लेखनाथ महोत्सव पुस ३ देखि

समाधान संवाददाता २०७६ मंसिर १२ गते १४:२१
प्रतिकात्मक तस्विर

समाधान संवाददाता
पोखरा

१६ औं संस्करणको लेखनाथ महोत्सव आउँदो पुस ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ नारा दिइएको कार्यक्रम तालचोक नजिकै डाँडाकोनाक प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

महोत्सवमा औद्योगिक उत्पादन तथा हस्तकलाका सामान र स्थानीय उत्पादनका सामग्रीको बिक्री प्रबद्र्धनमा सहयोग गरिने संघका अध्यक्ष बलराम ढकालले बताए । विद्यालय स्तरीय नृत्य प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, सांस्कृतिक कार्यक्रम महोत्सवका खास आकर्षण हुने संघका उपमहासचिव एवं महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए । गण्डकी तारा प्रतियोगिताका हालसम्मका पुरस्कृत विजेता र रत्यौली गीत प्रतियोगिताका हालसम्म पुरस्कृत समूहको प्रस्तुति देखाइने भएको सुवेदीले बताए ।

Advertisement

कलाकारले दैनिक रुपमा भिन्दाभिन्दै प्रस्तुति राख्ने छन् । बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रममार्फत मनोरञ्जन लिन सकिनेछ । ३ सय ३६ स्टलका व्यावसायिक उत्पादनका सामग्री र स्थानीय उत्पादनका वस्तुको बजारीकरण गरिने आयोजकले जनाएको छ ।

महोत्सवको पूर्वसन्ध्यामा पुस १ गते कविशिरोमणि लेखनाथ पौड्यालको सम्मानमा जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय स्थलगत कवितालेखन तथा वाचन प्रतियोगिता आयोजना हुने भएको छ । लेउवासंघ, कविशिरोमणि जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान र लेखनाथ लायन्सको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।

Advertisement

पुस २ गते राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना गरिने प्रबचारप्रसार संयोजक सुवेदीले जानकारी दिए । प्रतियोगितामा छनोट भएका उत्कृष्ट ७ जनाका कविता महोत्वमा वाचन गरी पुरस्कृत गरिने उनले बताए ।

संघले महोत्सवबाट प्राप्त आम्दानी प्रदर्शनी स्थल स्तरोन्नति लगायतका सामाजिक काममा खर्चिने जनाएको छ । एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले महोत्सवलाई मुख्य प्रायोजन गरेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशले सहआयोजकका रुपमा सघाएका छन् ।

तपाईको प्रतिक्रिया