मानहुँकोटमा जग्गा विकास गरिने

समाधान संवाददाता २०७६ मंसिर ६ गते १३:३७

समाधान संवाददाता, दमौली

व्यास नगरपालिका ५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागु गरिने भएको छ । मानहुँको जग्गालाई एकीकृत गरी व्यवस्थित रुपमा विकास गर्न नगरपालिकाले जग्गा विकास कार्यक्रम अघि बढाएको हो ।

मानहुँको मौलिक चरित्रलाई यथावत राखी आधुनिक ढंगबाट विकासको अभियान सञ्चालन जग्गा विकास कार्यक्रम लागु गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । मानहुँमा बाहिरका व्यक्तिले जग्गा किनेर आफ्नंै ढंगले व्यवस्थापन गर्न लागेपछि नगरपालिकाले नै व्यवस्थित ढंगबाट जग्गा विकास गर्न आवश्यक महसुस गरेको नगरप्रमुख न्यौपानेले बताए ।

Advertisement

‘मानहुँका मगरले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किन्ने क्रम बढ्दै गइरहेको छ,’ नगरप्रमुख न्यौपानेले भने, ‘त्यसैलाई मध्यनजर गर्दै मानहुँको जग्गा व्यवस्थापन गर्न खोजेका हांै ।’ नगर प्रमुख न्यौपानेका अनुसार मानहुँमा रहेका केही सार्वजनिक जग्गालाई पनि जग्गा विकास कार्यक्रममा समावेश गरिनेछ । मानहुँमा घर निर्माण गर्दा मौलिक परम्परालाई ख्याल गरिने भन्दै नगर प्रमुख न्यौपानेले घरभित्र सिमेन्टको प्रयोग भए पनि बाहिरबाट हेर्दा मौलिक खालको देखिनुपर्ने भएकाले त्यसतर्फ नगरपालिकाले सोच बनाएको बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यास नगरपालिका ५ पतेनीटार, व्यास नगरपालिका ६ शिशाघाट, व्यास नगरपालिका ७ नरंगा फाँट र व्यास नगरपालिका १० बैरेनी क्षेत्रमा विस्तार गर्ने जनाएको थियो । सोही बमोजिम बैरेनी र शिशाघाटमा जग्गा विकास कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति गठन भइसकेको नगरपालिकाका इन्जिनियर रवीन्द्रलाल भूलले जानकारी दिए ।
जग्गा विकास कार्यक्रम लागु भएपछि व्यक्तिका सबै जग्गाको लालपूर्जा सरकारलाई बुझाउने र नयाँ नापी अनुसार जग्गा वितरण गरिनेछ । जग्गा विकास कार्यक्रमका लागि नगरपालिकाले आफ्नै इकाइ बनाएको छ ।

Advertisement

धेरै पर्यटकको ध्यान अहिले मानहुँकोटमा केन्द्रित भइरहेकाले मानहुँलाई व्यवस्थित गर्न खोजिएको व्यास नगरपालिका ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङसँग जोड्न प्रत्येक वर्ष म्याराथन प्रतियोगितासमेत हुँदै आएको छ । केही वर्षसम्म उजाड रहेको मानहुँकोट अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेकाले यहाँ जग्गा विकास कार्यक्रम लागु गर्न खोजेर नगरपालिकाले राम्रो काम थालनी गरेको जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले बताए ।

‘जग्गा विकास कार्यक्रमले मानहुँकोटको थप विकास हुने हो, यसका लागि स्थानीयबासी जागरुक बन्नुपर्छ,’ वाग्लेले भने । गत वर्ष व्यास नगरपालिका ११ रानीगाउँमा जग्गा विकास कार्यक्रमका लागि प्रक्रिया प्रारम्भ गरे पनि स्थानीयबासीको विरोधपछि उक्त कार्यक्रम स्थगित भएको थियो । स्थानीयबासीलाई कार्यक्रमबारे बुझाउन कठिनाइ भएको नगरपालिकाले जनाएको छ । जग्गा विकास कार्यक्रमका लागि उक्त ठाउँमा प्रारम्भिक अध्ययनसमेत भइसकेको छ ।

कार्यक्रम सञ्चालनका लागि समिति गठन

जग्गा विकास कार्यक्रम सञ्चालनका लागि वडाध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिमा स्थानीयबासी, जग्गाधनी, टोल विकास संस्थाका पदाधिकारी सदस्य छन् । समितिमा सुरबहादुर थापा, केशरी थापा, मानध्वज थापा, शंकर थापा, डिल्लीराज थापा, झुलबहादुर थापा, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, प्रेम राउत, विश्वराज खनाल, दुर्गाराज थापा, रेवती आले र कृष्ण न्यौपाने सदस्य छन् ।

तपाईको प्रतिक्रिया