदलियो, जनता उस्तै छन्,’ उकालोमा पाइला बढाउँदै मिश्रले भने, ‘अब तपाईंले तराजूमा भोट हाल्नुस् । हामीले आफूलाई होइन, जनतालाई हेछौं । हामी भ्रष्टाचार गर्दैनौं, कुनै नराम्रो काम गर्दैनौं ।’

नेताले ५ पुस्ताका लागि पैसा जम्मा गरिसकेको तर जनताको पक्षमा आवाज नउठाएको रजनीले बताइन् । उनीहरुको कुरा सुनेपछि दाउराको भारसँगै दुई हातले लाम्लो समाउँदै मिश्रतिर हेरे । मुसुक्क मुस्कुराउँदै उनले भने, ‘हो, यसअघि त अर्कै पार्टीलाई हालेको हो । म त भर्खर विदेशबाट आएको । एउटा पार्टी त समाउनै पर्ला । मलाई तपाईंहरुको कुरा पनि मन प¥यो ।’ उनी रहेछन्, कृष्ण सुनार ।

रवीन्द्र र रजनीले उनलाई अझ हौसाउँदै यो देशको राजनीति शिक्षित युवाले बदल्नुपर्ने बताए । घर पुगेपछि कृष्णले दाउराको भारी पाले । उनले श्रीमतीलाई चिनाए र तराजूमा भोट हाल्न आग्रह गरे । अनि कृष्ण आफैंले केही घरमा भोट माग्न सँगै डुले । घरघर मान्छे चिनाउँदै तराजुमा भोट हाल्न गर्दै कृष्णले त्यहाँबाट बिदाइ गर्दै रजनीको चुनावी प्रचार टोलीलाई भने, ‘ल नबिर्सनुहोला । एउटा पार्टी समाउनै पर्छ । म तपाईंहरुकै भएँ ।’

रजनीको प्रचारमा पुगेको टोलीले संविधान, विभिन्न तन्त्र भन्दाभन्दै लामो गुज्रिएको बताउँदै अब विकासका निम्ति राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्ने घरदैलो गरिरहेका छन् । साझा कास्कीमा चुनावी प्रचार अभियान सुरुमा थाल्ने पार्टी हो । चुनावी अभियानको नेतृत्व गरिरहेका प्रदेश संयोजक महेश भण्डारी र जिल्ला संयोजक अर्जुन खनाल यो निर्वाचनले ठूला भनिएका दललाई पाठ सिकाउने बताउँछन् ।

एक सिटले अहिलेको सरकार र कांग्रेसलाई पनि केही फरक नपर्ने भएकाले तराजूलाई भोट दिएर एउटा सन्देश दिन उनीहरुले आग्रह गर्दै घरदैलो गरिरहेका छन् । लामो समय कांग्रेसको राजनीति गरेर साझा प्रवेश गरेकी रजनीले जनताको मन बद्लिनेमा विश्वास व्यक्त गरिन् । नेपाल विद्यार्थी संघ, प्रजातान्त्रिक कर्मचारी युनियन र नेपाली कांग्रेसको राजनीति गरिरहेकी रजनीले पोखरा विश्वविद्यालयकी उपप्रशासकबाट अवकास लिएर साझाको उम्मेदवार बनेकी हुन् । उनकै प्रचारमा साझा संयोजक मिश्र लगायतका नेताले पोखरा छाडेका छैनन् ।

रजनी स्पष्ट बक्ताका रुपमा चिनिँदै घरदैलो गरिरहेकी छन् । अलोकप्रिय सरकार र कमजोर प्रतिपक्षको वितृष्णाले मतदाताले साझालाई रोज्ने उनीहरुको दाबी छ । तर, कास्की क्षेत्र नम्बर २ बढी नेकपा र कांग्रेसकै प्रभाव क्षेत्र हो ।

कतिपयले साझा र विवेकशीललाई १ अर्काको प्रतिस्पर्धाका रुपमा पनि हेरेका छन् । यसअघिको साझा विवेकशील अहिले टुक्रिएर बेग्लाबेग्लै उम्मेदवारका साथ चुनावी मैदानमा छन् । विवेकशील समर्थित जमुना शर्मा चुनावी मैदानमा छिन् ।

गएको निर्वाचनमा साझा विवेकशीलका उम्मेदवारले यो क्षेत्रबाट ८ सय ४३ मत ल्याउँदै तेस्रो भएको थियो । अहिले यो मत पनि दुई पार्टीमा बाँडिने छ । कांग्रेसको राजनीति गरिरहेकी रजनीलाई भित्राएर उम्मेदवार बनाएपछि साझाले चुनाव जित्ने हुँकार गरिरहेको छ । यी दुबै पार्टीलाई मत आर्जनको वातावारण सिर्जना गरेर जीत हाँसिल गर्नु चुनौतिको पहाड हो । तर, पनि साझा पार्टीका संयोजक भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा विवेकशीलसँग त हुँदै होइन, नेकपा र कांग्रेसँग पनि होइन । हामी पहिलो हुन्छौं, तेस्रो, तेस्रो को हुन्छ भन्न सकिन्न ।’

तपाईको प्रतिक्रिया