१३ औं सागः ५ सय प्राविधिक टाेली पोखरा आउने

समाधान संवाददाता २०७६ मंसिर ९ गते १३:५४

समाधान संवाददाता
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ४ सय ९१ जनाको प्राविधिक अफिसियल टोली पोखरा आउने भएको छ । मंसिर १५ देखि २५ गतेसम्म हुने विभिन्न प्रतियोगिताका लागि खेल सञ्चालक तथा निणार्यक टोली पोखरा आउने भएको हो ।

आसन्न १३ औं साग अन्तर्गत पोखरामा ८ खेल हुने तय छ । पोखरामा हुने भनिएको ९ खेलमध्ये प्याराग्लाइडिङ नहुने भएपछि महिला क्रिकेट र फुटबल, ह्यान्डबल, आर्चरी, भारत्तोलन, ट्रायथोलन र ब्याडमिन्टन गरी ८ खेलमात्रै हुने भएका छन् ।

Advertisement

८ जना टेक्निकल प्रतिनिधि, २४ जना टुर्नामेन्ट डाइरेक्टर, ४४ जना सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटीका सदस्य, १ सय २६ जना राष्ट्रिय रेफ्री, १ सय ९४ जना टेक्निकल सहायक १३ औं साग अन्तर्गत पोखरामा हुने खेलका लागि आउने भएका हुन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने तय भएको महिला क्रिकेट प्रतियोगिताका लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलका लागि ५० जना, आर्चरीका लागि ५३, ब्याडमिन्टनका लागि ९४, ह्यान्डबलका लागि ५९ जना, बिच भलिबलका लागि ६५, भारात्तोलनका लागि ६८ जना र ट्राययाथोलनका लागि ४० जनाको टेक्निकल अफिसियल टोली पोखरा आउने छन् ।

Advertisement

तात्तिदै, फेरिँदै सजिँदै रंगशाला
आसन्न १३ औं साग खेलका ८ खेल पोखरामा हुनेछन् । सागका लागि अहिले पोखरा रंगशाला पुनर्निर्माणलाई तीब्र बनाइएको छ । रंगशाला गेटमा प्रधानमन्त्री केपी शर्मा वलीले फुटबल खेल्दै गरेको बोर्ड टाँगिएको छ भने रङरोगनलाई पनि गरिसकिएको छ ।

साग खेल हुन अब १ हप्तामात्रै बाँकी छ । साग आउन १ हप्तामात्रै बाँकी छँदा रंगशालाभित्र रहेका पूर्वाधार देखि अव्यवस्थित खाली जग्गा सम्याउने कामलाई पनि तीब्र बनाइएको छ । रंगशाला वरिपरि फूल रोपिँदै छन् भने महिला फुटबल प्रतियोगिता हुने प्यारापिट जडान, दूबो विस्थापन, सिन्थेटिक एथ्लेटिक ट्रयाकसमेत धमाधम बनाइँदैछ ।

रंगशालाको पश्चिम भागमा ५ हजार सिट क्षमताको स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड प्यारापिट जडान कार्य सकिएको छ । साग महिला फुटबलका लागि १० हजार क्षमताको प्यारापिट जडान गर्ने योजना अनुसार अहिले थप ५ हजार सिट जडान गरिनेछ । फ्रान्सबाट ल्याइएको प्यारापिट जडान गर्न फ्रान्सबाट प्राविधिक टोली पनि रंगशालामै खटिएका छन् । नेपालको झन्डासँग मिल्ने रातो र निलो रङको प्यारापिट सिट जडान भइरहेको छ । यसले ‘कलर फ्युजन’ हुने र विदेशी राष्ट्रका साथै दर्शकलाई पनि आकर्षित गर्ने निर्माण कम्पनीको दाबी छ ।

स्टेडियमका लागि पहिलो चरणमा ७ वटा शौचालय बनाइएको छ । तर, खेलाडीका लागि पोशाक परिर्वतन गर्ने ‘चेन्जिङ रुम’ बनाइएको छैन । चेन्जिङ रुम अस्थायी बनाइने भएकाले धेरै समय नलाग्ने निर्माण कम्पनीको दाबी छ । फुटबल स्टेडियम पुनर्निर्माणका लागि भारतीय कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्ट्रक्सन (जेभी) ले जिम्मा लिएका छन् । निर्माण कम्पनीले १८ हजार सिट क्षमतासहितको फुटबल स्टेडियम बनाउने जिम्मा लिएका हुन् । स्टेडियम बनाउन १ अर्ब २८ करोडमा सम्झौता भएको छ ।

एन्फा उपाध्यक्षको संयोजकत्वमा १५ उपसमिति
१३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत पोखरामा हुने महिला फुटबलका लागि १५ वटा उपसमिति गठन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

सुरक्षा संयोजकमा एन्फा गण्डकीका अध्यक्ष धरमसिंह लामिछाने, सुरक्षा व्यवस्थापन सह संयोजकमा लक्षु भण्डारी, निरीक्षण ब्यवस्थापनमा एन्फा कास्की अध्यक्ष मिलन गुरुङ र राजेन्द्र तामाङ, प्राथमिक उपचार स्वास्थ्य ब्यवस्थापनमा सुक गुरुङ र मनोज कार्की, खेलाडी तथा टिम व्यवस्थापनमा एलबी ज्वार्चन, हिटलर घले र सुधीरजंग थापा, अतिथि सत्कारमा मदन केसी, जलपान व्यवस्थापनमा सीता गुरुङ, भक्ति गुरुङ र राधा गुरुङ, रेफ्री व्यवस्थापनमा आनन्द रन्जित र ईश्वर गुरुङ (चन्द्र), प्रचार उपसमितिमा एमबी आस्था, गिता राना र शम्भु केसी, सचिवालय व्यवस्थापनमा रमेश कार्की, प्रितम गुरुङ, आशिषमान सिंह भण्डारी, महेन्द्र सिंह थापा, गोविन्द पौडेल, शंकर थापा, लक्ष्मण रोकाहा र नरेश श्रीस छन् ।

मञ्च व्यवस्थापन उपसमितिमा जगत थापा, सचिन थापा, अञ्जन देवकोटा र पुष्प बराल, स्वयंसेवक परिचालनमा नर बहादुर गुरुङ, सुमन गुरुङ, नरेश गुरुङ र इन्द्र कुँवर, साउन्ड सिस्टम व्यवस्थापनमा राजेन्द्र गिरी, दीपक न्यौपाने, सुवास गुरुङ, सुरेश जंग जिसी, गंगा थापा र प्रकाश थापा, खेल मैदान व्यवस्थापनमा विश्व ताण्डुकार, हरि खड्का, सुरेन्द्र गुरुङ, जीवन गुरुङ, मदन थापा, सुविन श्रेष्ठ र पदम गुरुङ रहेका छन । मंसिरको १७ देखि २४ सम्म पोखरा रंगशालामा हुने महिला फुटबल प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलङकाको सहभागिता रहनेछ ।

तपाईको प्रतिक्रिया