बैदाम प्रहरीकाे फरार थुनुवा पक्राउ

समाधान संवाददाता २०७६ मंसिर ५ गते १३:४३

सुरेशराज अधिकारी
पोखरा

वडा प्रहरी कार्यालय बैदामबाट फरार १ थुनुवालाई प्रहरीले १२ घन्टापछि पक्रेको छ । चितवन घर भएका १८ वर्षीय राम परियार मंगलबार बैदाम प्रहरी कार्यालयबाट भागेका थिए । चोरी मुद्दामा केही दिनअघि मात्र म्याद थप गरेर हिरासतमा राखिएका परियार पिसाब फेर्ने बहानामा बाहिर निस्कँदा भागेका हुन् ।

प्रहरीको लापरबाहीका कारण नै परियार भाग्न सफल भएको स्रोतको दाबी छ । परियार भागेको र १२ घण्टापछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसी बताउँछन् । परियार बैदामबाट भागेको भएपनि पृथ्वीचोकबाट प्रहरीले पुन नियन्त्रणमा लिएको हो । मंगलबार बेलुका ९ः३० बजे परियार फरार भएका थिए ।

Advertisement

पिसाब फेर्न लैजाँदा पनि निगरानी गर्नुपर्नेमा त्यसमा कमजोरी भएको प्रहरी स्रोतको भनाइ छ । प्रहरीकै लापरबाही र कमजोरी जोडिएको अर्काे घटना तिहारअघि पनि भएको थियो । भाइटीकाको २ दिनअघि पोखरा लेकसाइड ४ नम्बर गल्लीको होटल स्विस होमबाट पक्राउ परेका यौनधन्दामा संलग्न व्यक्तिलाई प्रहरीले त्यत्तिकै छाडिदिएको थियो ।

होटल व्यवसायी र स्थानीयले नै प्रहरीलाई बुझाएका व्यक्ति प्रहरीबाट त्यत्तिकै छाडिएका थिए । मानव बेचबिखन कार्यमा संलग्न रहेको भन्दै प्रहरीलाई बुझाएको मान्छेलाई बैदाम प्रहरीले सोधपुछ नगरी छाडिदिनुका साथी ती व्यक्तिबाट नियन्त्रित स्कुटर पनि सुम्पिएको स्थानीय बताउँछन् ।

Advertisement

थुनुवा कक्षमा अर्काे लापरवाही गत कात्तिक १६ गते पनि भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका १ थुनुवाको मृत्यु भएको थियो । सिन्धुली कमलामाई नगरपालिका ५ घर भएका २८ वर्षीय थापा ६१ दिनअघिबाट कास्की प्रहरीको थुनामा थिए । उनको समयमै उपचार नहुँदा मृत्यु भएको प्रहरी स्रोत नै बताउँछ । १० महिनाअघि कास्की प्रहरीको हिरासतभित्र नै विष सेवन गरेर एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको थियो । लागुऔषध कारोबार आरोपमा पक्राउ परेका भारत मोतिहारीका ३० वर्षे सन्दीप साहले गत फागुन १६ गते बिहान ४ बजे पोखरा पश्चिमाश्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया