सागमा ट्राफिक चुनौती !

समाधान संवाददाता २०७६ मंसिर १० गते ११:५०

विकास रोकामगर
पोखरा

ट्राफिक हिसाबले पोखराको पृथ्वीचोक व्यस्त चोक मानिन्छ । दैनिक हजारौं गाडीको आउजाउ गर्ने बसपार्क पनि पृथ्वीचोकमै भएकाले पनि त्यहाँ सबैभन्दा बढी ट्राफिक जाम समस्या देखिन्छ । पोखराबाट पूर्वपश्चिम छुट्ने हजारौं बसले गर्दा पृथ्वीचोक सधैं व्यस्त रहन्छ ।

दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण पोखरा, काठमाडौं र जनकपुरमा हुँदैछ । १३ औं साग अन्तर्गतका ८ खेल पोखरा रंगशालामा हुने तय छ । पोखरामा हुने खेलमध्ये भारात्तोलन, ट्रायथोलन र बिच भलिबलबाहेकका ५ खेल पोखरा रंगशालामा हुनेछन् ।

Advertisement

पोखरा रंगशाला पनि बसपार्क (पृथ्वीचोक) कै नजिकको क्षेत्र भएकाले साग अवधिभर त्यसले ट्राफिक समस्या निम्त्याउने सम्भावना बढी छ । साग प्रतियोगिताका लागि दर्शक र ‘भिआइपी’ सवारी पनि बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि अर्को चुनौती बन्न गएको हो ।

१३ औं सागका लागि खेलाडी र अफिसियलसहित ८ सय २४ जना टोली पोखरा आउनेछन् । मंसिर १५ देखि २५ गतेसम्म चल्ने प्रतियोगिताका लागि रंगशालामा खेलप्रेमी दर्शकको ठूलै चाप बढ्ने छ । स्थानीय आयोजकको जिम्मेवारी पोखराले साग खेल अवधिभर २ लाख दर्शकको उपस्थिति रंगशालामा हुने अनुमान गरेको छ ।

Advertisement

‘सागको ओपनिङदेखि इन्डिङसम्म अनुमानित २ लाख दर्शक रंगशाला आउनेछन्,’ स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका सदस्य तेज गुरुङले भने, ‘त्यसमध्येमा पनि मास बढी आकर्षित हुने खेलमा दर्शकको उपस्थिति अझै बढ्ने देखिन्छ ।’ उनले महिला क्रिकेट र फुटबलबाहेक पनि ह्यान्डबल र बिच भलिबलमा पनि दर्शकको बाक्लो उपस्थिति हुने दाबी गरे ।

‘गाडी डाइभर्सन गनुपर्ने हुन सक्छ’
पोखरा महानरको ट्राफिक जाम समस्या पछिल्लो समय टाउको दुखाइ बनेको छ । यातायात व्यवस्था कार्यालय गण्डकीकोे प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी गाडी गुड्छन् । सागको बेला ट्राफिक व्यवस्थापनलाई ध्यान दिन के गर्नुपर्ला त ? जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर सन्तोष रोक्का भन्छन्, ‘सागमा पोखरामा गाडीको चापमात्रै होइन । भिआइपी सवारी पनि बढ्ने निश्चित छ । ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरेर ओपनिङ र इन्डिङ समयमा डाइभर्सन पनि गर्नुपर्ने हुन्छ ।’ उनले साग खेलको पहिलो दिन (मंसिर १५ गते) का लागि पृथ्वी राजमार्गलाई उच्च प्राथमिकताका साथ हेरिएको जानकारी दिए ।

‘सागको पहिलो दिन दर्शकको चाप र सोही अनुपातमा भिआइपीको पनि आगमन हुने हुँदा केही समस्या अवश्य हुन्छ । त्यसैले पहिलो दिनलाई हामीले उच्च प्राथमिकतामा राखेर योजना बनाउँदै छौं,’ रोक्काले भने, ‘सायद त्यो दिन सवारी साधनको चाप कम गर्न डाइभर्सन नै गर्नुपर्ने हुन्छ ।’ उनले अन्य दिनभने आवश्यक अनुसारमात्रै डाइभर्सन गरिने बताए ।

साग खेल अवधिभरका लागि ट्राफिक जनशक्तिको अभाव हुने भएकाले थप जनशक्ति माग गरिएको उनले सुनाए । ‘यहाँ कार्यरत जनशक्तिले साग अवधिभरको ट्राफिक व्यवस्थापन गर्न कठिनाइँ हुन्छ । त्यसैले हामीले थप जनशक्ति उपलब्ध गराउन माग गरिसकेका छौं,’ उनले भने ।

सागमा ट्राफिक समस्या हुँदैनः व्यवस्थापन समिति
स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति सदस्य तेज गुरुङ भने सागमा पोखरामा ट्राफिक समस्या नहुने दाबी गर्छन् । सागमा आइपर्ने समस्यालाई कम गर्न विभिन्न समिति र उपसमिति बनाएर काम गरिरहेको जानकारी उनले दिए ।

‘सागकै लागि पोखरामा विभिन्न १४ वटा समिति बनेका छन् । ट्राफिक व्यवस्थापनको पाटो हेर्न सुरक्षा व्यवस्थापन उपसमितिलाई जिम्मा दिएका छौं,’ गुरुङले भने, ‘प्रदेश, महानगर र सरकारी निकायका जनशक्ति पनि ट्राफिक व्यवस्थापनमा खटिनुहुन्छ ।’ सागका लागि पोखरामा २ सय स्वयंसेवक खटिनेछन् ।

तपाईको प्रतिक्रिया