जनता र पार्टीको अनुरोधले मैदानमाः विद्या

समाधान संवाददाता २०७६ मंसिर ५ गते १२:४०

समाधान संवाददाता
पोखरा

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारी र नेकपा नेताहरु मत माग्न व्यस्त छन् । बुधबार पोखरा ३३ भरतपोखरीमा नेकपाले विभिन्न स्थानमा घरदैलो र कोणसभा गरेको छ । नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् ।

कांग्रेस नेताहरु प्रकाश श्रेष्ठ, कृष्ण भुसाल, जीतबहादुर थापा, उमेश बराल लगायतलाई नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम र नेकपा उम्मेदवार भट्टराईले पार्टीमा स्वागत गरे । मंगलबार नेपाली कांग्रेस पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति नगेन्द्र शर्मा भण्डारीसहित ४० जना नेकपा प्रवेश गरेका थिए ।

Advertisement

उम्मेदवार भट्टराईले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथि बन्ने प्रतिज्ञा गरेकी छन् । उनले सोही क्षेत्रका सांसदसमेत रहेका पति रवीन्द्र अधिकारीको गाउँमा भएको कोणसभामा विकास र समृद्धिको बाँकी सपना आफूले पूरा गर्ने बताइन् । उनले भनिन्, ‘देशको विकास र समद्धिको महाअभियान सुरु भएको छ, । मेरो जीवन अब जनताकै सेवामा समर्पित गर्छु ।’ उनले पार्टी र जनताको अनुरोधमा आफू मैदानमा आएको बताइन् ।

नेकपा गण्डकी अध्यक्ष उत्तमले जनजाति, आदिवासी, उत्पीडितको मुक्ति र देशको समृद्धि नेकपाले मात्र गर्न सक्ने बताए । नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको बताए । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका काम गरिरहेको बताए । कार्यक्रममा नेकपा पोखरा ३३ का चुनावी कमान्डर भीम कार्की, प्रदेशसभा सदस्य दीपक कोइराला, नेकपा नेता धनराज आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा मात्र समृद्धि सम्भव हुने दाबी गरे ।

Advertisement

सुन्दर भविष्यका लागि नेकपाः राजकाजी

पोखरा १६ का चुनावी कमान्डर राजकाजी गुरुङले सरकारले देशको विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताएका छन् । उनले देश र जनताले आफ्नो सुन्दर, समृद्ध भविष्यका लागि नेकपलाई विजयी गराउने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, निर्वाचन परिचालन कमिटी संयोजक निर्मल आचार्य लगायतको टोलीले बुधबार पोखरा १६ का बाटुलेचौर, लामाचौर, अर्मला, जोगीमणी लगायतका विभिन्न क्षेत्रका घरदैलो गरेको छ ।

पोखरा ११ र २१ मा घरदैलो
नेकपाका नेता कार्यकर्ता पोखरा ११ मा बिहान सबेरैदेखि साँझसम्म चुनावी प्रचारप्रसारमा व्यस्त छन् । वडाका चुनावी कमान्डर चूडामणि जंगलीको नेतृत्वमा नेकपा टोलीले मात मागिरहेको छ ।

वडाको पर्यटकीयस्थल काहुँडाँडामा ९ तले आधुनिक धरहरा निर्माणका लागि डिपीआर तयार भइसकेकाले त्यसलाई पूर्ण गराउन पनि नेकपालाई जिताउन जंगलीले आग्रह गरे । उनले सडक, खानेपानी लगायतका जनताका समस्या स्थानीय, संघ र प्रदेश सरकारले समाधान गर्ने भएकाले नेकपाको विकल्प नभएको दाबी गरे । वडा कमिटीले मंसिर ५ गते जनसंगठन तथा ६ गते महिला र्‍याली र ७ गते युवाको मार्चमास आयोजना गर्ने प्रचारप्रसार संयोजक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

पोखरा २१ मा वडा परिचालन कमिटीले घरदैलो गरिरहेको छ । वडाका चुनावी कमान्डर दीपक पौडेलले बुधबार निर्मलपोखरीका लेवाड, मैदान, गिरीगाउँ, जनचेतना स्कुल क्षेत्र, लाम्पाटा, शिवालय, फोक्सिङका मतदातामाझ गएर भोट मागिएको बताए । कमिटीले कृस्तिका छापस्वारा, रानी, वयली, च्यारथुम लगायतका ठाउँमा पनि घरदैलो गरेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले बताए ।

पोखरा २० मा ज्येष्ठ नागरिक कमिटी
नेकपा पोखरा २० ले ज्येष्ठ नागरिकको भेला गरेको छ । भेलाले कृष्णबहादुर केसीको संयोजकत्वमा ४५ सदस्यीय ज्येष्ठ नागरिक चुनाव परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा पोखरा २० अध्यक्ष भीमप्रसाद बास्तोला, सूर्यविलास पौडेल, गोबिन्दप्रसाद पौडेल, ताराप्रसाद पौडेल, रविकिनारा लामिछाने लगायतले शोकलाई पनि शक्तिमा बदलेर नेकपाले कास्की २ को समृद्धिको नेतृत्व गर्ने बताए ।

पोखरा ४ र १५ मा युवा भेला
नेकपाको चुनावी अभियान अन्र्तगत पोखरा १५ मा टोल स्तरीय घरदैलो अभियान जारी छ । बुधबार भएको भेलाले नारायण भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन कमिटी बनाएको छ । भेलाले घरदैलो तथा नेकपाको पोखरामा हुने आमसभालाई व्वस्थापन गर्न सहयोग गर्ने निर्णय गरेको नेकपा १५ अध्यक्ष भक्तबहादुर खत्रीले बताए ।

पोखरा ४ मा पनि युवा परिचालन कमिटी गठन भएको छ । नेकपाले अनीलबहादुर कोइरालाको संयोजकत्वमा १ सय ५१ सदस्यीय कमिटी बनाएको छ । पोखरा ४ का चुनावी कमान्डर दामोदर वैरागीले युवा र देशको वर्तमान र भविष्य सुन्दर बनाउन देशमा नेकपाको नेतृत्व र चुनावमा नेकपाकै विजय जरुरी हुने बताए ।

तपाईको प्रतिक्रिया