डोल्पा जोड्ने बिवादित पुलको काम सुरु

समाधान संवाददाता २०७६ मंसिर ९ गते १४:५२

मुस्ताङ र छिमेकी जिल्ला डोल्पा जोड्ने एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुलको काम गर्दै मजदुर । तस्विरः एसके थकाली

एसके थकाली
जोमसोम

आयोजना र निर्माण कम्पनीको आपसी विवादले स्थगित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र स्थित एक्लेभट्टी– पाक्लिङ मोटरेबल पुलको काम पुनः संञ्चालनमा आएको छ । गण्डकी प्रदेशको म्याग्दी पूर्वाधार विकास कार्यालयले काममा फर्कन ७ दिने अल्टिमेटम दिए लगत्तै पुलको काम सुरु भएको हो ।

Advertisement

पुलको काम २०७२ साल असार ३१ गते सुरु भएको थियो । लम्बाई १ सय २० मिटर र चौडाई ७ दशमलब २ मिटर रहेको उक्त पुल बनाउने जिम्मा एलाईट शंकरमाली जेभीले लिएको हो । पुलको लागत ११ करोड ७५ लाखको हो । साविक जिल्ला विकास कार्यालयबाट थालिएको उक्त पुलको जिम्मा पूर्वाधार विकासले लिएको छ ।

मुस्ताङको पाक्लिङ फल्याक,धाकारजुङ र साङ्ता गाउका लगायत छिमेकी डोल्पा जोड्ने उक्त पुलको काम अन्योल रहदा त्यसक्षेत्रका स्थानीय चिन्तित छन् । पुल शिलन्यास भएको ६ बर्ष बितिसक्दा समेत पुलको काम अघि नबढेपछि स्थानीयले पटक पटक धर्ना र डेलिगेशन समेत गरे । यता निर्माण कम्पनीले पुलको आवश्यक प्राविधिक सर्वे नभएकाले काम गर्न अप्ठ्यारो परेको जनाएको थियो । निर्माण कम्पनीका प्रतिनिधिले भौगर्भिक प्राविधिक रिपोर्ट र माटो परिक्षण नभएको भन्दै क्षतिपूर्तिको माग गरेको थियो । पूर्वाधार विकास कार्यालयले पटक÷पटक काम गर्नका लागि ताकेता गरिएपनि काम अघि बढ्न सकेको थिएन । आयोजना र कम्पनीबीचको विवाद न्यायिक छानबिनका लागि ‘नेफका’ मा पुगेको छ ।

Advertisement

डोल्पा जोड्ने उक्त पुलको काम हाल ३५ प्रतिशत सम्पन्न भएको लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिका ईन्जिनीयर राजकिशोर प्रसादले जानकारी दिए । उनले निर्माण प्रतिनिधिले आवश्यक उपकरण जुटाएर नियमति काम गरे भदौ सम्म पुलको काम सकिने दावी गरे । उनका अनुसार पुलको ३ वटा फाउन्डेसन उठेको र दायातर्फको पियर फाउन्डेसन उठ्न बाँकी रहेको जानकारी दिए । पूर्वाधार विकासको अल्टिमेटमपछि काम अघि बढेको हो । पुलको दाँया–बाँया २ वटा एबुटमेन्ट फाउन्डेसन र बाँयातर्फको पियर फाउन्डेसको काम सकिएको छ । नदीको बीच भागको पियरको उचाई १२ दशमलव ८ मिटर र बाया तर्फको एबुटमेन्ट फाउन्डेसन उचाई १० र दाँयाको एबुटमेन्ट फाउन्डेसन उचाइ १२ मिटरको छ । फाउन्डेसन पियरको गहिराई ६ दशमलब ५ मिटरको छ ।

ईन्जिनीयर राजकिशोरका अनुसार जाडो समयका कारण ढलानको काम चैत्रमा हुने जानकारी दिए । पुन काम थालेपछि पुलको पियर क्याप ढलान,दायातर्फको स्टिमको काम काम भईरहेको बताए । उनका अनुसार दायातर्फको एक पियर फाउन्डेसन उठाउने ,प्लेट गडर जडान ,गाडी गुड्ने स्ल्याप ढलान ,रलिङ फिट लगायत फिनिसिङका काम बाकी रहेको उल्लेख गरे ।

एक्लेभट्टी–पाक्लिङ पुलको काम अहिले एक दर्जन मजदुर परिचालन गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि निकेश श्रेष्ठले हिउदपछि आवश्यक उपकरण लगेर बाकी रहेको फाउन्डेसन पुरा गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया