१३ औं साग खेलकाे लागि पाेखरामा ८४० खेलाडी र अफिसियल सहभागी हुने

समाधान संवाददाता २०७६ मंसिर १२ गते १२:२७

समाधान संवाददाता
पोखरा

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरामा ८ सय ४० खेलाडी र अफिसियल सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने भएपछि ८ सय २४ जना अफिसियल र खेलाडीमात्रै पोखरा आउने तय थियो । तर, अन्तिम समयमा भारत पनि आर्चरी भाग लिने भएपछि खेलाडी संख्या बढेको १३ औं साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।

‘पहिले भारत आर्चरीमा सहभागी नहुने भनेको थियो । तर, अन्तिम समयमा आएर सहभागी भयो,’ लामाले भने, ‘आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् ।’ आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्यान्डबल, फुटबल, बिच भलिबल, ट्रायथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुषभन्दा महिला खेलाडी बढी छन् । ८ खेलका लागि ४ सय ९ जना महिला र ३ सय २९ जना पुरुष खेलाडी सहभागी हुनेछन् ।

१ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुने
मंसिर १५ गतेदेखि २५ गतेसम्म हुन लागेको १३ औं सागअन्तर्गत पोखरामा हुने तय भएका खेलमा १ सय ५२ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । १३ औं सागका ८ खेलमध्ये आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, महिला क्रिकेटमा ४, महिला फुटबलमा ३, ह्यान्डबलमा ६, ट्रायथोलन १५, बिच भलिबल ६, भारोत्तोलनमा ६० गरी १ सय ५२ वटा पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।

Advertisement

खेल आउन ५ दिनमात्रै बाँकी छँदा पूर्वाधार निर्माण तीव्र बनाइएको छ । सबै खेलका पूर्वाधार निर्माण कार्य ९५ प्रतिशत पूरा भएको राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए । ‘बाँकी काम पनि २÷३ दिनभित्रै पूरा हुन्छ,’ उनले भने । पोखरासहित काठमाडौं र जनकपुरमा हुने सागका २८ खेलका लागि १ हजार १ सय ११ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

४ सय ४१ जना प्राविधिक पोखरा आउने
१३ औं सागअन्तर्गत पोखरामा हुने ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल टोली पोखरा आउने भएको छ । पोखरामा हुने खेलका लागि टेक्निकल प्रतिनिधि ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटीका ४४ जना, रेफ्री तथा निर्णायक ८५ जना, राष्ट्रिय रेफ्री १ सय ३६ जना, टेक्निकल सहायक १ सय ९४ जना गरी ४ सय ९१ जना खेल सञ्चालनका लागि टेक्निकल टोली पोखरा आउने भएको हो । पोखरामा हुने महिला क्रिकेटका लागि ६२ जनाको प्राविधिक अफिसियल, महिला फुटबलका लागि ५० जना, आर्चरीका लागि ५३, ब्याडमिन्टनका लागि ९४, ह्यान्डबलका लागि ५९, बिच भलिबलका लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्रायथोलनका लागि ४० जनाको टेक्निकल अफिसियल हुनेछ ।

तपाईको प्रतिक्रिया