मतपत्र छापियो, भोलिसम्म सम्बन्धित क्षेत्रमा

समाधान संवाददाता २०७६ मंसिर ६ गते १४:४४

समाधान संवाददाता, पोखरा

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतपत्र छाप्ने काम सकिएको छ । कास्की २ को प्रतिनिधि सभा सदस्यसहित देशभरका रिक्त रहेका प्रदेश र स्थानीय तहमा पदपूर्तिका लागि हुने उपनिर्वाचनमा निर्वाचन आयोगले महत्वपूर्ण मध्येको काम मतपत्र छपाइ सकेको हो । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार ५२ प्रकारका मतपत्र छापिएका छन् । १ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि आवश्यक मतपत्र छपाइएको हो ।

कास्की २ प्रतिनिधि सभा सदस्यका लागि ११ दलीय र १० जना स्वतन्त्र उम्मेदवार छन् । मतपत्रमा अघिल्लो निर्वाचनमा पहिलो हुने दलको एक नम्बरमा राखिएको छ । ०७४ को निर्वाचनमा पहिलो हुने दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनाव चिह्न (सूर्य) एक नम्बरमा छ । त्यसपछि नेपाली कांग्रेसको चुनाव चिह्न (रुख) छ । दलीय चुनाव चिह्न पछि स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न राखिएको छ । कास्की २ मा प्रयोग हुने मतपत्रमा २१ उम्मेदवारका चुनाव चिह्न ४ लाइन तेस्रो र ६ लाइन ठाडोमा अटाएका छन् ।

Advertisement

उपनिर्वाचन हुने क्षेत्रमा मतपत्र ढुवानीको काम सुरु भइसकेको छ । मतपत्र ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयुक्त दाहालले जानकारी दिए । ‘मंसिर ७ गतेसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री पुग्ने छ,’ उनले भने । सुरक्षा संवेदनशीलका कारण ढुवानीको जिम्मेवारी नेपाली सेनालाई सुम्पिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबारबाटै नमूना मतपत्रको आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कास्की २ क्षेत्रमा पर्ने ११ वटा वडाहरुमा २÷२ जना स्वयंसेवक खटाई कार्यक्रम लागु गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । निर्वाचन शिक्षा आउँदो मंसिर ११ गतेसम्म चल्ने छ । ११ गते राति १२ बजेदेखि मौन अवधि लागु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया