कास्की २ को उपचुनावकाे लागि मतदान केन्द्र पुग्यो निर्वाचन सामग्री

समाधान संवाददाता २०७६ मंसिर १२ गते १२:०२

समाधान संवाददाता
पोखरा

प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा शनिबार हुने उपनिर्वाचनका लागि सबैजसो मतदान केन्द्रमा आवश्यक सामग्री पुगेका छन् । ११ वटा वडाका ३२ मतदानस्थलमा ८२ मतदान केन्द्र तोकिएको छ । मुख्य सहरी क्षेत्रका १४ बाहेर अन्य स्थलमा बुधबार साँझसम्म निर्वाचन सामग्री पुगेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्र सुवेदीले बताए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएपछि बुधबार बिहानबाट निर्वाचन सामग्री हस्तान्तरण सुरु गरिएको थियो । विगतका चुनावमा ६५ प्रकारका निर्वाचन सामग्री हुने गरेकोमा अहिले ५६ मा झारिएको छ । त्यसमा सियो, धागो, कैंचीदेखि लाहाछापसम्म पर्छ । घडी, क्याल्कुलेटर, लाइट औषधी लगायत सामग्री अहिले घटाएर पठाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । बिहीबार बिहानबाट मतदानस्थलमा निर्माण सुरु हुन्छ । डोरी लगायत सामग्री निर्वाचन आयोगले उपलब्ध गराए पनि बाँस, काठ भने स्थानीयस्तरमै बन्दोवस्त गर्नुपर्छ ।

Advertisement

४५० कर्मचारी, ३२८ स्वयंसेवक
जिल्ला निर्वाचन कार्यालयले एउटा मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, सहायकस्तरका २ कर्मचारी र १ कार्यालय सहयोगी गरी कम्तीमा ५ कर्मचारी खटाएको छ । मतदान अधिकृतमध्ये ९५ प्रतिशत उपसचिव छन् । उपसचिव नपुगेको ठाउँमा ज्येष्ठताका आधारमा शाखा अधिकृत खटाइएको छ । मतदाता संख्या हेरी ८ जनासम्म कर्मचारी खटाइएको निर्वाचन अधिकारी सुवेदीले बताए । यसरी निजामती र संस्थानका गरी ४ सय ५० कर्मचारी चुनावमा खटिएका छन् । मतदान अधिकृतले स्थानीयस्तरबाटै ४ जनाका दरले जम्मा ३ सय २८ स्वयंसेवक ३ दिनका लागि नियुक्त गर्न सक्ने छन् ।

२९ विद्यालय ३ दिन बिदा
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वटा वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोध बमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले जानकारी दिए ।

Advertisement

आज र भोलि मतदाता परिचयपत्र वितरण
निर्वाचन कार्यालयले थप भएका नयाँ मतदाताका लागि सम्बन्धित मतदानस्थलमा १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । त्यस्तै मतदाता नामावलीमा नाम समावेश भएकाहरुका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको कार्यालयका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

७ मतदानस्थल अति संवेदनशील
जिल्ला सुरक्षा समिति कास्कीले सुरक्षा दृष्टिले ७ वटा मतदान स्थललाई अति संवेदनशील पहिचान गरी त्यसै अनुसार रणनीति बनाएको छ । ११ वटा वडाका विभिन्न ३२ मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिले विशेष निगरानी बढाएको छ । जसमध्ये ८ वटा संवेदनशील र बाँकी १७ वटा मतदान स्थल सामान्य रहेको समितिको ठहर छ । भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सबै ३२ मतदान स्थलका ८२ केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेशकुमार केसीले बताए ।

‘अति संवेदनशील हुने कारण विकट भूगोल, राजनीति प्रतिस्पर्धा, विरोधी समूहको व्यापक उपस्थिति हुन सक्ने स्थललाई अति संवेदनशीलको रुपमा लिएका छौं,’ उनले भने, ‘संवेदनशील र सामान्यमा स्थल पनि तिनै कारणबाट सुरक्षा योजना लागु गरिएको छ ।’

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा मात्रै हुँदै छ । दलीय प्रतिपस्र्धाको रुपमा पनि यस क्षेत्रलाई विशेष चासोको रुपमा लिइएको छ । १० स्वतन्त्रसहित ११ दलीय गरी २२ जना चुनावी मैदानमा छन् । सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन् भने प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा छन् । कुल ३२ मतदानस्थलका ८२ केन्द्रमा ७१ हजार ८ सय ७१ मतदाता सहभागी हुनेछन् ।

सुरु भयो मौन अवधि
कास्की, बागलुङ, नवलपुर र लमजुङ जिल्लामा हुने उपनिर्वाचनका लागि बुधबार रातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा चुनाव प्रचार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनै पनि प्रकारका चुनावी प्रचार÷प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार गर्न पाइँदैन । मौनअवधिको पालना नगरेमा १ लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवं कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।

आमसञ्चार माध्यमले समेत मौन अवधिको पालना गर्नुपर्ने आयोगले जनाएको छ । मौनअवधिमा सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ । मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार÷प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न निर्वाचन आयोगले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया