ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्रे

समाधान संवाददाता २०७६ मंसिर १० गते १५:३०

कृष्ण न्यौपाने, दमौली

ट्रयाक खुलेको २४ वर्षपछि भीमाद नगरपालिका ५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटर मार्गमा कालोपत्रे सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५ सय ७३ लागतमा सडक कालोपत्रे सुरु भएको हो ।

२०५२ सालमा ट्रयाक खुलेको यो बाटो कालोपत्रेका लागि पूर्वाधार विकास कार्यालय नवलपुरले काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता गरेको कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए । ७.२ किमीको बाटो कालोपत्रे लागि २०७७ पुस २२ गतेसम्म भइसक्नुपर्ने म्याद छ ।

Advertisement

१० मिटरको बाटोको ९ मिटरमा कालोपत्रे गरिनेछ । भण्डारीका अनुसार सडकको १÷१ मिटरमा नाला निर्माण हुनेछ । धूँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयलाई मोटरमार्ग कालोपत्रे भएपछि सहज हुनेछ । ‘१ निर्वाचन क्षेत्र, १ सडक अन्तर्गत गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रको मोटरमार्ग कालोपत्रेको काम सुरु भएको छ,’ भण्डारीले भने, ‘समयमै गुणस्तरीय काम सम्पन्न गराउन कार्यालयको तर्फबाट प्रत्यक्ष निगरानी गरिनेछ ।’

निर्माण कम्पनीका प्रोपाइटर सञ्जय हिराचनले तोकिएकै समयमा गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए । ट्रयाक खुलेको २४ वर्षपछि मोटरमार्गमा कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीयव हर्षित भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । ‘यही मोटरमार्गलाई देखाएर विगतमा नेताले भोट मागे, तर चुनाव जितेपछि कहिल्यै वास्ता गरेनन्,’ गुरुङले भने, ‘स्थानीयको सपना अहिले आएर बल्ल पूरा हुन लागेको छ ।’

Advertisement

सडक कच्ची हुँदा घाम लाग्दा धूलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीय आक्रान्त हुँदै आएको गुरुङले बताए ।

स्थानीय गोपाल थापाले संघीयता कार्यान्वयनसँगै विकासको अभियान सुरु भएको महसुस हुन थालेको उल्लेख गरे । ‘धुलोको समस्याबाट यहाँका जनता साहै्र पीडित थिए,’ थापाले भने, ‘ढिलै भए पनि कालोपत्रेको काम सुरु भएको छ ।’ सडक शिलान्यास गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले प्रदेश सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणका काम गरिरहेको बताए ।

मन्त्री गुरुङले मुस्ताङदेखि तनहुँको भीमाद हुँदै नवलपुरको कावासोती जोड्ने प्रादेशिक सडकलाई गौरवको आयोजनाका रुपमा राखेर सरकारले बाटोको सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिइसकिएको जानकारी दिए ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका कच्ची सडक कालोपत्रेलाई प्राथमिकता दिइएको बताए । उनले ठूला आयोजना निर्माणका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गरिने उल्लेख गरे । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भीमाद नगरपालिका हुँदै ऋषिङको पल्ट्याङसम्म पुग्ने यो मोटरमार्गको छुट्टै महत्व रहेको बताए ।

तपाईको प्रतिक्रिया