निर्वाचन सुरक्षा प्रभावकारी बनाउन अनुगमन

समाधान संवाददाता २०७६ मंसिर ९ गते १३:३१

समाधान संवाददाता, पाेखरा

प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले बाग्लुङस्थित उपनिर्वाचन क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । शर्माले निर्वाचनमा खटिने प्रहरी कर्मचारीलाई सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।

डिआइजी घिमिरेको उपस्थितिमा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट लगायत सुरक्षा निकायका पदाधिकारीले निर्वाचन हुने क्षेत्रको स्थलगत अनुगमन गरेको हो । प्रदेश सभा– २ ख र बडिगाड गाँउपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि बागलुङमा उपनिर्वाचन हुँदैछ । ती ठाउँमा सुरक्षा अवस्था, जनशक्ति तथा श्रोत साधन परिचालन लगायतका विषयमा छलफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मंसिर १४ गते गण्डकी प्रदेशका बागलुङ, लमजुङ, कास्की र नवलपरासी पूर्व गरी ४ जिल्लामा ५ सिटका लागि उप निर्वाचन हुँदैछ । जसमध्ये १ प्रतिनिधि सभा कास्कीमा, १ प्रदेश सभा बागलुङमा र बागलुङ, लमजुङ र नवलपरासी पूर्वका ३ स्थानीय तहको उपनिर्वाचन हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया