व्यासका किसानलाई अनुदानमा आलुको बीउ

समाधान संवाददाता २०७६ मंसिर ५ गते १४:१४

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।

नगरपालिकाका १४ वटै वडाका करीब ३ सय कृषकलाई १६ हजार ५ सय केजी आलुको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको हो ।

Advertisement

केजीको ५८ पर्ने जनकदेव आलुलाई २९ मा र केजीको ६० पर्ने एमएस आलुलाई ३० मा वितरण गरिएको हो । ‘अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौं,’ वाग्लेले भने, ‘कृषकको माग बमोजिम अनुदानमा बीउ बाँडेका छौं ।’ नगरपालिकाले काभ्रेबाट आलुको बीउ किनेर ल्याएको हो ।

वितरण गरिएको बिउले करिब १ सय ८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करिब ५÷६ सय रोपनी क्षेत्रफलमा आलु खेती हुने गरेको अनुमान छ । बिज भण्डारबाट पनि कृषकले आलुको बीउ खरिद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलु खेती हुन्छ भन्ने आधिकारिक तथ्यांक भने नगरपालिकासँग नरहेको वाग्लेले बताए । ‘आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो,’ वाग्लेले भने ।

Advertisement

कृषि शाखाले च्याउ, हाते ट्याक्टर, साना सिंचाइ, मौरीगोला तथा घार, तरकारी खेतीका लागि प्लास्टिक टनेल लगायत पनि अनुदानमा दिने तयारी गरेको छ । व्यास ८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६ सय केजी आलुको बीउ माग गरेकोमा ३ सय केजीमात्रै पाएको बताए । टोल विकास संस्थामार्फत् ६० जनाले आलुको बीउ खरिद गरेका छन् । समूहमार्फत आलुको बीउ खरिद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रुपमा आलुखेती गर्दै आएका छन् ।

व्यास १० खहरेस्थित मादीगंगा महिला बहुउद्देश्यीय सहकारी अन्तर्गत महिला समूहले ९ सय केजी आलुको बीउ खरिद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिइन् । समूहले २ वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ । गत वर्ष ६ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया