हिमचितुवाले २५ च्याङ्ग्रा मार्दा २ लाख ५० हजार बराबरको क्षति

समाधान संवाददाता २०७६ मंसिर १० गते १२:३६

एसके थकाली, जोमसोम

लोमान्थाङ गाउँपालिका २ स्थित विकट समजुङ गाउँमा शुक्रबार हिमचितुवाले २५ च्याङ्ग्रा मारेको छ । चुमजुङ गाउँकी स्थानीय पेमा गुरुङले समजुङ गाउँका स्थानीय पशुपालक किसानसँग गरेको टेलिफोन कुराकानीबाट २५ च्याङ्ग्रा हिमचितुवाले मारेको खुलेको हो । सामूहिक रुपमा खर्कको चरन क्षेत्रमा चराउने क्रममा चरन क्षेत्रमै छुटेको र भोलिपल्ट छुटेका च्याङ्ग्रा लिन जाने क्रममा च्याङ्ग्रा मरेको भेटिएको थियो ।

समजुङमा हिमचितुवाले च्याङ्ग्रा मारेको एक्याप लोमान्थाङले पुष्टि गरेको छ । एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार हिमचितुवाले २ वर्षका पाठापाठी मारेको हो ।

Advertisement

समजुङका पशुपालक किसान तोप्के गुरुङ, निङ्मा ढाङढुङ गुरुङ, पासाङ वाङ्दी गुरुङ, कर्साङ वाङ्दी गुरुङ, ढोका गुरुङ, लाक्चुङ गुरुङ र रिधोर्जे गुरुङका च्याङ्ग्रा हिमचितुवाको आक्रमणमा परेका हुन् । २५ च्याङग्रा मारिँदा करिब २ लाख ५० हजार बराबरको क्षति भएको एक्यापको अनुमान छ ।

हिमचितुवाको क्षति लगत अनुमानका लागि एक्याप लोमान्थाङको टोली मंगलबार समजुङ जाने निमित्त कार्यालय प्रमुख न्यौपानेले बताए । गत वर्षको हिउँदमा असन्तुलित हिमपातले करिब २५ सय बढी याकचौरी र भेडा च्याङ्ग्रा मरेका थिए । गण्डकी प्रदेशले मुस्ताङका पीडित पशुपालक किसानलाई राहत समेत दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया