सर्गम

समाधान संवाददाता २०७६ मंसिर ८ गते १६:१३

–त्रिवेणी

जीवन के हो ? के ऐश्वरीय सृष्टिको उपज जन्मेको जीवन बाँचिरहेका छौँ हामी ? वा बिगब्याङ पश्चातको जैविक क्रम विकासको परिणाम हाम्रो वर्तमान अस्तित्व हो ? टाइम र स्पेसको नैसर्गिक सम्बन्धले भोलिको विज्ञानलाई कहाँसम्म पुर्‍याउला ? के भोलिका मानिस अमर होलान् ? चुनौती आविस्कार र विकाससँगै विनास जन्माउनमा मात्र सीमातित हुनु विज्ञानको धर्म हो त ? विज्ञानको पनि धर्म होला र ? अन्तःस्करणमा यस्तै तथाकथित प्रश्न बोकेर उत्तरको खोजीमा हिँडेको थियो अप्टिक्स । तर जन्मिसकेका र सायद कहिल्यै नमर्ने भनेका चुनौती र प्रश्नहरुमात्र रहेछन ।

एउटा प्रश्नको उत्तरले अर्को प्रश्न जन्माइहाल्ने र एउटा समस्याको समाधानले अर्को पृथक समस्यालाई निमन्त्रणा दिने रहेछ । आज आखिर त्यही उत्तर खोज्ने बानीका कारण आफूलाई सोधिएको प्रश्नको उत्तर दिन नसकेर समाजको आँखा छल्न भौतारिँदै लुकिहिँडेको छ ऊ, प्रकृतिको गर्भमा एक पृथक प्राणी बनेर । उसका हतास आँखामा तपाई जीवनप्रतिको मोह पाउँदै पाउनुहुन्न । साँच्चै ! यसमा म ठोकुवा गर्न सक्छु ।

Advertisement

रिलेटिभिटी थ्योरीबाट पिएचडी सकाएर डाक्टरको उपमा आफ्नो पोल्टोमा पारेको थियो उस्ले । तर यो समयले उस्लाई अर्को गन्तव्य तयार पारिदियो उतिबेला, जुन जेनेटिङ इन्जिनियरिङको थियो । यस्को कारण अरु केही नभएर उस्को ममतामयि माताको असामयिक निधन थियो । आमाको निधन मलेरियाका कारण भएकाले अप्टिक्स मलेरियाको ठुलो शत्रु भएको थियो जस्को प्रतिफल उस्ले मलेरियालाई नै यो संसारबाट लखेट्ने सपना देखेको थियो । सोही कारण आफ्नो रिलेटिभिटीकोे करियरलाई थाँती राख्दै पुन जेनेटिक इन्जिनियरिङको पढाइ सुरु गरेको थियो उस्ले । क्रमशः दिनहरु बित्दै गए । अप्टिक्सले आफ्नो पढाइ र खोजलाई निरन्तरता दिइरह्यो । घण्टा दिन र महिना गर्दै वर्षै बिते । अप्टिक्स निरन्तर रुपमा आफ्नो कर्ममा लागि परिरह्यो । मिसन मलेरिया नामक उस्को उक्त अनुसन्धानको प्रोजेक्ट वर्षाैं चलिरह्यो । प्रोजेक्ट चलिरहँदा र अनुसन्धानको क्रममा अप्टिक्सको भेट सर्गमसँग भएको थियो, जुन भेटले यी दुबैलाई एक गराइदिइको थियो अर्थात यनिहरुको पाणिग्रहण कर्म सम्पन्न भएको थियो ।

सर्गम पेशाले लेखिका थिइन् । उनको विसं २२०० मा प्रकाशित पछिल्लो कृति ‘द डे आफ्टर द इन्ड अफ टेरेरिजम् ’का कारण उनी केही हदसम्म विवादमा परेकी थिइन् । कारण के थियो भने आतंकवादी समूह ‘अलिफ ताद’ ले सर्गमको कृतिमाथि विमति जनाउँदै फत्वा जारी गरेको थियो, जस्मा उनको पुस्तक उक्त समूहको नीति र पैगम्बर महम्मद्विरुद्घ रहेको कारण खुलाइएको थियो । आफ्नो प्रोजेक्टको कार्यव्यस्थताका कारण अप्टिक्सले आफ्नी नवविवाहित श्रीमतीसँग त्यति समय बिताउन पनि पाएको थिएन । मानसपटलभरि आमाको सम्झना र मिसन मलेरिया मात्र भरेर हिँडेको थियो ऊ । उतिका नाममा आफ्नी अर्धाङ्गिनीद्वारा लिखित पुस्तक समेत उसले पढेको थिएन । श्रीमतीसँग त्यति समय बिताउन नपाए पनि अक्कलझुक्कलको भेटमा उस्ले सर्गमलाई भन्ने गरेको थियो ‘आइ विल रिड इट् सुन’ ।

Advertisement

समयको अन्तरालमा आखिर मिसन मलेरियाले विसं २२०४ साउन २६ गते पूर्णता पायो । ल्याब टेस्ट सफल भएको दिन मिसन मलेरियाको सम्पूर्ण टिमले अत्याधिक खुसी मनाएका थिए । विशेष गरेर अप्टिक्स खुसीको पाराकाष्ठामा पुगेको थियो र सोही दिन आफ्नी अर्धाङ्गिनीसँग खुसि साटासाट गर्ने क्रममा उसले अर्को खुसीको कुरा सुनेको थियो । उक्त खुसीको कारणवाला वाक्य सर्गमको मुखारविन्दुबाट निस्केको थियो, उक्त वाक्य अरु केही नभएर यो थियो ‘अप्पु आइ एम् प्रेग्नेन्ट ।’

वास्तवमा जिन इडिटिङ प्रविधिको प्रयोग गरेर तयार पारिएकोे उक्त लाम्खुट्टेको स्यालीभरि ग्ल्यान्डमा प्लाज्मोडिएम भाइभाक्स अर्थात मलेरिया प्यारासाइट बाँच्न सक्दैनथ्यो र लामखुट्टेका कारण मलेरिया सर्ने हुँदा उक्त लामखुट्टेको हकमा यो कार्य सम्भव थिएन । क्रिस्फर प्रविधिबाट तयार पारिएको हुनाले उक्त लामखुट्टेले प्रजनन गरेर अन्य लामखुट्टेमा आफ्नो नयाँ गुणको स्थानान्तरण गर्न सक्थ्यो । अप्टिक्स लगाएतको उस्को टिमले यस्ता एक हजार लामखुट्टे तयार पारेका थिए । ल्याब टेस्टको सफल परीक्षणको ठीक सात दिन पश्चात उक्त लामखुट्टेको लन्च डेटको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित भएका प्रम माननीय खप्तडबाबा सरस्वतीले विज्ञानको क्षेत्रमा नेपालका वैज्ञानिकहरुद्वारा अत्यन्तै प्रशंसनीय खोज गरेको भन्दै सरकारी तवरबाट उक्त टिमको सम्मानार्थ उचित पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका थिए । अन्ततः प्रमकै हातबाट ती लामखुट्टेको लन्च पूर्णता पाएको थियो । मन्तव्यमा अप्टिक्सले आफ्नो मिसनको नाम मिसन मलेरिया र जीवनको सर्वप्रिय खोज भएकाले लामखुट्टेको नाम भने सर्गम राखेको जानाकारी गराएको थियो । अन्ततः सर्गम नामक ती लामखुट्टेले हर्षाेल्लासका साथ नेपालको आकाशबाट प्रथम उडान भरेका थिए ।

सर्गमको लन्च पश्चात भने अप्टिक्स फ्री भएका कारण केही दिनका लागि सर्गम निमार्णकालीन ह्याङओभर उतार्न आफ्नी सर्गमसँग आबुधाबी उडेको थियो । उस्को श्रीमतीसँगको प्रेमिल सम्बन्धलाई अझ प्रगाढ बनाउन उक्त भ्रमणको भूमिका अत्यन्त सह्रानीय रह्यो । यात्राबाट फर्केपछि भने ऊ आफ्ना बाचाअनुसार सर्गमका कृति पढ्न थालेको थियो । दिन बित्दै जाँदा अप्टिक्सले सर्गमका अन्य सबै कृति सकाएर पछिल्लो विवादित कृति पढ्ने मनासाय बनाउँदै गर्दा अर्को एउटा खुसीको खबर आएको थियो । खबरअनुसार उक्त वर्षको अन्तर्राष्ट्रिय विज्ञान पुरस्कार अप्टिक्सलाई प्रदान गरिने भएको थियो । खबर आएको भोलिपल्ट ऊ अमेरिका उडेको थियो ।

सर्गमको बुक डिस्कसन प्रोगाम परेकाले ऊ कार्यक्रम सकाएर अर्को फ्लाइटमा जानेवाला भएकी थिई । ऊ अमेरिका ओर्लेको केही समयपछि नेपालका उसका सहकर्मीबाट कारण नखुलाई तुरुन्त नेपाल फर्कने खबर आएको थियो । एकदमै अर्जेन्ट भएको भन्दै बारम्बार फोन आएकाले ऊ बाध्य भएर इमर्जेन्सी टिकट बोकेर नेपाल फर्केको थियो । पिआइएमा आइसकेपछि त्यहाँको दृश्य देखेर उसको होसहवास नै उडेको थियो । उसलाई अचानक हृदयघात भएकोजस्तो महसुस भइरहेको थियो । आँखाको दृश्यक्षमता एक्कासि घटेकोजस्तो भएर दृश्य पनि असाध्यै धमिला देखिएका थिए, कारण विमानस्थलमा क्षेदबिच्छेद भएको सर्गमको लास थियो । वास्तवमा सर्गम चढेको प्लेन अलिफ तादले हाइज्याक गरेको र बिष्फोट गराएको रहेछ । कारण भने ‘द दे आफ्टर द इन्ड अफ टेरेरिजम’ थियो । आखिरमा सर्गमको सिर्जना नै उसको जीवनको शत्रु बन्न पुग्यो ।

श्रीमतीको मृत्युपश्चात वियोगको पराकाष्ठमा पुगेर बौलाहझैँ केही दिनसम्म कोठाभित्र एक्लै रहेर आफ्ना कपाल कुहेल्ने र आफ्नै शरीरका अंगहरु टोक्ने गरेको थियो उसले । यही क्रममा एकदिन सर्गमको बुक सेल्फमा भएका पुस्तक निकाल्दै डढाउने गर्दैगर्दा अचानक उसको अगाडि आफ्नो पिएचडीको रिर्सच पेपर खसेको थियो । उक्त पेपरमाथिको दृष्टिगोचर पश्चात ऊ एकपटक झस्किएको थियो, कारण रिलेटिभिटी थ्योरी अन्तर्गतको समययात्राको सोचले उसको मानसपटललाई खल्बलाएको थियो । उक्त विचारअनुसार ट्रयाकियोनको खोज गरी उक्त ट्रयाकियोनको फ्युल बनाएर प्रकाशको गतिभन्दा बढी गतिमा चल्ने टाइममसिन बनाउने र समययात्राद्वारा भूतमा गई सर्गमलाई फर्काउने योजना बनाएको थियो अप्टिक्सले । सोही कारण आफ्ना सम्पूर्ण कर्म त्यागेर आफ्ना दुई सहकर्मीका साथमा भित्री मधेसको एक घना जंगलमा प्रयोगशाला निर्माण गरेर समययात्रालाई सार्थकता दिने खोजमा उ लागिपरेको थियो । लगातार दश वर्षको मेहनतपश्चात एकरात टाइममसिनको टेस्ट सम्भव भयो ।

प्रयोगशालाभित्र एक्लै काम गरिरहेको उसले टाइम मसिनको सफल टेस्टको खुसी बाँड्न बाहिर गएका आफ्ना दुई सहकर्मीलाई फोन गर्ने मनासायले फोनतर्फ हात बढउँदै गर्दा उसको फोन बज्यो । फोन सहकर्मीको नै थियो । फोनबाट आएको सूचनाले उसलाई झनै आतंकित पारिदिएको थियो कारण उनीहरुले निर्माण गरेको सर्गम नामक लामखुट्टेले मलेरियाको स्थानान्तरण गर्न नसके पनि एचआइभी सार्न थालेको रहेछ । किनकि जिन इडिट भएकाले ती लामखुट्टेहरुमा नयाँ गुणको विकास भएको थियो । लामखुट्टेको सूचना आएपश्चात अप्टिक्सलाई एकदमै औडाह महसुस भयो । उस्लाई के गरौ र कसो गरौ भएर दुविधाको डोरीले बाँध्न थाल्यो । सर्गमलाई फिर्ता ल्याउने चाहनाले गिज्याउन थाल्यो । विशेष चिन्ताको विषय त अप्टिक्सको पक्राउ आदेश थियो ।

उक्त सूचनाबाट आतंकित भएर प्रकृतिको नियमलाई प्रतिस्थापन गर्नु भनेको मूर्खता रहेको निष्कर्षमा पुगेर समययात्रा गरी सर्गमलाई फिर्ता गर्दा पुनः अर्को समस्या हुन सक्ने आंकलन गर्दै प्रकृतिको नियमसँगै बाँच्ने निर्णय उस्ले गरेको थियो । रिसले चुर भएर अन्ततः दश वर्षको आफ्नो सपना र मिहिनेतको उपज टाइम मसिनलाई उसले फुटालेर प्रयोगशालाभरि आगो लगाइदिएको थियो र झोक्किदै बाहिर निस्केर मधेसको उक्त घना जंगलैजंगल भौतारिएर हिँडेको थियो ।

सरकार पक्षले अप्टिक्स पक्राउको वारेन्ट जारी गरेकाले र ऊसँग ती लामखुट्टेहरुलाई पूर्व अवस्थामा फर्काउने सिप नभएका कारण सम्बधित निकायबाट लुक्न अन्तत्वगोत्वा ऊ गेरुभेष धारण गरी प्रकृतिको गर्भमा लुकी हिँड्न थालेको थियो ।

आज मिति २२१५ साउन २६ गते अप्टिक्सको पक्राउ वारेन्ट बोकेर खोजी हिँडेका प्रहरी वेदव्यसको गुफानजिकैको चौतारोमा थकाइ मार्न बसेका छन् । सोही चौतारोमा जोगीको भेषमा बसेको अप्टिक्स शान्त मुद्रामा देखिन्छ । हातमा लिएको सानो यन्त्रबाट अप्टिक्सको थ्रि डी भर्चुअल शरीर देखाँउदै एक प्रहरी जवानले गेरुभेष धारण गरेको अप्टिक्सलाई नै सोध्यो,
‘साधु जी, डिड यू सी हिम सम्ह्वेर ?’

तपाईको प्रतिक्रिया