१३ औं सागः भारोत्तोलनमा अहिलेसम्म १ सय १० पदक

समाधान संवाददाता २०७६ मंसिर १३ गते १३:५६

सुरेशराज अधिकारी
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भारोत्तोलन खेल पोखरा १२ माटेपानीस्थित एसआर केसी बैंक्युटमा गर्ने योजना साथ निर्माण कार्य अघि बढेको छ । प्रतियोगितामा भारोत्तोलनतर्फ ६ देशका खेलाडी सहभागी हुनेछन् । इतिहास हेर्दा नेपालले सागमा धेरै पदक जित्ने खेल भारोत्तोलन पनि हो ।

भारोत्तोलनमा नेपालको इतिहास
सन् १९८४ मा भएको पहिलो साग खेलदेखि छैटौं संस्करणबाहेक अन्यमा नेपाल भारोत्तोलनमा भाग लिँदै आएको छ । नेपालले पहिलो सागमा भारोत्तोलनतर्फ ५ रजत र ३ कास्य पदक जितेको थियो ।

Advertisement

पहिलो सागमा भन्दा दोस्रो सागमा नेपालले भारोत्तोलनमा राम्रो प्रदर्शन गरेको थियो । साग दोस्रो संस्करणमा ६ रजत र १२ कास्य पदक जित्न सफल भएको थियो । तेस्रो सागमा नेपाल १९ कास्य पदक जितेर खुम्चिएको थियो । चौथो संस्करणमा नेपालले भारोत्तोलनमा राम्रो प्रदर्शन गरेकोमात्र थिएन, इतिहासमा नै धेरै पदकसमेत जितेको थियो । ६ रजत र २३ कास्य पदक जित्न सफल भएको थियो ।

पाँचौ संस्करणमा ३ रजत र १९ कास्य पदक जितेर खुम्चिएको नेपालले छैटौँ संस्करणमा सहभागी भएन । ७ औं संस्करणमा नेपालले २ रजत र ३ कास्य पदकमै चित्त बुझायो । ८ औँ सागमा ३ कास्य पदक हात पारेको थियो । नवौँ सागमा भारोत्तोलनमा १ कास्य पदकमात्र हात पार्‍यो । १० औँ सागमा १ स्वर्ण हात पारेको नेपालले साग खेलकुदमा भारोत्तोलन इतिहासमा नै नराम्रो प्रदर्शन गरी ११ औँ संस्करणमा नेपाल पदकविहीन बनेको थियो । ११ औं सागको नतिजा सुधार गरी १२ औं सागमा नेपालले १ रजत र ३ कास्य पदक हात पार्‍यो । भारोत्तोलनमा १३ औं सागमा नेपालले प्रि इन्ट्रिको आधारमा महिला र पुरुष दुवै समूहमा रजत र कास्य पदक आशा गरेको छ ।

Advertisement

१३ औं सागमा नेपाली खेलाडी
गत असोजमा छनोट भएका नेपालका १० जना महिला र ७ जना पुरुष बन्द प्रशिक्षणमा छन् । ८ जनाले दक्षिण कोरिया र १२ जनाले उज्वेकिस्तानमा केही समय प्रशिक्षण लिएर आएको भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेल बताउँछन् । भारोत्तोलनमा नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् । भुटानले यस पटकको सागमा पहिलो पटक सहभागिता जनाएको हो । यसकारण अघिल्लो वर्षको तुलनामा यस वर्षमा खेल केही फरक हुनसक्ने पौडेलको अनुमान रहेको छ ।

भारोत्तोलनमा पुरुषतर्फ कमलबहादुर अधिकारी ५५ केजी, विकास थापा ६१ केजी, सागर भण्डारी ७३ केजी, सन्देश गुरुङ ८१ केजी, प्रकाश केसी ८९ केजी, पुकार गुरुङ १ सय ९ केजी र विशालसिंह विष्ट र महिलातर्फ संगीता राई ४९ केजी, सत्तजु चौधारी ५५ केजी, राजलक्ष्मी थापा ५९ केजी, देवीकुमारी चौधरी ६४ केजी, तारादेवी पुन ७१ केजी, अस्मिता राई ७६ केजी, लक्ष्मी बन ८७ केजीका छन् ।

यसरी हुन्छ खेल
१३ औं साग अन्तर्गत भारोत्तोलन प्रतियोगिता मंसिर १९ गतेदेखि हुनेछ । ५ डिसेम्बर अर्थात् १९ गते महिलातर्फ ४५, ४९, ५५ केजी तौल समूहमा र पुरुषतर्फ ५५ र ६१ केजी तौल समूहको खेल हुनेछ । ६ डिसेम्बर अर्थात् २० गते पुरुष ६७, ७३, ८१ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । महिलातर्फ ५९ र ६४ केजी तौल समूहको खेल हुनेछ । डिसेम्बर ७ वा मंसिर २१ गतेको खेलमा पुरुषतर्फ ८९ र ९६ केजी तौल समूह र महिलातर्फ ७१, ७६ र ८१ केजी तौल समूहका खेल हुनेछन् । डिसेम्बर ८ अर्थात् मंसिर २२ गते पुरुष १ सय २, १ सय ९ केजी र १ सय ९ भन्दा बढी तौल समूह महिलातर्फ ८७, र ८७ भन्दा बढी तौल समूह भएका खेलाडीबीच प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । खेलका लागि मंसिर १४ गतेदेखि २५ गतेसम्म हल चाहिने भएकाले सोही अनुसार हल बुक भएको भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले जानकारी दिए । पोखरा रंगशालामा प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । सोही प्रशिक्षण केन्द्रमा नै नेपाली टिमले बिहीबारदेखि अभ्यास गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया