घार्मीमा सडक र खानेपानीको काम तीव्र

समाधान संवाददाता २०७६ मंसिर १२ गते १३:२८

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तीव्रता पाएका छन् । महानगरभित्रै रहेर पनि विकासमा पछाडि परेको घार्मीमा अहिले पक्की सडक, सुविधा सम्पन्न स्वास्थ्य चौकी र १ घर १ धारा अन्तर्गत खानेपानी आयोजनाको काम तीव्र रुपमा भइरहेका छन् ।

आधारभूत सुविधा पनि नपाउँदा वर्षौदेखि समस्या झेल्दै आएका उनीहरुले केही महिनाभित्रै मुक्ति पाउने भएका छन् ।

Advertisement

लामाचौर स्वास्थ्य चौकी पक्की भवनको काम तीव्र गतिमा भइरहेको छ । सामान ढुवानी र पानीका कारण केही समय निर्माण कार्य सुस्त भए पनि २ सातादेखि काम तीव्र भएको ई. महेन्द्र बास्तोलाले बताए ।

अनुगमनमा पुगेका पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल, वडा सदस्य कृष्ण गौतम र स्थानीय डिल्लीराम पौडेलले ठेकेदार कम्पनीका प्रमुख प्रदीप कँडेल, ई. महेन्द्र बास्तोला, सुपरभाइजर राजु चौधरीसँग निर्माणका विषयमा छलफल गरेका छन् ।

Advertisement

ठेकेदार कम्पनीका प्रमुख प्रदीप कँडेलले भौगोलिक अवस्थाले पनि काममा कठिनाई भएको बताउँदै अब काममा ढिलाइ नहुने बताए । वडाध्यक्ष पौडेलले गुणस्तरयुक्त भवन निर्माणमा कुनै कन्जुस्याइँ नगर्न र सम्झौता बमोजिम समयमै काम सम्पन्न गर्न सुझाव दिए ।

राष्टिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइको १ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण भइरहेकोे २ तलाको १४ कोठे भवन आगामी असोज मसान्तभित्र निर्माण पूरा गर्ने गरी काठमाडौंको डा«गन कन्स्ट्रक्सन जेभीले ठेक्का लिएको हो ।

अनुगमन टोलीले लिफ्टिङ खानेपानी योजनासमेत अनुगमन गरेको छ । टोलीले भुमेपुज्नेमा निर्माण भएको २ लाख लिटर क्षमताको मुख्य टंकीको अवलोकन गरेको सचिव डिल्लीराम पौडेलले जानकारी दिए । योजना अन्तर्गत मुख्य र शाखा टंकी निर्माण भइसकेको छ । अब विद्युत र शाखा धाराको लाइन विस्तारको काम बाँकी छ ।

तपाईको प्रतिक्रिया