गल्याङ नगरपालिकामा ग्रामीण सडक

समाधान संवाददाता २०७६ मंसिर १० गते १२:०४

समाधान संवाददाता, स्याङ्जा

गल्याङ नगरपालिकाले दैनिक ३ वटा डोजर प्रयोग गर्दै ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ । दैनिक सडक निर्माणको काममात्र नगरी स्थानीय मजदुरलाई आवश्यक परेका ठाउँमा पर्खाल लगाउने काममासमेत ध्यान दिएको छ । अधिकांश ग्रामीण क्षेत्रले भरिएको नगरपालिकामा ग्रामीण कच्ची सडक निर्माणलाई प्रथामिकता दिएको हो । गल्याङ नगरपालिकाको मुख्य बजारबाट तुलसीभञ्ज्याङ, बज्रे, तिनदोवाटे हुँदै साङ्लिया जोड्ने कच्ची सडकमा बस सञ्चालन गर्ने तयारी गरिएको छ ।

केन्द्र सरकारबाट प्राप्त १ करोड रुपैयाँ बजेटले बजार जोड्ने मुख्य भागमा फराकिलो बनाउने काममासमेत ध्यान दिएको छ । केन्द्रीय बजेट भए पनि नगरपालिकालाई नै कामको जिम्मेवारी दिइएकाले बाटो चौडा गराउने काम भएको नगरपालिकाका इन्जिनियर गणेश पौडेलले बताए । गल्याङको तल्लो बजारबाट चोक हुँदै पिँडिखोला सेतीवेणी जोड्ने सडकको काम पनि अघि बढेको पौडेलले जानकारी दिए ।

Advertisement

यस्तै गुठी क्षेत्र, करादी तिनदोवाटे पकवादी सडकको स्तर उन्नतीको कामसमेत भइरहेको छ । नगरपालिकाको आफ्नै डोजरले तेल खरिद गरि बाटो निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । उनले अहिलेसम्म कुनै पनि डोजर खाली नरहेको बताउँदै आलोपालो सवै ठाउँमा बाटो निर्माणलाई तीव्रता दिएको सुनाए । बुटवल पोखरा जोड्ने सिद्वार्थ राजमार्ग साँघुरो तथा घुम्ती भए पनि नगरपालिकाले भने ग्रामीण सडकलाई विशेष ध्यान दिएको छ ।

नगरप्रमख भूपराज अधिकारीले ग्रामीण क्षेत्रको विकास नहुँदा हुने समस्या धेरै रहेकाले विशेष प्रथामिकता दिएको बताए । अधिकारीले कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय जनताको सरोकारका क्षेत्रलाई प्राथमिकता दिएको बताए । गल्याङ् नगरपालिका अन्तर्गत २१ वटा ग्रामीण सडक रहेकोमा १ सय ५० किलो मिटर भन्दा धेरै ग्रामीण सडक रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया