चिनियाँ सहयोगमा युवालाई तालिम

समाधान संवाददाता २०७६ मंसिर ६ गते १२:५२

समाधान संवाददाता
पोखरा

चिनियाँ लगानीमा विभिन्न युवाले पोखरामा प्राविधिक तालिम लिएका छन् । पोखरा लामाचौरस्थित पोखरा पोलिटेक्निक इन्स्टिच्युट प्रालिमा ४० युवाले प्लम्बर र इलेक्ट्रिक तालिम लिएका हुन् । चिनियाँ गरिबी निवारण कोष (चाइन फाउन्डेसन फर पोभर्टी एलिभेसन)को सहयोगमा सफा सुनौलो नेपालमार्फत इन्स्टिच्युटले युवालाई प्राविधिक तालिम उपलब्ध गराएको हो ।

प्लम्बिङतर्फ २० र इलेक्ट्रिकतर्फ २० युवाले दैनिक सैद्धान्तिक तथा प्रयोगात्मक तालिम लिइरहेका छन् । उनीहरुलाई शंकरराज अधिकारी र सञ्जय लम्सालले प्रशिक्षण दिएका छन् । रौतहट, तनहुँ, नवलपरासी, चितवन, लमजुङ, कास्की, स्याङ्जा लगायत ठाउँका युवाले तालिममा भाग लिइरहेको इन्स्टिच्युटका व्यवस्थापक छवेन्द्रबहादुर थापाले जानकारी दिए । इन्स्टिच्युटका अध्यक्ष पुष्पेन्द्र पाण्डेका अनुसार खुला सूचनाबाट आह्वान गरिएका युवालाई परीक्षा लिएरै तालिमका लागि छनोट गरिएको हो । तालिमपछि युवाहरुलाई सजिलै काम उपलब्ध हुने विश्वास गरिएको छ ।

Advertisement

चिनियाँ गरिबी निवारण कोषका लागि नेपाल प्रमुख चौ चो छ्याङले हालै उक्त तालिमको अनुगमनसमेत गरेकी थिइन् । उनले पोखरा विमानस्थल निर्माणमा लागिरहेको चिनियाँ निर्माण कम्पनीसहित नेपालमा कार्यरत चिनियाँ कम्पनीहरुले प्राविधिक जनशक्ति मागिरहेको हुँदा तालिमपछि युवा बेरोजगार बस्नुनपर्ने विश्वास व्यक्त गरिन् । ‘नेपालमै पनि रोजगारीको अवसर हुन्छ, यहाँ जताततै प्राविधिक जनशक्तिको माग छ,’ उनले भनिन्, ‘यो तालिमले एकातिर युवालाई सीप दिन्छ । रोजगारीको अवसर दिन्छ । नेपाललाई सीपयुक्त जनशक्ति दिन्छ ।’ नेपालको आवश्यकतालाई ख्याल गर्दै सीपमूलक तालिममा आफूहरुले सहयोग गरेको उनले सुनाइन् ।

तालिममा सहभागी युवाले कुनै शुल्क तिर्नु पर्दैन । खर्चको व्यवस्था चाइना फाउन्डेसनले मिलाएको छ । ‘सिटिइभिटिइमा लिइने सीप परीक्षण शुल्क पनि लाग्दैन,’ इन्स्टिच्युटका व्यवस्थापक थापाले भने, ‘सहभागीलाई व्यावहारिक सीपमा दक्ष बनाउने गरी तालिम दिइरहेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया