५ औं टुर दी पोखरा पुस १२ मा हुने

समाधान संवाददाता २०७६ मंसिर ९ गते १३:३७

समाधान संवाददाता
पोखरा

साइकल सिटी पोखराले गर्दै आएको टुर दी पोखराको ५ औं संस्करण पुस १२ मा हुने भएको छ । ४ वटा संस्कारण निकै भव्य र सभ्यरुपमा सम्पन्न भएको र यो संस्करणलाई अझै परिस्कृत गरिएको संस्थाका अध्यक्ष महेन्द्रराज कोइरालाले बताए ।

पोखराको पर्यटनलाई प्रवद्र्धन गर्दै वातावरण प्रदूषण कम गराउने र इन्धनको प्रयोग घटाउने सन्देश प्रवाह गर्न कार्यक्रम हुँदै आएको टुर दी पोखराका संयोजक राजन गोंगजुले बताए । अघिल्ला संस्करणभन्दा यसपालि केही परिमार्जन गरेर रक्तदान र जिल्लास्तरीय खुला साइकल दौड पनि जोडिएको छ । पुस ९ गते बिहान न्युरोडस्थित साइकल ल्यान्ड परिसरमा रक्तदान र पुस ११ गते १८.५ किलोमिटर दुरीको साइकल दौड हुने गोंगजुले जानकारी गराए ।

Advertisement

पुस १२ गते मुल कार्यक्रम अन्तर्गत पोखरा प्रदर्शनी केन्द्रबाट साइक्लिङ सुरु हुनेछ । त्यसअघि स्लो साइकल रेस, बाल ह्विल रेस र जिगज्याग साइक्लिङ हुनेछ । टुर दी पोखराका लागि दर्ता खुलेको र ज्याकेटसहित खानाका लागि ८ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । ज्याकेटमात्र लिए ६ सय र खानामात्रको ३ सय रुपैयाँमा दर्ता गर्न सकिने छ । आइएमई पेमार्फत् पनि यो कार्यक्रमका लागि नाम दर्ता गर्न सकिने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए । पुस १२ गतेकै लागि काहुँडाँडामा साइक्लिङसहित १ रातको बसाइ राखिएको पोखरा साइकल सिटीका निवर्तमान अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए । टुर दी पोखरामा सहभागी हुने सबैलाई मेडल र प्रमाणपत्रको व्यवस्था छ ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो कार्यक्रमले स्वदेशी र विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सहयोग गर्ने आयोजकको दाबी छ । अघिल्लो वर्षबाट नेपाल आयल निगमको सहकार्यमा यो कार्यक्रम हुँदै आएको छ । नेपालमा बर्सेनि २ खर्बको पेट्रोलियम पदार्थ खपत हुने भएकाले यसलाई विस्तारै कम गराउनका लागि निमगले साइकल सिटीसँग सहकार्य गरेको निगमको गण्डकी कार्यालय प्रमुख बिनी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘निगम तेल बेच्ने र कमाउने काम मात्रै गर्दैन, तेलको खपत कम गराउन पनि जनचेतनामूलक कार्यक्रम गर्छ ।’

Advertisement

पोखरा आसपासमा मात्र प्रतिवर्ष १६ अर्बको इन्धन खपत हुन्छ । निगमका अनुसार यो क्षेत्रमा इन्धन खपत बर्सेनि १५ प्रतिशत बढ्दो छ । थोपा थोपा इन्धन बचाऔं भन्ने नारालाई सार्थक बनाउन १ व्यक्तिले महिनामा १ लिटर मात्रै इन्धन बचाएमा पनि महिनामा २ लाख लिटर तेल बच्छ । कार्यक्रम संयोजक गौंगजुले भने, ‘इन्धनको खपत कम गराइ व्यापार घाटा कम गर्न पनि हाम्रो कार्यक्रमले सघाउ पु¥याउँछ ।’

पोखरामा शोखका रुपमा साइकल चलाउने एकातिर छन् । अर्कोतिर साइकल प्रयोग गरी व्यवसाय गरेर जीविका धान्ने त्योभन्दा बढी संख्यामा छन् । यसपालिको टुर दी पोखरामा साइकल प्रयोगकर्ता व्यवसायीलाई पनि समेट्ने योजना बनाइएको साइकल सिटीका सल्लाहकार आनन्दराज मुल्मीले बताए । पोखरामा साइकल प्रयोगकर्ता बढे पनि नीति निर्माता र योजना कार्यान्वयनकर्ताले साइकल लेनको महत्वका बारेमा अझै बुझ्न नसकेकोमा दुख व्यक्त गरे । पत्रकार सम्मेलनमा साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारी, संस्थाकी सचिव करुणा ढकाल, साइक्लिस्ट नीरज थापा लगायतले भनाइ राखेका थिए ।

विशाल गर्बुजा सद्भावना दूत
यसपालिको टुर दी पोखराका लागि शारीरिक अपांगता भएका विद्यार्थी विशाल गर्बुजालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । १ हात नभएका गर्बुजा कास्की मोडर्नाइज्ड स्कुलमा १२ कक्षाका विद्यार्थी हुन् । १ हात नभए पनि अरु सामान्य मानिसले भन्दा सहज रुपमा साइकल चलाउने उनी काठमाडौंमा भएको ‘कोरा’ मा समेत सहभागी भइसकेका छन् । लुम्बिनी, पाल्पा र रानीमहलसम्म पनि उनले साइक्लिङ गरिसकेको छन् ।

तपाईको प्रतिक्रिया