साग महिला फुटबलः अझै तयार भएन स्टेडियम

समाधान संवाददाता २०७६ मंसिर १२ गते १२:०७

समाधान संवाददाता
पोखरा

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) आउन जम्मा ४ दिनमात्रै बाँकी छ । खेल सुरु हुन ४ दिनमात्रै बाँकी छँदा पोखरा रंगशाला पुनर्निर्माण तीव्र पारिएको छ । रंगशाला रंगरोगन गर्नेदेखि रंगीबिरंगी फूलले सजाउने काम भइरहेको छ । तर, बाहिरी भागमा जति सजावट छ, त्यसअनुसार रंगशालाभित्रका पूर्वाधार भने तयार भइसेकेका छैनन् ।

१३ औं सागका ८ खेल पोखरामा हुने तय छ । त्यसमध्ये महिला फुटबल र क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशालामा हुने तय छ । खेल अवधि नजिकिँदै गएपनि रंगशाला अहिलेसम्म पूर्ण रुपमा तयार भएको छैन ।

Advertisement

महिला फुटबल हुने तय भएको पोखार फुटबल स्टेडियमको निर्माण कार्य अहिले सम्म पूरा भएको छैन । १० हजार सिट क्षमताको प्यारापिट जडान गर्ने लक्ष्यसहित भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन् । तर, अहिलेसम्म जम्मा ५ हजार सिट क्षमताको प्यारापिटमात्रै जडान भएको छ ।

ग्यालरी ए, बि, सि भागमा विभाजन गरेर अहिले प्यारापिट जडान भइरहेको स्टेडियमका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए । उनले ४ ग्यालरीमध्ये सि ग्यालरीमात्रै जडान कार्य सकिएको सुनाए । उनले भने, ‘सि ग्यालरीको प्यारापिटमात्रै जडान कार्य सकिएको छ । यो करिब ५ हजार सिट क्षमताको हो ।’ सि ग्यालरीको प्यारापिट नेपालको झन्डासँग मेल खाने गरी रातो र निलो रङको सिट जडान गरिएको छ ।

Advertisement

४ वटा ग्यालरीमध्ये साग महिला फुटबलका लागि २ ग्यालरीमामात्रै प्यारापिट जडान गर्न लागिएको बरालले जानकारी दिए । त्यसमध्ये बाँकी ५ हजार सिट क्षमताको प्यारापिट सोमबारबाट जडान सुरु भएको हो । तर, उक्त प्यारापिट जडान हुन अझै ३ दिन लाग्ने प्रोेजेक्ट म्यानेजर बरालले बताए । ‘भर्खरै सि ग्यालरी जडान सक्यौं । बाँकी प्यारापिट जोड्न अझै ३÷४ दिन लाग्छ,’ उनले भने ।

भिआइपी प्यारापिट जडान भइसकेको भएपनि निर्माण कम्पनीले अहिलेसम्म सिट जडान गरेको छैन । भिआइपी र भिभिआइपी प्यारापिटमा खेल सुरु हुनु अगावै सिट जडान गर्दा असुरक्षित हुने भएकाले सिट जडान नगरिएको प्रोजेक्ट म्यानेजर दीपक बरालले सुनाए । उनले भने, ‘भिआइपी र भिभिआइपी प्यारापिटमा सिट जडान पछि गर्छौं । अहिले नै जडान गर्दा जो पनि जाने र फोहोर गर्ने समस्या आउने देखियो ।’

रंगशालाको बाहिरी भागमा भएको सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम पनि अझै सकिएको छैन । प्रोजेक्ट म्यानेजर बरालले ट्र्याकको माथिल्लो तहको भाग सकिएको भएपनि अरु काम अझै बाँकी रहेको जानकारी दिए । उनले भने, ‘टप लेयरको काम सकिइसक्यो । ट्रयाकमा मार्किङ पनि गरिसक्यौं । तर, प्वाइन्टका काम भोलि (बिहीबार)देखि मात्रै सुरु हुन्छ ।’

स्टेडियममा बिछ्याइएको दुबो पटकपटक फेर्नु परेकाले पनि रंगशाला निर्माण प्रभावित हुँदै आएको छ । पहिले ल्याएका दुबो भारतीय भन्सारमा रोकिएकाले पोखरा आउन करिब १ हप्ता ढिलाइ भएको थियो । जसका कारण दुबो चाँडै नसर्ने सम्भावना भएपछि थप दुबो कलकत्ताबाट मगाइएको थियो । हाल पहिलो र दोस्रो चरणमा ल्याएका दुबोलाई रंगशाला प्रवेशद्वारा नजिकैको खाली मैदानमा रोप्न सुरु गरिएको छ ।

पोखरामा हुने तय भएको महिला फुटबल मंसिर १७ गतेदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने भएको छ ।

तपाईको प्रतिक्रिया