निर्वाचन र युवा

समाधान संवाददाता २०७६ मंसिर १३ गते १४:२६

हसिना बस्नेत

१४ मंसिरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको स्थानमा जनप्रतिनिधीको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ५० पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ । जसमध्ये प्रतिनिधिसभा १, प्रदेश सभा ३ उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाध्यक्ष ४१ पद रिक्त छन् । उपनिर्वाचन ५० ठाउँमा हुन लागेपनि देशको ध्यान भने यतिबेला कास्की २ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा केन्द्रित छ । जहाँ ७१ हजार ८ सय ७१ मतदाता छन् ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको अस्वभाविक निधन पश्चात रिक्त यो क्षेत्रका मतदाताले १४ मंसिरमा आप्mनो प्रतिनिधि चुन्नेछन् । यस क्षेत्रमा ११ जना दलीय आधारमा र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवारी मैदानमा उत्रिएका छन् । जसमा ५ महिला उम्मेदवार रहेका छन् । उम्मेदवारी दिनेमा नेकपाबाट विद्या भट्टराई, काँग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, विवेकशील नेपाली दलबाट जमुना शर्मा, साझा पार्टीबाट रजनी केसी लगायत छन् ।

Advertisement

यस क्षेत्रमा अहिलेसम्मको चुनावी तयारी हेर्दा यसपटक पनि नेकपा र काँग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सरकारलाई लोकप्रिय देखाउनका लागि नेकपा र अलोकप्रिय देखाउन काँग्रेस नेता यतिबेला नागरिकको घर, आँगन, खेतबारी सबैतिर पुगिरहेका छन् । चुनावी तयारीका लागि टोलटोलमा होस् वा क्षेत्रीय स्तरका सभा र जुलुसमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिन्छ । सरकारका मन्त्री हेरफेरका विषयले सामाजिक संजाल तातेको बेला पोखराका सडक पनि पार्टीका नारा र जुलुसले तातेका थिए ।

यस्ता जुलुस र सभामा सामान्य नागरिक भन्दा ज्यादा पार्टीका नेता र कार्यकर्ताको भीडले भरिएका हुन्छन् । युवा समुहको बाहुल्य रहेको अहिलेको नेपालको जसंख्यात्मक बनोट अनुसार सभा तथा जुलुसमा देख्न पाइएन । पार्टीका जनवर्गीय संगठनमा आवद्ध केही युवा त अवश्य होलान्, तर जुन अनुपातमा हुनुपर्ने हो, त्यो देखिँदैन । राजनीतिज्ञ युवा भनेको शरीरले होइन, सोंचले हुन्छ भन्ने गरेका छन् । तर यो भनाई तिनै प्रौढ नेताको मुखबाट मात्र सुन्न पाइन्छ । प्रौढ भनेको विगत र युवा भनेको भविश्य भएकाले भविश्यको नेपाल कस्तो बनाउने ? भनेर निर्धारण गर्न सक्ने युवा जमात राजनीतिमा देखिएन ।

Advertisement

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्याको १६–४० वर्ष उमेर समूहलाई हेर्दा कुल जनसंख्याको ४०.३५ प्रतिशत हुन आउँछ । यही उमेर समुहले नेपालको रजानीतिक परिवर्तनमा भने सक्रिय सहभागिता जनाएका थिए । परिवर्तन पश्चात जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशिल समुहको राजनीतिमा देखिएको निराशा र निश्क्रियता मुलुककै भविशयका लागि घातक मानिन्छ ।

चुनावी अभियान हेर्दा अवस्था कस्तो देखिन्छ भने यता सभा र जुलुस चलिरहेको छ, उता युवा खेलकुदमा व्यस्त छन् । अझ कतिपय त चियागफमा मस्त छन् । उनीहरुलाई छोएर गएको पार्टीको जुलुस प्रति कुनै सरोकार नै छैन । उर्जाशील युवाले चलाएको विवेकशील नेपाली दलको कार्यक्रममा रञ्जु दर्शनाले भाषण गरिरहँदा युवा नै देखिएनन् । बरु छिटपुट रुपमै सही पुराना दल नेकपा र कांग्रेसमा भरथेग युवा देखिन्थे । हुन त यो निर्वाचनले सरकार बनाउने वा गिराउने कुनै भुमिका नरहेपनि आप्mना प्रतिनिधि छान्न युवा अनिच्छुक देखिँदा मुलुकको मात्र नभइ आप्mनै भविश्यप्रति पनि युवामा कुनै सरोकार नभइरहेको प्रतित हुन्छ ।

युवा उपस्थिति किन कम ?
राजनीतिमा एउटा भनाई प्रख्यात छ ‘तिमी राजनीतिप्रति सरोकार राख वा नराख, राजनीतिले तिम्रो जीवनमा सरोकार राख्छ ।’ नेता होस् या कार्यकर्ता, जो कोहीले पनि यो भनाई बुझेको हुनुपर्छ । उनीहरु आप्mनो पार्टीमा मान्छे तान्न यस्ता अनेक उक्ति प्रयोगमा ल्याउँछन् । उनीहरुलाई के थाहा छ भने राजनीतिमा अहिले युवाको सहभागिता जति हुनुपर्ने हो, त्यति छैन । नेताका रुपमा होस्, कार्यकर्ताको रुपमा होस् या अन्य जुनकुनै हिसाबले युवा अघि आउनुपर्ने अहिलेको आवश्यकता नेताले बुझेको आँकलन गर्न सकिन्छ ।

समस्या कहाँ निर छ भने अरुका छोराछोरी आप्mनो पार्टीमा आएको कार्यकर्ता बन्दियोस्, नेता बन्न नखोजोस् र आफ्ना छोराछोरी राजनीतिको उल्झन्मा नफसुन् भन्ने उनीहरुको मनकामना छ । परिवारबाटै आफ्ना छोराछोरी टार्गेट ओरियन्टेड काममा मात्र ध्यान दिउन् भन्ने चाहना सामान्य नागरिकको मात्र होइन, नेताकै छ । परिवारबाट यही सिकेका युवा पनि राजनीतिमा अल्झिन भन्दा भविश्य बनाउन र पैसा कमाउनका लागि विदेश जान, जागिर खान र पेसा व्यवसायमा लाग्न चाहन्छन् । उनीहरुलाई राजनीति असल भए मात्र जुनकुनै पेशा, व्यवसायमा सफल हुन र भविश्य सुरक्षित बनाउन सकिन्छ भनेर सिकाउन र मनन् गर्न सिकाइएन । यति कुरा बुझेका युवा पारिवारिक र सामाजिक दायित्व पुरा गर्दा गर्दै राजनीतिमा आउन सकेका छैनन् । यसरी आउन नसकेका युवा चुनावमा भाग लिने र असल राजनीतिज्ञलाई मतदान गर्नुपर्छ भन्ने त मान्यता राख्लान्, तर परम्परादेखि परिवारमा जकडिएर बसेको पार्टीको आस्था फेर्न सक्दैनन् ।

विश्वव्यापीकरण र प्रविधिको विकासले समग्र नेपालीको अपेक्षा बढाइदिएको छ । सरकारी सेवा चुस्त दुरुस्त पार्ने र विकास निर्माणका योजना छिटो छरितो बनाउने अवसर प्रविधिले दिएपनि नोकर शाहतन्त्रले यसलाई पुरै अस्वीकार गरिदिएको छ । यहाँका कुनै पनि सरकारी कार्यालय त्यस्तो छैन, जहाँ सबै प्रक्रिया पुरा गर्दा पनि समयमै जनताको काम होस् । राजनीतिक परिवर्तन पश्चात सुशासनको अनुभुति नागरिकले गर्न पाएपनि उत्साहको ठुलै श्वास फेर्न सकिन्थ्यो भन्ने अवस्था आएको छ । इन्टरनेट क्रान्तिले होस् वा वैदेशिक रोजगारीले नेपाली युवा अहिले संसारसँग साक्षात्कार गरिरहेका छन् । तर नेपालको अवस्था देखेर उनीहरु विरक्तिएका छन् ।

निर्णय लिने बेला
केही पुराना पार्टीका नयाँ युवा नेता पार्टीका पुरानै कुरा गरेर थाकेका छैनन् । उनीहरु एकाध पार्टीबाट सांसद र मन्त्री समेत भएका आमुल परिवर्तनको साटो सामान्य टालटुल गरेर के के नै गरे भनेर हिँडिरहेका छन् । उनीहरुका कुरालाई पनि अहिलेका युवा जमातले पत्याउन छाडिसके । गत निर्वाचनमा १४ प्रतिशत प्रत्यक्षतर्फ र २.५ प्रतिशत समानुपातिकतर्फ युवा सांसद निर्वाचित भएका थिए । यसको उल्टो जनसंख्याको बनोटको अनुपातमा प्रतिनिधित्व रहने गरी समावेशी र समानुपातिक सहभागिता सुनिश्चित हुन जरुरी भइसकेको छ ।

विद्यार्थीलाई स्वतन्त्र रुपमा सोच्ने र आफुलाई आवश्यक विचार आफै निर्माण गर्न सक्ने वातावरण नरहँदासम्म नेपालको आर्थिक सामाजिक विकासको फाइदा लिन सक्ने अवस्था आउँदैन । आलोचनात्मक सोच राख्ने, आफ्ना प्रतिनिधीलाई खबरदारी गर्ने र नेतृत्वमा रहँदा नागरिकलाई केन्द्रमा राखेर निर्णय गर्न सक्ने नेतृत्व स्थापित गर्न सक्ने खालका शिक्षा प्रणाली आवश्यक भइसकेको छ ।

अहिले जस्तो नेताले आसेपासेको मात्र कुरा सुन्ने, राज्यका अवसर प्रदान गर्ने परिपाटी अन्त्य गर्नका लागि पनि युवालाई राजनीतिमा आकर्षित नगरी भाछैन । आर्थिक विकास अघि बढाउने सरकारी भाषण र कागजी योजनालाई मुर्त रुप दिने हो भने पनि कति युवालाई राजनीतिक रुपमा सचेत गराइयो र कति युवालाई उद्यमी बन्न सिकाइयो भन्ने कुराले निर्धारण गर्छ । अब युवा सहभागिता बिनाको राजनीतिक दल जरा बिनाको रुख जस्तो हुनेछ । सामाजिक न्याय र समावेशी सिद्धान्तका आधारमा बनेको नेपालको संविधानको मर्म अनुरुप युवाको सहभागिताले राजनीतिमा निर्णायक महत्व राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया