नेपाली सेनाले दियो विपद् प्रतिकार्य तालिम

समाधान संवाददाता २०७६ मंसिर १३ गते १३:०२

कृष्ण न्यौपाने
दमौली

विपद्का अवस्थामा समुदायमा रहेका जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यसहित कृष्णदल गण चापाघाट ब्यारेकले विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ ।

कृष्णदल गणले ४ वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान दिएको हो । सडक दुर्घटना, बाढी, पहिरो, भूकम्प र आगलागीका घटनामा क्षति न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागिता वृद्धि गर्न जिल्लाका ७ स्थानीय तहका २० जनालाई विपद् प्रतिकार्य तालिम प्रदान गरिएको कृष्णदल गणका गणपति प्रमुख सेनानी अनन्तबहादुर सिंहले बताए ।

Advertisement

तालिममा व्यास नगरपालिकाबाट ६, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिकाबाट २÷२ जना सहभागी थिए । तालिममा भानु नगरपालिका, घिरिङ गाउँपालिका र सिसिङ गाउँपालिकाबाट भने सहभागिता रहेन ।

जिल्लाको प्राकृतिक बनावटलाई मध्यनजर गरी ४ वटा प्याकेजमा तालिम सञ्चालन गरिएको प्रमुख प्रशिक्षक भरत पुलामी मगरले बताए । उनका अनुसार पहिलो दिन सडक दुर्घटनाका घाइतेलाई उद्धार, दोस्रो दिन आगलागी नियन्त्रण, तेस्रो दिन भूकम्पका घाइते तथा खोंचमा खसेका घाइतेको उद्धार र चौथो दिन बाढी, पहिरोबाट घाइते भएकाको उद्धार बारे सिकाइएको थियो ।

Advertisement

स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन प्रयोग गरी बनाइएको उद्धार सामग्री प्रतिकार्य तालिममा प्रयोग गरिएको थियो । ड्रम, म्याट र बोतलबाट बनाइएका उद्धार सामग्रीलाई प्रतिकार्य तालिममा प्रयोग गरी सिकाइएको प्रशिक्षक मगरले बताए । ‘ड्रमबाट बनाइने उद्धार सामग्री बढी खर्च लाग्ने भए पनि भरपर्दो हुन्छ,’ उनले भने, ‘म्याट र बोतलबाट बनाइने सामग्री भने व्यक्तिगत रुपमा पनि निर्माण गर्न सकिन्छ ।’

तालिमको अन्तिम दिन बिहीबार व्यास नगरपालिका ५ स्थित मादी नदीमा अभ्यास गरियो । उक्त अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपद्को अत्यन्तै जोखिममा रहेको हुन सक्ने मानवीय क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।

विपद्मा क्षति न्यूनीकरणका लागि मानसिकतादेखि नै तयार रहनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिँदै न्यौपानेले भने, ‘नागरिक स्तरबाट पनि विपद्को पूर्व तयारीका लागि तयार हुनुपर्छ ।’ विपद्को पूर्व तयारीका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको र आगामी वर्ष त्यसलाई वृद्धि गर्दै लैजाने न्यौपानेले बताए ।

प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समिति अध्यक्ष रुद्रप्रसाद पण्डितले विपद् प्रतिकार्यका लागि स्थानीय तहले चासो नदेखाएको बताए । प्रत्येक स्थानीय तहले विपद् न्यूनीकरणका लागि सामग्री खरिद गरेर राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सडक दुर्घटना, आगलागी, भूकम्प र बाढी, पहिरोबाट हुन सक्ने क्षति कम गर्न उद्धारकर्ता तयार पार्न गरिएको तालिम प्रभावकारी हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया