१००मा अनावश्यक फोनले प्रहरीलाई हैरान !

समाधान संवाददाता २०७६ मंसिर ८ गते १३:२१

ईश्वर देवकोटा
पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी नियन्त्रण कक्ष (कन्ट्रोल रुम)मा तारन्तार फोन आइरहन्छ । निशुल्क उपलब्ध हुने १०० नम्बरमा डायल गरेपछि नागरिकले प्रहरीलाई आफ्ना समस्या, गुनासो वा सूचना टिपाउन सक्छन् । झन्डै मिनेट अन्तरमा बजिरहने फोन जायज समस्या सुनाउनकै लागि भने अति कममात्रै बज्छ ।

प्रहरीलाई गुनासो वा सूचना टिपाउनुको साटो उल्टो फोन व्यस्त (इंगेज) गराइदिने कल हुन्छन् । कतिपय भने अति सामान्य समस्या पनि प्रहरीलाई टिपाई समय लिइरहेका हुन्छन् । जस्तोसुकै भए पनि समस्या त समस्या नै हो । गुनासो टिप्नु कन्ट्रोल रुममा बसेका प्रहरीको कर्मचारीको धर्म पनि ।

वास्तविक गुनासो भए त प्रहरीले तुरुन्तै एक्सन लिन्छ । तर गलत प्रवृत्ति भएकाले तारन्तार फोन गरेर लाइन इंगेज बनाइदिँदा भने प्रहरीलाई हैरान त बनाउँछ नै उल्टो अन्य सेवा पाउनुपर्नेले समयमा पाउँदैनन् ।

कास्की प्रहरीको कन्ट्रोल रुममा बितेको कात्तिक महिनामा मात्रै १ हजार ४ सय ३ वटा फोन प्राप्त भएका छन् । तीमध्ये झन्डै २५ प्रतिशत कल अनावश्यक दुःख दिने नियतले भएको कास्की प्रहरीको रेकर्ड छ । कन्ट्रोल रुमबाट २४ सै घन्टा नागरिकका गुनासा सुन्न ३ सिफ्ट प्रहरी कर्मचारी खटिएका छन् । दिउँसोको समयमा भन्दा रात परेपछि भने अनावश्यक कलले नाइट सिफ्टमा खटिने कर्मचारीलाई झिँजो लाग्दो बनाउँछ ।

‘मादक पदार्थ सेवन (मापसे) गरेर फोन गर्ने पनि उत्तिकै छन्,’ कन्ट्रोल रुमका प्रहरी नायब निरीक्षक (प्रनानि) राजेन्द्र पौडेल भन्छन्, ‘कोहीँ कोहीँ त यसै फोन गरेर ‘हेलो प्रहरी, हेलो प्रहरी’ भनेर जिस्क्याउँछन् ।’

कन्ट्रोल रुममा नागरिकको गुनासो गर्ने बानीको विकास भए पनि गलत प्रवृत्तिले हैरान दिनेबाट जोगिन प्रहरीले त्यस्तालाई सुधार्ने गरेको घटना पनि छ । रातको समयमा मापसे गरी ५÷६ चोटि तारन्तार फोनमा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने १ व्यक्तिलाई केही हप्ताअघि पक्राउ गरेको थियो । मदिराको नसामा कर्मचारीलाई मर्यादा नराखी बोल्ने ती व्यक्ति पक्राउ गरी १ दिन थुनामा राखी सम्झाइबुझाइ छाडिएको प्रनानि पौडेलले बताए ।

कन्ट्रोल रुममा नेपाल टेलिकमका नम्बरबाट सम्पर्क हुने ३ सेट र एनसेलबाट सम्पर्क हुने १ सेट फोन छ । अनावश्यक फोन बज्नेमा एनसेलकै नम्बर बढी छन् । उक्त फाँटको काम फोन उठाउने र गुनासो दर्ता गर्नमा मात्रै सिमित हुँदैन । गुनासो टिपिसकेपछि घटनाको प्रकृति केलाई कुन प्रहरी युनिटलाई कहाँबाट नजिक पर्छ सो यकीन गरी खटाउने जिम्मेवारीसमेत छ ।

प्रनानि पौडेल भन्छन्, ‘तत्काल प्राप्त सूचनालाई घटना घटेको सम्बन्धित क्षेत्रमा नजिक भएको प्रहरी टोलीलाई खट्न निर्देशन दिनुपर्छ । फोन प्राप्त भएको समय र प्रहरी पुगेको समय मापन पनि यहीँ रुमबाटै गर्छौं ।’

कन्ट्रोल रुममा आएका गुनासो सम्बोधन गर्ने समय (रेस्पोन्स टाइम)को रेकर्ड राख्ने कामको थालनी कास्की प्रहरीले सुरुवात गरेको छ । जिल्लाभरका वडाप्रहरी र इलाका प्रहरीलाई दिइएको निर्देशनमा कति समयमा घटनास्थलमा पुगेर रेस्पोन्स गर्छ, त्यसको मापनले अन्तर इकाइबीच प्रतिस्पर्धा बढ्ने विश्वास लिइएको कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले सुनाए ।

‘सूचना पाएको युनिट कति समयमा घटनास्थलमा पुग्छ र रेस्पोन्स गर्छ, त्यसको रुलिङ कास्की प्रहरीले रेकर्ड राखी अभ्यास थालेको छ,’ उनले भने, ‘यसबाट एउटा नागरिकले कति समयमा प्रहरीको सेवा पायो भन्ने स्पष्ट देखिन्छ । साथै आमनागरिक माझ प्रहरीको पर्फमेन्स पनि बढ्छ ।’

कार्यालयको रेकर्ड अनुसार प्रहरी कन्ट्रोल रुममा प्राप्त सूचना सम्बोधन औसतमा ५.८ मिनेटमा भइरहेको एसपी कार्कीले जानकारी दिए । ट्राफिक, वडा प्रहरी र इलाका प्रहरी कार्यालयका युनिटले समेत औसतमा ५ देखि ६ मिनेट अन्तरमा घटनास्थलमा पुग्ने गरेको छ । ग्रामीण इलाकाको हकमा भने औसतमा ३२ मिनेट रेस्पोन्स टाइम देखिएको छ । उक्त भौगोलिक विकटताका कारण ग्रामीण इलाकामा रेस्पोन्स टाइम अन्यको तुलनामा अधिक भएको एसपी कार्की बताउँछन् ।

प्रहरीलाई सूचना दिने वा गुनासो दर्ता गर्ने परिपाटी बढ्नु सकारात्मक भएको एसपी कार्कीको बुझाइ छ । तर सामान्य समस्यामा पनि प्रहरीलाई नै भन्ने बानीले काममा बाधा पुग्ने उनले बताए । ‘बच्चा रोएमा फकाउन प्रहरीलाई फोन गर्ने होइन,’ उनले भने, ‘वास्तविक शान्ति, सुरक्षामै खलल पुर्‍याउने गतिविधिबारे भने जानकारी दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया