कास्की २ उपनिर्वाचनः मतदान अवधिभर अत्यावश्यकबाहेक अरु गाडी चल्न रोक

समाधान संवाददाता २०७६ मंसिर १३ गते ११:५९

ईश्वर देवकोटा
पोखरा

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा शनिबार हुने उपनिर्वाचनका लागि जिल्लामा उच्च सुरक्षा सर्तकता बढाइएको छ । मतदान हुने दिन शनिबार कास्की जिल्लाभर सार्वजनिक गाडी गुड्न प्रशासनले रोक लगाएको छ ।

शुक्रबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शनिबारसम्म अत्यावश्यक सेवाका बाहेक अरु गाडी सञ्चालनमा रोक लगाइएको कास्कीका सिडिओ रमेशकुमार केसीले जानकारी दिए । अत्यावश्यक सेवा र चुनावी प्रयोजनका लागि जिल्ला प्रशासनबाट पास लिएका गाडीबाहेक अरु गाडी गुड्न नपाउने उनले बताए ।

Advertisement

‘राजमार्ग हुँदै अन्य जिल्ला जाने सवारीको हकमा यात्रुलाई असुविधा नहोस् भन्नका लागि ३÷३ घन्टामा नाकाबाट स्कर्टिङको व्यवस्था मिलाएका छौं,’ सिडिओ केसीले भने, ‘पूर्वमा कोत्रे खोला पुल(तनहुँ सिमाना), पश्चिम–उत्तरमा नयाँ पुल (पर्वत सिमाना) तथा दक्षिण पश्चिममा भकुण्डे (स्याङ्जा सिमाना)मा गाडी होल्ड गरी स्कर्टिङ गराइने छ ।’ एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी लगायतका अत्यावश्यक सेवाका गाडी भने नियमित चल्न पाउने छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी फौजले गाडीलाई बीचमा यात्रु नचढाउने र नओराल्ने गरी स्कर्टिङ गराइने सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । मतदान अवधिभर कास्की क्षेत्र नम्बर २ लाई सम्पूर्ण सुरक्षाका तहले निगरानी गरिने उनले बताए । उक्त अवधिमा अपरिचित व्यक्तिहरुको प्रवेश, अस्वभाविक व्यवहार र शंकास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न समेत जिल्ला प्रशासनले आग्रह गरेको छ ।

Advertisement

उहि दिन मतगणना
कास्की २ को उपनिर्वाचनको मतगणना मतदान भएकै दिन सुरु हुने भएको छ । शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म ३२ मतदानस्थलका ८२ केन्द्रबाट संकलित मतपेटिका पोखरामा संकलन गरी सोही दिन मतगणनाको काम थाल्ने तयारीका साथ काम भएको छ ।

मतदान सम्पन्न भएलगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको पहरामा जिल्ला समन्वय समितिको हलमा मतपेटिका संकलन गरिनेछ । साँझ ७ बजेसम्ममा मतपेटिका संकलन गर्ने र लगत्तै सर्बदलीय बैठकबाट मतगणनाबारे निर्णय हुनेछ ।

सर्वदलीय बैठकको निर्णयपछि सोही दिन रातिबाट मतगणनाको काम थाल्ने तयारी रहेको जिल्ला अदालत कास्कीका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । ‘मतपेटिका संकलनको काम सकिएपछि सर्वदलीय बैठक हुन्छ,’ उनले भने, ‘सर्वदलीय बैठकको निर्णयबाट लगत्तै मतगणनाको काम सुरु हुन्छ ।’

कास्की क्षेत्र २ का ११ वडामध्ये केही वडाहरु ग्रामीणस्तरका छन् । उक्त वडाहरुबाट जिससको कार्यालयमा निर्धारित समयमै मतपेटिका संकलन गर्ने काम सक्न ढुवानी व्यवस्थापन चुस्त बनाइने निर्वाचन कार्यालयले जनाएको छ ।

३ तहको कडा सुरक्षामा मतदान
आमनिर्वाचन जस्तै उपनिर्वाचनमा पनि उस्तै किसिमको सुरक्षा परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले यसअघि निर्वाचन आयोगबाट निर्देशित सुरक्षा परिचालनका लागि तयारी गरिसकेको छ । मतदाता मतदान केन्द्रसम्म भयरहित अवस्थामा मतदान गर्ने वातावरण बनाउन ३ तहको सुरक्षा परिचालन गरिएको कास्कीका सिडिओ केसीले जानकारी दिए । नेपाली सेना परिचालनका लागि आयोगलाई सरकारले अख्तियारी दिइसकेको छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिने छ । प्रहरीले नै मतपेटिकाको समेत सुरक्षा गर्ने छ । दोस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा फौज रहने व्यवस्था गरिएको सिडिओ केसीले बताए । तेस्रो घेरामा नेपाली सेनाले मतदानस्थलको सुरक्षा दिने छ । तिनै तहको सुरक्षा मार्फत सम्पूर्ण निर्वाचन क्षेत्र तथा मतदानस्थलको सुरक्षा व्यवस्था व्यापक रुपमा परिचालन हुने भएको हो ।

सुरक्षा समितिले सुरक्षा दृष्टिले एकीन गरेको अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थलमा पूर्व तयारी स्वरुप नै सुरक्षा परिचालन भइसकेको छ । कास्की क्षेत्र २ का ३२ मध्ये ७ अति संवेदनशील, ८ संवेदनशील र बाँकी १७ वटा मतदानस्थल सुरक्षा दृष्टिले सामान्य रहेको निष्कर्ष जिल्ला सुरक्षाले निक्र्यौल गरेको छ ।

तपाईको प्रतिक्रिया