पाथर्दीबासीकाे श्रमदानबाट पदमार्ग निर्माण

समाधान संवाददाता २०७६ मंसिर १३ गते १३:२७

कृष्ण न्यौपाने
दमौली

जिल्लाको भीमाद नगरपालिका ९ पाथर्दीका स्थानीयबासीले ४५ दिन श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पुग्न स्थानीयले श्रमदान गरेर पदमार्ग निर्माण गरेका हुन् ।

भीमाद नगरपालिकाले पदमार्ग निर्माणका लागि ५ लाख बजेट विनियोजन गरेकोमा स्थानीयले श्रमदानमार्फत् १५ लाख भन्दा बढीको काम गरेको स्थानीय शिवकुमार आलेले जानकारी दिए । आलेका अनुसार पदमार्ग निर्माणका लागि यहाँका ५० भन्दा बढी स्थानीयबासी दैनिक खटिएका थिए ।

Advertisement

श्रमदानमा नआउने स्थानीयलाई जरिवाना गरिएको आलेले जानकारी दिए । ‘दैनिक श्रमदानमा नआउनेलाई दिनको ५ सय जरिवानाको निर्णय गरिएको थियो,’ आलेले भने, ‘श्रमदानमा नआउने केही स्थानीयलाई जरिवाना पनि तिरायौं ।’ पदमार्ग निर्माणको क्रममा निर्माण सामग्री स्थानीयले बोकेरै पुर्‍याएका थिए । झरनासम्म पुग्न मोटरमार्ग नरहेकोले निर्माणका सामग्री बोकेरै पुर्‍याइएको आलेले बताए ।

इलुङ झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा ढुंगाले छापेर पदमार्ग निर्माण गरिएको छ भने सोही ठाउँमा रेलिङ समेत हालिएको छ । ७७ मिटर भागमा ढुंगा छापेर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष इमान थापाले जानकारी दिए । ‘पदमार्ग निर्माणका लागि स्थानीयले श्रमदानमा खटिएर ठूलो सहयोग गर्नुभयो,’ वडाध्यक्ष थापाले भने ।

Advertisement

उक्त झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको छ । झरनामा पूर्वाधार विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट क्यानोनिङका लागि आवश्यक सामग्री खरिद गरिनेछ । झरना नजिकै पर्यटकको सुविधाका लागि शौचालय र चेन्जिङ रुम निर्माण गर्ने तयारी थालिएको थापाले बताए । थापाका अनुसार झरनामा व्यावसायिक रुपमा क्यानोनिङ सञ्चालन गर्नु पूर्व प्रशिक्षक बोलाएर तालिम सञ्चालन गरिनेछ ।

‘झरनामा क्यानोनिङको सफल परीक्षण भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै प्रशिक्षक बोलाएर यहाँका युवालाई क्यानोनिङ सम्बन्धी तालिम दिने सोचमा छाैं ।’ ४० मिटर अग्लो झरनामा गत मंसिर १६ गते सफल परीक्षण भएको थियो । झरनामा आउने पर्यटकलाई बास बसाउन पाथर्दी गाउँमा घरबास सुरु भइसकेको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँ हो । यहाँका १० घरमा घरबास सञ्चालनमा छ । उक्त घरबासमा आन्तरिक पर्यटक बास बस्नका लागि पुगिसकेका छन् ।

स्वच्छ वातावरण, चराचुरुंगीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्नेको मन लोभ्याउने गरेको छ । हरिनास गाउँपालिका ४ स्थित कटमराम्चेबाट बग्दै आएको खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मंसिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय दिलबहादुर थापाले बताए । थापाका अनुसार गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्यादी नलागोस् भनेर परम्परागत रुपमा गरिँदै आएको उक्त पूजामा भेंडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ । उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमिको दूरीमा छ ।

तपाईको प्रतिक्रिया