तनहुँमा फेरि पर्यो खोरमा पाेथी चितुवा

समाधान संवाददाता २०७६ मंसिर ८ गते १५:१३

समाधान संवाददाता, तनहुँ

चितुवा नियन्त्रणका लागि जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आइतबार बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ।

दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो।

Advertisement

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको जानकारी दिए। उक्त चितुवालाई बुटवलको मणिमुकुन्द सेन पार्कमा रहेको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ।

सहायक वन अधिकृत उप्रेतीका अनुसार उक्त चितुवा अन्दाजी ८/९ वर्षको रहेको छ। ‘उक्त चिडियाखानमा एउटा भाले चितुवा पनि रहेछ, त्यही भएर पोथी चितुवालाई त्यहाँ स्थानान्तरण गरिएको हो,’ उप्रेतीले भने।

Advertisement

भालेभन्दा पोथी चितुवा नरभक्षी हुने हुनाले बालबालिका माथि आक्रमण गर्ने पाेथी चितुवा हुन सक्ने वनका प्राविधिकको अनुमान छ।

खोर निर्माण गरिएपछि दुई भाले र दुई पोथी गरी चारवटा चितुवा नियन्त्रणमा आइसकेको छ। यसअघि असोज १६, कात्तिक ११ र कात्तिक २६ गते काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो। खोरमा परेको चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा र दुई वटालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो।

भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ। चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।

हाल यहाँका पाँच सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि ६ वटा परम्परागत काठको खोर राखिएको छ। तीनवटा काठको खोर निर्माणाधीन अवस्थामा छ। देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन र भीमसेनथुम्की सामुदायिक वनमा एक/एक र मजुवा ओख्ले सामुदायिक वनमा दुईवटा काठको खोर राखिएको छ।

चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि केही दिनअघि मात्रै डिभिजन वन कार्यालय र भानु नगरपालिकाले खोर बनाउने व्यक्ति र सामुदायिक वनहरुलाई नगदसहित पुरस्कृत गरेको थियो। चितुवा नियन्त्रणका लागि यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पनि प्राविधिक परिचालन भएका छन्।

भानु नगरपालिका–१, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया