कांग्रेस प्रवक्ताले सच्च्याए देउवाको भनाइ

समाधान संवाददाता २०७६ मंसिर १० गते १२:१५

समाधान संवाददाता, पोखरा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको विवादित अभिव्यक्ति सच्च्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भारतले सीमाको नक्सा बनाएको आरोप लगाएपछि देउवाको अभिव्यक्ति विवादित बनेको थियो ।

त्यस अभिव्यक्तिलाई प्रवक्ता शर्माले सच्याउने प्रयास गरेका हुन् । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर सभापतिले आशंका मात्र गरेको उनको प्रष्टोक्ति छ ।

Advertisement

सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले भने, ‘यो सभापति ज्यूको आशंका मात्र हो, पार्टीको ठहर होइन ।’ उनले सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भने, ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’

Advertisement

सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताए । सबै दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिन सक्ने तर सीमा नक्साबारे भन्न नसक्ने ?’ विश्वप्रकाशको प्रश्न थियो ।

७ मंसिरमा कास्की क्षेत्रनम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग सहमति गरेरै भारतले नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । देउवाले बोलेको भोलिपल्टै पोखरामा आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले टनकपुर, गण्डकी, कोसी सम्झौताबारे देउवाले जवाफ दिनुपर्ने बताएका थिए ।

घरबाट निस्कँदा छोरीले देशको नक्सा बदलिएको भनेर आफूलाई सोधेको स्मरण गर्दै शर्माले अहिले धेरै छोरीहरूको मनमा जिज्ञासा रहेको बताए । सरकारले ३ दिनमा देशको नक्सा छापेर सार्वजनिक गर्नुपर्ने बताउँदै उनले सरकारले नसके त्यो काम गर्न कांग्रेस तयार रहेको बताए ।

भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।

भारतले हालैमात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भन्दै कूटनीतिक नोट भारत पठाइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया