‘स्मार्ट’ युगको कागजी मतपत्र

समाधान संवाददाता २०७६ मंसिर ११ गते १४:१७

अचेल जताततै ‘स्मार्ट’ शब्दको प्रयोग बढेको छ । स्थानीय तह र प्रदेश अनि संघीय सांसदको चुनावताका हामीले यो शब्द निकै सुन्यौं । नबुझेरै, नजानेरै भए पनि नेता, कार्यकर्ताहरुले यो शब्दलाई जन÷जनमा पुर्‍याए । पोखरामै पनि ‘स्मार्ट सिटी’ को नारा खुबै घन्काइयो । हो, साँच्चै अब जमाना ‘स्मार्ट’कै आएको हो कि जस्तो भान भयो, किन कि चुनावी माहोल थियो, के पक्ष, के प्रतिपक्ष सबैको नारा बन्यो । जसै निर्वाचन परिणाम घोषणा भयो, नागरिक त त्यही ‘स्मार्ट’ को पर्खाइमा बसे । तर ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भयो । राजनीतिक दल र तिनका नेताहरुको नारा केबल चुनावी मात्रै रहेछ भन्ने प्रमाण मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नै हो । पहिला धेरै राजनीतिक दल भए, सबैको चुनाव चिह्न अटाउन नसकिने भो भनेर निर्वाचन आयोग विद्युत्तीय भोटिङ मेसिन प्रयोग गर्नबाट पछि हट्यो । हामी नागरिक हो त नि भनेर बस्यौं । तर अहिले हुन लागेको ३ तहको उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको वाधक को बन्यो ? यसको जवाफ कसैले दिन सकेको छैन । न निर्वाचन आयोग, न राजनीतिक दलहरु ।

निर्वाचन आयोगले प्रष्ट जवाफ दिन नसके पनि ‘दलहरुको अनिच्छाका कारण’ नै यो मेसिन प्रयोग हुन नसकेको बताइसकेको छ । आखिर किन अनिच्छुक देखिए त दलहरु ? निर्वाचनका दिन तलमाथि गर्नेकै लागि हो भने पनि अहिले मतदाता परिचयपत्र त्यसलाई रोकिदिएको छ । हुन त वैदेशिक रोजगारमा रहेका र मृत्यु भए पनि दर्ता हुन बाँकीहरुका नाममा अझै पनि दोस्रो व्यक्ति खडा गरेर मत हाल्न दलहरुले कसैले छेकेको छैन । परिचय पत्र नै भए पनि चुनावमा बसेका एजेन्टको दबाबमा यी काम हुँदै आएका छन् । भाषणमा परिवर्तनका निकै चर्का कुरा गर्न अनि कार्यान्वयन गर्ने क्रममा भने पटक्कै टेरपुच्छर नलगाउने दलहरुका कारण नै यो चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुन सकेन । यसको जवाफ दलहरुले जनतालाई कसरी दिने हुन् हेर्न बाँकी छ । त्यसो त चुनावलाई मर्यादित बनाउन निर्वाचन आयोगले तोकेको आचारसंहिता पालनामा पनि दलहरु चुकेका छन् । आखिर जतिसुकै नयाँ नारा लगाए पनि दलहरु परिवर्तनलाई आत्मसात गर्नबाट चुकेको यी र यस्तै उदाहरणबाट पुष्टि हुन्छ ।

नागरिकलाई मत हाल्न सजिलो हुने, मत बदर नहुने, तत्कालै परिणाम थाहा पाइन । अनि कागजको प्रयोग नहुने जस्ता थुप्रै सहजपन हुने भए पनि यसलाई अंगीकार नगरेर दलहरु आफ्नो पुरातन सोचलाई पुन निरन्तरता दिएका छन् । २०६४ सालमा भएको संविधानसभा निर्वाचन पछिको उपचुनावमा कास्की क्षेत्र नम्बर १ मै विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । त्यति मात्र होइन पोहोर भएको पोखरा उद्योग वाणिज्य संघको चुनावमा समेत इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) नै प्रयोग भएको थियो । रामलक्ष्मण दाजुभाइले बनाएको उक्त मेसिनको प्रभावकारिता राम्रो थियो । तर दलहरुकै अकर्मण्यताले कास्की २ का मतदाताले फेरि १ पटक कागजी मतपत्रमै मत दिन वाध्य भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया