किन घटे सरकारी स्कूलमा विद्यार्थी

समाधान संवाददाता २०७६ मंसिर १२ गते १६:२०

युवराज पौडेल

केही अपवादका सामुदायिक विद्यालयहरूलाई छाडेर अधिकांश विद्यालयमा विद्यार्थी संख्या संस्थागत विद्यालयको तुलनामा चिन्ताजनक अवस्थामा छ । प्रत्येक जिल्लामा १÷२ वटा सामुदायिक विद्यालय बाहेक अधिकांश विद्यालयमा विद्यार्थी संख्या निराशाजनक अवस्थामा छ । तथ्यले यही बताइरहेका छन् । सरकारको ठूलो लगानीका बाबजुद पनि किन सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढ्न सकेको छैन भन्ने मूल समस्याले यससँग सरोकार राख्ने सबैलाई गम्भीर बनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुमा कुनै एउटा मात्रै कारण जिम्मेवार छैन । विद्यालयमा विद्यार्थी घटे भन्ने चिन्ताले हुने छलफलमा एउटा पक्षले अर्कालाई दोष लगाएर उम्कन खोज्ने प्रवृत्ति बढी देखिन्छ । प्रधानाध्यापकले शिक्षकलाई, शिक्षकले प्रधानाध्यापकलाई, वि.व्य.स.ले शिक्षकलाई, शिक्षकले अभिभावकलाई दोषारोपण गरेको देखिन्छ । यसरी एकले अर्कालाई आरोप लगाएर समस्या समाधान हुने स्थिति नै छैन । बरू यसका मूल कारण खोज्नेतर्फ जानुपर्छ । सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका विविध कारण छन् । यहाँ ती विविध कारणमध्ये केही मुख्य र समसामयिक कारणका सम्बन्धमा चर्चा गर्ने प्रयास गरिएको छ ।

१.अंग्रेजी माध्यमलाई सबैथोक मान्नु
अहिले सामुदायिक विद्यालयमा अंगेजी माध्यमबाट पढाउने लहर चलेको छ । संस्थागत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने गरेका कारण र अभिभावकको चाहना यसतर्फ बढी रहेकाले सामुदायिक विद्यालय बाध्यतावश अंग्रेजी मोहमा फस्नु परेको छ । अन्तर्राष्ट्रिय भाषाका रूपमा अंग्रेजी माध्यमलाई जोड दिनुलाई नराम्रो मान्न सकिन्न, तर अंग्रेजी माध्यम नै शैक्षिक गुणस्तर मापनको मूल आधार हो भन्ने विमर्श स्थापना गर्न खोजिनु सबैभन्दा दुर्भाग्यपूर्ण छ । अंग्रेजी माध्यम हुँदैमा गुणस्तर आउँछ भन्ने धेरै अभिभावकको गलत सोचाइका कारण धेरै सामुदायिक विद्यालय सकीनसकी अंग्रेजी माध्यमतर्फ अगाडि बढिरहनु परेको छ ।

अंग्रेजी माध्यम चलाइरहेका कतिपय सामुदायिक विद्यालय उचित व्यवस्थापनका अभावमा फेरी नेपाली माध्यममै फर्किनु परेका थुप्रै उदाहरण पनि हाम्रा सामु छन् । जापानमा अंग्रेजी भाषालाई माध्यमका रूपमा प्रयोग गरिन्न । चीन लगायत कयौं देशमा अंग्रेजी सिकाइलाई त्यति महत्त्व दिइँदैन । तर नेपालमा जानी नजानी सकिनसकी यसतर्फ बढ्नै पर्ने एउटा गलत भाष्य निर्माण गरिएको छ । खासगरी नाफामूलक निजी संस्थाले यस भाष्यलाई अवसरका रूपमा प्रयोग गरिरहेका छन् । अंग्रेजी पटटट बोल्ने भएपछि सबै कुरा प्राप्त हुन्छ भन्ने मान्यता जबर्जस्त स्थापना गरिएको छ, जुन शैक्षिक गुणस्तरका निम्ति सबैभन्दा घातक रहेको छ ।

फेरी यसको अर्थ अंग्रेजी माध्यम गर्दैमा बिग्रिहाल्ने भन्ने पनि होइन । तर यसलाई मात्र सबथोक मान्दा जीवनका लागि आवश्यक सिकाइका अन्य सीप ओझेलमा परिरहेको तर्फ पनि ध्यान दिनु जरुरी छ । नेपाली, मैथिली, जापनीज जस्तै अङ्ग्रेजी पनि एउटा भाषा हो । यो हरेक नेपालीका लागि सिकाइका दृष्टिले दोस्रो वा तेस्रो भाषा बन्छ । अन्तर्राष्ट्रिय भाषाका रूपमा यसको महत्व निश्चित रूपमा उच्च नै छ । तर यसैलाई सिकाइको साध्यका रूपमा हेर्न खोज्ने वर्तमान शिक्षाको प्रवृत्तिले हाम्रो समाजका चाहना र आवश्यकतालाई तथा नेपाली विद्यार्थीका सिकाइ आवश्यकतालाई कुनै पनि हालतमा पूरा गर्न सक्दैन ।

२. सिकाइ पद्धतिमा समस्या
हाम्रा विद्यालय तथा महाविद्यालयमा आज पनि सिकाइको मूल प्रवृतिमा आधारभूत परिवर्तन आएको छैन । बाहिर देखाउनका लागि जति गफ गरिए पनि वास्तविक रूपमा शिक्षणको मूलभूत स्वरूप हिजोको जस्तै छ । परम्परागत घोकन्ते शिक्षा पद्धतिलाई हाम्रा विद्यालयबाट हटाउन सकिएको छैन । घोकाएर, रटाएर जसरी भए पनि जाँचमा अंक प्राप्त गराएपछि अभिभावक खुसी हुन्छन् भन्ने मानसिकताका कारण घोक्ने प्रवृत्तिमा घटोत्तरी भएको छैन । जाँचको बेलामा घोकेर प्राप्त गरेको अंकले जीवनका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सक्दैन । घोकाउने कुराले विद्यार्थीको सीप र जन्मजात क्षमतालाई सधैंका लागि समाप्त पारिदिन्छ । सिर्जनशीलता र घोकन्ते विद्या कहिल्यै एक ठाउँमा बस्न सक्दैनन् । शिक्षाको उद्देश्य सिर्जनशीलता बढाउने वा व्यक्ति भित्रको जन्मजात क्षमतालाई उजागर गर्ने खालको हुनुपर्छ । त्यसैले अब प्रत्येक शिक्षक, विद्यार्थी र अभिभावकले घोकाएर होइन, बुझाएर, बुझेर, प्रयोग गरेर हेर्ने खालको सिकाइमा रुचि राख्नु पर्छ ।

आज परम्परागत घोकन्ते शिक्षाका कारण हजारौं युवा पढेर पनि सीपविहीन हुनुपरेको छ । शैक्षिक डिग्री हासिल गरेर पनि अपांग जस्तो बन्नु परेको छ । जीवनलाई चाहिने व्यवहारिक ज्ञान र सीप हासिल नहुँदा तिनले प्राप्त गरेका डिग्री तिनैका लागि बोझिला बनिरहेका छन् भने विद्यालय निराशा जन्माउने कारखाना बन्दै छन् । निश्चय पनि यो असाध्यै गम्भीर र दुखद् विषय हो ।

३. प्रविधिको प्रयोगमा अरुचि ः आज विज्ञान प्रविधिले विश्वलाई साघँुरो बनाइदिएको छ । विश्व एउटा परिवार जस्तो बनिरहेको छ । गुगल, फेसबुक, ट्विटर, युट्युब जस्ता एप्प्सका कारण सूचना प्राप्त गर्ने र सिक्ने तरिकामा पनि ठूलो परिवर्तन आएको छ । आज अनलाइनबाट सूचना घरमै बसेर प्राप्त हुन्छन्, जसले गर्दा सूचनाका लागि विद्यालय जानुपर्ने हिजोको जस्तो अवस्था अहिले छैन । हाम्रा २ वर्षकै बच्चाले हाम्रोभन्दा धेरै मोबाइलका तथा इन्टरनेटका कुरा जानिरहेका छन् । हामीले साना बच्चाले मोबाइल, आइप्याड, ट्याबमा थुप्रै कुरा चलाउन सिकेको र आफ्ना अभिभावकलाई समेत सिकाइरहेको देखिरहेका छौं । अब त्यस्ता जन्मदै प्रविधिसँग खेलेका बच्चा विद्यालयमा आएका छन् । हिजोका जस्ता टेलिभिजन पनि देख्न नपाएका बच्चा होइनन् ।

