बतास इन्भेस्टमेन्ट र सूर्योदय लघुवित्त पुरस्कृत

समाधान संवाददाता
पोखरा
आठौं राष्ट्रिय कर दिवस २०७६ तथा कर सप्ताहको अन्तिम दिन शनिबार कास्की र स्याङ्जाका उत्कृष्ट करदाता सम्मानित भएका छन् ।
आन्तरिक राजस्व कार्यालय पोखराले आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ मा कास्की र स्याङ्जाका करदातामध्ये सबभन्दा बढी कर दाखिला गर्ने बतास इन्भेस्टमेन्ट कम्पनी प्रालि र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा कार्यालयका कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय सहयोगी जुनुमाया क्षेत्रीलाई समेत सम्मान गरिएको छ ।
गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जनताले राजस्व र व्यवसायीले कर नतिरे राज्य चल्न नसक्ने बताए । कर तथा राजश्वबाट राज्यले विकास निर्माण तथा सामाजिक सेवाको काम गर्ने गर्ने उल्लेख गर्दै मन्त्री गुरुङले राजश्व र करलाई राम्रो र व्यवस्थित नगरेसम्म राष्ट्रिय अर्थतन्त्र कमजोर हुने धारणा राखे । ‘जति बढी कर उठ्छ, त्यति नै जनताको आधारभुत आवश्यकता पूरा गर्न सकिन्छ,’ मन्त्री गुरुङले भने, ‘बाहिरबाट मात्र आएको नभई कर नतिरेर गरेको आम्दानी कालो धनसरह हुन्छ ।’ तिर्नु पर्ने कर नतिरेर छुट मात्र नखोज्न उद्योगी र व्यवसायीलाई आग्रह गर्दै मन्त्री गुरुङले आत्मनिर्भर अर्थतन्त्रको विकास विना मुलुकको समृद्धि सम्भव नभएको बताए ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले पछिल्लो समयमाचालु खर्च धान्ने अर्थतन्त्रको विकास भएको उल्लेख गरे । कर अधिकृत उद्वव न्यौपानेले कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब ७६ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा १ अर्ब ३८ करोड अर्थात ७८ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिए । उनले कार्यालयमा ५५ हजार व्यावसायिक र ७७ हजार व्यक्तिगत गरी १ लाख ३२ हजारले पान नम्बर लिएको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष बिन्दु कोइराला सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कर अधिकृत जीवराल निरौला, बतास इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडका प्रतिनिधि शान्तराज बतास, व्यवसायी विष्णुप्रसाद बास्तोला लगायतले कर सप्ताहका बारेमा बोलेका थिए ।
कर सप्ताह अन्तर्गत फलफूलका बिरुवा रोप्नेदेखि कार्यालय सरसफाइ, कार्यालय आउने करदाता सम्मान, सरोकारवालालाई कर प्रशिक्षण, कार्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता भएका छन् । व्याडमिन्टन डबल्समा प्रेमप्रकाश मण्डल र कृष्णप्रसाद पाण्डेको जोडी प्रथम र केशवकुमार उप्रेती र जीवराज निरौलाको जोडी द्वितीय भएको छ ।
तपाईको प्रतिक्रिया