सिड्नीमा नेपाली युवाको हत्या, श्रीमती पक्राउ

समाधान संवाददाता २०७६ मंसिर ८ गते १४:३८

समाधान संवाददाता, सिड्नी

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ।

ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी श्रीमती नुमा (नाम परिवर्तन)लाई प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको छ।

Advertisement

घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनापछि प्रहरीलाई तीन शुन्यमा फोन गरिएको थियो भने प्रहरी र एम्बुलेन्स आएर घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। जहाँ नेपाली मूलका ती युवाको मृत्य भएको घोषणा गरिएको थियो।

Advertisement

घटनामा सामान्य घाइते भएकी नुमालाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो। आगामी बिहीबार नोभेम्बर २८ तारिख उनको मुद्दाको अर्को सुनुवाइ पारामाटाको स्थानीय अदालतमा हुने भएको छ। 

सन्तोष स्थानीय क्रिकेट क्लबबाट क्रिकेट खेल्ने गर्दथे। सन्तोषको परिवार र अर्को एक जोडी केही समयदेखि सो घरमा बस्दै आएका थिए ।

उनले सिड्नीको टेफ कलेजबाट अटोमोटिभ विषयमा पढाइ सकेपछि वर्कशप चलाएका थिए। 
नेपाली क्रिकेटका अगुवा अजय क्षेत्रीले वेस्ट युनाइटेड क्लबवाट प्रारम्भिक ब्याट्सम्यानका रूपमा क्रिकेट खेल्ने सन्तोष मिलनसार भएको बताए।

प्रहरीले घट्नास्थल ब्ल्याकसेल सडक खन्डलाई नै बन्द गरेर केही घन्टासम्म छानबिन र प्रमाण संकलन गर्ने काम गरेको थियो। आइतबारसम्म पनि प्रहरीले घटनास्थललाई नियन्त्रणमा राखेको छ। अनुसन्धान भइरहेकाले वास्तविकता बाहिर आउन केही दिन लाग्नेछ।

तपाईको प्रतिक्रिया