सिकारुमा आएको यो परिवर्तनलाई हामीले देखेका छैनौं वा देखेर पनि वास्ता गरिरहेका छैनौं । सिकारुले घरबाट र वातावरणबाट सिक्ने सिकाइ नै यति जटिल भइसकेपछि विद्यालयमा सिकाउने तरिकामा परिवर्तन आउनु अत्यन्त आवश्यक भइसकेको छ । अबका प्रविधिमैत्री बच्चालाई तपाईं हामी किताबमा मात्र भुलाएर राख्न सक्दैनौं । अब तिनले प्रविधिबाट सिकेका थुप्रै विषयलाई शिक्षण सिकाइमा प्रयोग गर्नेतर्फ चनाखो हुनुपर्ने बेला आएको छ । अब सिकाइमा साँच्चै प्रविधिको अधिकतम प्रयोग गर्नु आवश्यक भएको छ । प्रविधिमैत्री सिकाइ आजको आवश्यकता हो भन्ने कुरामा कुनै दुइमत छैन । हाम्रा विद्यालयमा प्रयोग गर्ने कम्प्युटर हात्तीका देखाउने दाँत जस्तै अभिभावकलाई झुक्याउन र पैसा असुल्न मात्र प्रयोग भइरहेको तथ्यलाई कसैले लुकाउन सक्ने स्थिति छैन । अब प्रत्येक कक्षा प्रविधिमैत्री नभएसम्म सिकारुका आवश्यकता पूरा गर्न सकिँदैन । फेरि अहिले आएर आर्थिक रूपले पनि प्रविधिमैत्री कक्षा बनाउनु त्यति ठूलो कुरा पनि रहेन ।

३.खेल र सिकाइलाई जोड्न नसक्नु
हाम्रा विद्यालयमा खेललाई कति प्राथमिकता दिइएको छ भनेर हेर्ने हो भने यो असाध्यै निराशाजनक अवस्थामा छ । खेल जीवनको आवश्यकता हो । तीव्र वृद्धि र विकास हुने उमेरका विद्यार्थीका लागि खेलको ठूलो आवश्यकता रहन्छ । खेललाई माध्यमका रूपमा प्रयोग गरेर थुप्र्रै कुरा विद्यार्थीलाई सिकाउन सकिन्छ । यसरी सिकाएको सिकाइ धेरै दिगो पनि हुन्छ । यो तथ्यलाई हाम्रा विद्यालयमा कति उपयोग गरिएको छ त भनेर हेर्ने बेला आएको छ । अब सिकाइ खेलमैत्री हुनुपर्छ । विद्यालय खेलमैत्री हुनुपर्छ ।

देखाउन र पैसा असुल्नका लागि मात्र वा अभिभावकलाई झुक्याउनका लागि मात्र प्रयोग गर्ने खेल नीतिले वास्तविक सिकाइ उपलब्धि हासिल गर्न सकिँदैन । आज खेलकै माध्यमबाट आर्थिक समृद्धि हासिल गरिरहेका देशले शिक्षण सिकाइमा खेललाई कसरी उपयोग गरिरहेका छन् तथा तिनका यससँग सम्बन्धित राम्रा अनुभवलाई हाम्रा विद्यालयमा पनि लागू गर्नेतर्फ चासो दिनुपर्छ । अब राज्यले पनि खेलसँग सम्बन्धित न्यूनतम मापदण्ड प्रत्येक विद्यालयले पूरा गरेकै हुनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्छ ।

४. विविध
हाम्रा विद्यालयमा सैद्धान्तिक रूपमा जति निर्माणात्मक र उपचारात्मक मूल्याङ्कन प्रणाली भने पनि व्यवहारिक रूपमा त्यसको सफल कार्यान्वयन हुन सकेको छैन । कक्षामा कमजोर विद्यार्थीलाई विशेष मनोवैज्ञानिक तथा उपचारात्मक विधिको सफल प्रयोग गर्न सकिएको छैन । यद्यपि यसतर्फ प्रयास भएकै छन् तर अपेक्षित परिणाम आइरहेको छैन । शिक्षकले एक चोटी डिग्री हासिल गरेपछि सधैं त्यसैले काम गर्ने विधिको अन्त्य हुनुपर्छ ।

शिक्षकलाई ज्ञान तथा विधि प्रविधिमा ‘अप टु डेट’ बनाउनुपर्छ । शिक्षकलाई राज्यले विशेष संरक्षण र आर्थिक सुरक्षाको प्रत्याभूति दिनुपर्छ । अन्य कक्षामा भन्दा पूर्व प्राथमिक कक्षामा सबैभन्दा बढी ध्यान दिनुपर्छ । जीवनको भावी रूपरेखा निर्धारण गर्ने कक्षाहरूमा त्यही अनुसारको मनोवैज्ञानिक सिकाइ वातावरण सिर्जना गर्नुपर्छ । ‘विद्यालय मामाघर जस्तै हो’ भन्ने भावनाको विकास साना विद्यार्थीमा गराउन सक्नुपर्छ । उनीहरूले विद्यालय मेरा लागि सुरक्षित छ भन्ने अनुभूति गरेको हुनुपर्छ ।

शिक्षणका क्रममा हुने दण्डलाई पूर्ण रूपमा निषेधित नगरेसम्म बालमैत्री विद्यालयको कल्पना नगरे पनि हुन्छ । बालमैत्रीका जति नारा लगाए पनि यसको कार्यान्वयन पक्ष आज पनि असाध्यै जटिल बनिरहेको छ । विद्यार्थीलाई यातना दिने प्रवृत्तिमा केही कम त भएको छ, तर यो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन । जुन शिक्षकसँग विद्यार्थी डराउँछन्, त्यही शिक्षकलाई ठूलो ठान्ने र त्यही शिक्षकलाई ‘हिरो’ मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । शिक्षकलाई देख्दा विद्यार्थी डरायो भने मान्नोस् त्यो विद्यार्थीले शिक्षकबाट के सिक्ला ? त्यसैले डराउन दिने र विद्यार्थीलाई हतोत्साहित बनाउने परम्परागत प्रवृत्तिको छिटोभन्दा छिटो अन्त्य हुनुपर्छ ।

५.समाधानका उपाय
विद्यालयमा कुनै पनि नयाँ कार्यक्रम र योजना निर्माण गर्दा त्यसको दिगोपनाका सम्बन्धमा सबैभन्दा बढी छलफल गर्नुपर्छ । विद्यालयमा धेरै नयाँ कार्यक्रम लागु गर्ने तर कुनै कार्यक्रमलाई पनि दिगो बनाउन नसक्ने समस्या देखिन्छ । खासगरी सामुदायिका विद्यालयका सन्दर्भमा कार्यक्रम टिकाउको बढी समस्या देखिन्छ । अभिभावक सचेतना पनि यस सन्दर्भमा महत्त्वपूर्ण विषय हो । हाम्रा कतिपय अभिभावकले ठूलाठूला भवन र चिल्ला गाडी देख्ने बित्तिकै राम्रो पढाइ हुन्छ भन्ने ठान्नुहुन्छ । हामीले भवन र गाडीमात्र हुँदैमा गुणस्तरीय शिक्षा प्राप्त हुँदैन भन्ने कुरा बुझाउन सक्नुपर्छ । खासगरी कक्षा कोठामा कस्तो शिक्षण विधिबाट कसरी शिक्षण सिकाइ क्रियाकलाप भइरहेको छ, विद्यार्थीको सिकाइ कसरी अगाडि बढिरहेको छ त्यो सबैभन्दा मूलभूत कुरा हो ।

विद्यार्थीमा प्रत्येक दिन नयाँ परिवर्तनको अनुभूति भएको छ कि छैन, त्यो आधारभूत कुरा हो । अरू सबै सहायक कुरा हुन् । विद्यालय वातावरण सिकाइका लागि उपयुक्त बनाउन सकिएन भने जतिसुकै प्रयास गरे पनि सिकाइ प्रभावकारी बन्न सक्दैन । हामीले विद्यालय भित्र पस्ने बित्तिकै विद्यार्थीलाई केही सिकौं–सिकौं लाग्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । यो कुरा अभिभावक तथा समुदायलाई बुझाउन सक्नुपर्छ । यसरी माथि उल्लेख गरिएका विविध पक्षमा हामीले ध्यान दिन सक्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थी खोज्न गल्ली–गल्ली धाउनुपर्ने वर्तमान स्थितिको अन्त्य हुने कुरा निश्चित छ ।

तपाईको प्रतिक्रिया