१ निर्वाचन क्षेत्र, १ सडक अन्तर्गत ३ सडक एकै दिन शिलान्यास

समाधान संवाददाता २०७६ मंसिर १० गते १५:१६

मोहसिन अलि मियाँ, गोरखा

जिल्लाका महत्वपूर्ण ३ सडक स्तरोन्नतिका लागि एकै दिन शिलान्यास गरिएको छ । १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार छुट्टाछुट्टै कार्यक्रममा ती सडक शिलान्यास गरेका हुन् । गोरखा नगरपालिकाको ढुंगागाढे भञ्ज्याङदेखि सहिद लखन गाउँपालिकाको नामजुङ, अजिरकोटको सिमजुङदेखि भच्चेकबजार र सिरानचोकको चोरकाटेदेखि अजिरकोटको भच्चेकसम्मको सडक शिलान्यास भएका हुन् ।

२ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ती सडकको निर्माण कार्य सुरु भएको छ । १२ किलोमिटर दूरी रहेको ढुंगागाढे–नामजुङ सडक कालोपत्रे गर्नका लागि ३३ करोड ९१ लाख रकममा लामा कन्स्ट्रक्सन काठमाडौंसंँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । त्यस्तै चोरकाटे–भच्चेक सडकका लागि २१ करोड २९ लाख लागत लाग्ने उनको भनाइ छ । जुन ९ दशमलव ५ किलोमिटर कालोपत्रे हुनेछ । त्यस्तै सिजमुङ–भच्चेकबजारसम्मको २२ किलोमिटर दूरीको सडक ग्राभेल र स्तरोन्नतिका लागि २० करोड ५६ लाख बजेटमा बिरुवा नाना गोरखा जेभीसँग सम्झौता भएको बताइएको छ ।

Advertisement

२०७८ कात्तिक मसान्तसम्म समय सीमा तोकिएका ती सडक साढे ५ मिटर चौडाइमा कालोपत्रे र स्तरोन्नति हुनेछन् । ‘७ मिटर सडकमा साढे ५ मिटर पिच हुन्छ, अरु नाली बन्छ’ कार्यालय प्रमुख पराजुलीले भने । गोरखामा रहेका ४ प्रदेश निर्वाचन क्षेत्रमध्ये ३ वटाको सोमबार एकैदिन शिलान्यास भएका हुन् । बारपाक–लाप्राक सडक खण्डको भने केही दिनमा शिलान्यास गर्ने तयारी रहेको प्रमुख पराजुलीले बताए । त्यस्तै सोमबार नै मन्त्री बस्नेतले दरौदी नदीमाथि बन्ने झोलुंगे पुलसमेत शिलान्यास गरे । गोरखा नगरपालिकाको कुमालगाउँदेखि सिरानचोकको छोप्राक जोड्ने ३ सय मिटर लामो झोलुंगे पुल निर्माणका लागि गोरखा जगदम्बा जेभीसँग ३ करोड २९ लाखमा सम्झौता भएको छ । जुन २०७७ को चैत मसान्तभित्र निर्माण गरिसक्नुपर्ने छ ।

साझा शत्रु भ्रष्टाचारः मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्न संघीयता आएको बताएका छन् । ढुंगागाढे–नामजुङ सडक खण्ड कालोपत्रे गर्ने कामको शिलान्यास गर्दै मन्त्री बस्नेतले गरिब जनता र गाउँको विकासका लागि संघीयता आएकाले अपनत्व ग्रहण गर्न आग्रह गरे । ‘जनताले अनुभूत गर्ने खालको विकास संघीयताले ल्याएको छ’ उनले भने, ‘हातमा ठेला उठेका जनता र दुर्गम गाउँको साथमा सरकार छ, अब ढुक्क हुनुस् ।’

Advertisement

गण्डकी प्रदेशका ३६ सडकलाई १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति गर्ने गरी अघि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले विकासका मुद्धामा १ हुन सबैलाई आग्रह गरे । अन्य राजनीतिक दलमाथि संकेत गर्दै उनले अरुलाई शत्रु देख्ने प्रवृत्ति र चिन्तनबाट मुक्त हुनुपर्ने बताए । ‘हामीलाई चाहिएको विकास हो, त्यसका लागि अरुलाई शत्रु देख्ने हाम्रो सोच र चिन्तनबाट बाहिर निस्किन जरुरी छ’ उनले थपे, ‘हाम्रो साझा शत्रु भ्रष्टाचार हो, अब त्यसका विरुद्धमा लाग्ने बेला आएको छ ।’

राज्यको सम्पत्ति दुरुपयोग गर्नेलाई नागरिकले नै ठेगान लगाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नतेले आफ्नो भोट बैंकमा मात्रै बजेट छर्ने प्रवत्ति अन्त्य हुनुपर्ने तर्क गरे । सहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले सरकारका काममा सहयोग गर्न नागरिकलाई आह्वान गरे । ‘सबैलाई विकास चाहिएको छ, समृद्धिको खाँचो छ, अब ३ वटै तहका सरकारले गरेका कामको अनुगमन जनताले गर्नुपछर्,’ नगरप्रमुख पन्तले भने ।

तपाईको प्रतिक्रिया