बुद्ध, गान्धी, रजनीशः शिक्षा

समाधान संवाददाता २०७६ मंसिर १३ गते १४:५९

राजेन्द्र भण्डारी

गौतम बुद्धः
नेपाली समाजले आजभन्दा करिब २६ सय वर्ष अगाडि एउटा त्यस्तो क्रान्तिकारी मानवका रुपमा गौतम बुद्धलाई प्राप्त गर्‍यो जसको हृदयमा सामाजिक भावना, सत्य र न्यायलाई प्रचार गर्ने साहस थियो । बुद्धले आफ्नो जीवनकालमा न त कुनै ग्रन्थको रचना गरे न गर्न लगाए तर पनि मानिसलाई जीवनको सही मार्ग देखाउनु नै उनको १ मात्र उद्देश्य थियो । संसारमा दःख छ, दुखको कारण छ, दुख निवारणको उपाय पनि छ । यही नै बुद्ध धर्म र दर्शनको मूल सार हो । वाणी, सङ्कल्प, दृष्टि, कर्म, जीविका, श्रम, चिन्तन र ज्ञानको शुद्धता नै दुख निवारणको उत्तम मार्ग हो । यही नै तप हो ।

१६ वर्षको उमेरमा उत्सवका साथ विवाह, २९ वर्षको उमेरमा सांसारिक सुखको त्याग, ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध बन्नु र ४५ वर्षको उमेरमा अनन्त करुणा तथा मैत्रीका साथ मानिसमाथि अनुकम्पा गरेर जनजनमा धम्म सिकाउँदै हिँड्नु र अन्तमा ८० वर्षको उमेरमा सारनाथमा निर्वाण प्राप्त गर्नु बुद्धको समग्र जीवनचक्र थियो । मानिस जीवित छँदै राग, द्धेष र मोहबाट मुक्त हुन सकेमा निर्वाण प्राप्त गर्न सकिन्छ भन्ने दर्शन बुद्धले आफ्नो जीवनकालमा नै प्रमाणित गरिदिएका छन् । बैदिक मान्यताबाट सिर्जित कर्मकाण्डमा हिंसाको विभत्सता र पुरोहितको अहंकारको बीचमा बुद्धको अहिंसा, विनय, दया, करुणामा आधारित दर्शन प्रारम्भ भएको मानिन्छ । बुद्ध अतीतका आस्था, वर्तमानका विश्वास र भविष्यका मार्ग दर्शक हुन् ।

Advertisement

बुद्धको शैक्षिक धारणाः
बुद्धको समयदेखि नै आधुनिक शिक्षाको प्रारम्भ भएको मानिन्छ । बुद्धकालीन शिक्षा चार आर्य सत्यसँग सम्बन्धित रहेको पाइन्छ । प्रज्ञा, शील र समाधि क्षेत्रमा अष्ठ मार्ग प्राप्ति गराउनु नै बुद्ध शिक्षाको लक्ष्य हो । बुद्धले शिक्षाको संरचनामा प्राथमिक शिक्षा, उच्च शिक्षा र भिक्षु शिक्षा गरी ३ तहमा शिक्षालाई विभाजन गरेका थिए । उनले शिक्षाको पाठ्यक्रम निर्माण गर्नुदेखि मोक्ष प्राप्त गर्ने कार्यलाई शिक्षामा जोडेका थिए । उनले शिक्षामा बौद्ध धर्मको प्रसार गर्नुको साथै व्यक्तित्वका सर्वाङ्गीण विकासमा नैतिक तथा चारित्रिक पक्षलाई विशेष जोडका साथ उठाएको देखिन्छ । बौद्ध दर्शनले शैक्षिक प्रयोगका रुपमा शिक्षाको उद्देश्य, शैक्षिक प्रक्रिया र विद्यालय तथा शिक्षक साथै विद्यार्थीको भूमिकाका सम्बन्धमा फराकिलो व्याख्या गरेको र मानवीय जीवनको वास्ताविक व्यवहार दुःख र सुखलाई अँगालेको पाइन्छ । विवेकको माध्यमबाट सही कुरा सिक्नुलाई बुद्धले शिक्षा मानेका छन् ।

बौद्ध दर्शनमा व्यक्तिको अनुभवलाई ज्ञानको प्रमुख स्रोत मानिएको र ज्ञान व्यक्तिको अनुभवबाट प्राप्त हुन्छ भनिएको छ । शिष्यलाई बाल्य अवस्थादेखि नै बुद्ध वचन र त्रिपिटकबाट निर्देशित नीति नियमलाई जीवनका साधना तुल्याउनु, गुरुकुल पद्धतिद्वारा नै शिक्षा प्रदान गरी व्यक्तिलाई सत्य देखाउनु र सत्यको पाठ सिकाउनु बुद्ध शिक्षामा गरिएको अभ्यास हो

Advertisement

महात्मा गान्धी
निर्भय, सत्य र अहिंसा नै गान्धीका अमर आदर्श हुन् । उनको यही जीवन दर्शनका आयामले भारतीय समाजमा एउटा नयाँ क्रान्तिको जन्म मात्र गराएन भारतले स्वतन्त्रता पनि प्राप्त गर्‍यो । विश्वलाई हिंसाबाट मुक्त बनाउन सकिन्छ र अहिंसा नै समस्या समाधानको उत्तम विकल्प हो भन्ने सन्देश दिँदै हिंसाको विरुद्धमा एक अहिंसाको रश्मी सारा संसारमा फैलाउनसफल भएका थिए । उनले जनताका नागरिक अधिकार र स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई नयाँ शैली र ढङ्गबाट प्रेरित गरे । गान्धी एउटा यस्ता मानव हुन् जसले सबै परिस्थितिमा अहिंसा र सत्यको पालन जीवनको अन्तिम समयसम्म गरिरहे र सबैलाई उत्साहित समेत गरे । गान्धीको लागि सत्य नै सर्वश्रेष्ठ सिद्धान्त हो । सत्य नै इश्वर हो । विचार र कार्यमा सत्य प्राप्त गर्नु नै इश्वर प्राप्ति गर्नु हो । तसर्थ सबैका लागि सत्य बुझ्न र खोज्न आवश्यक छ । संसारले उनको व्यक्तित्वलाई आदर्शवादी, प्रयोगवादी र प्र्रकृतिवादी व्यक्तित्वको रुपमा मूल्यांकन गरेको छ ।

गान्धीको शैक्षिक धारणाः
गान्धीले शिक्षालाई आफ्ना दर्शनका आधार स्तम्भभित्र राखेर व्यावहारिकतामा जोड दिएका थिए । औपनिवेशिकताका विरुद्धमा शिक्षालाई अगाडि सार्दै देश अनुकूलको शिक्षा, सीपमूलक र कार्यमूलक शिक्षामा उनको विशेष जोड थियो । गान्धीले भनेका छन्, ‘शिक्षाको माध्यमबाट बालक र मानिसको शरीर, मस्तिष्क र आत्माको सर्वांगीण विकास हुन्छ ।’ गान्धीले बालबालिकाका लागि शिक्षा हेड, ह्यान्ड र हर्टमा आधारित हुनुपर्ने साथै पढ्नु, लेख्नु र गणितीय ज्ञानमा विशेष जोड दिएका छन् । गान्धीले शिक्षालाई चारित्रिक एवम् नैतिक शिक्षासँगै आध्यात्मिक विकासमा जोड दिएर शिक्षालाई आदर्शवादसँग जोडेका छन् । गान्धीले शिक्षामा सांस्कृतिक तथा नागरिकताको विकास, सर्वोदय शिक्षा साथै व्यवासायिक एवं आर्थिक विकासमा जोड दिएर प्रयोजनवादी शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई सारेका देखिन्छ ।

गान्धीले शिक्षाको माध्यमबाट बालबालिकाको शारीरिक एवं मानसिक विकासमा जोड दिएर प्रकृतिवादसँग शिक्षालाई मिसाएका छन् । गान्धीले शिक्षालाई बालबालिकाको तत्कालीन आधारभूत आवश्यकता पूरा गर्न सक्षम बनाउनु, बालबालिका आफ्नो संस्कृतिलाई व्यक्त गर्न सक्ने गराउनु, तत्कालीन उद्धेश्य र मानिसलाई अन्तिम वास्तविकताको अनुभव, इश्वर र आत्मानुभूतिको ज्ञान गराउनुपर्नेमा जोड दिँदै शिक्षामा दीर्घकालीन उद्देश्य समावेश गराएका छन् । शिक्षाको माध्यमबाट शोषणविहीन समाजको निर्माण र मानिसको व्यवहारमा परिवर्तन हुनुपर्र्छ । यदि शिक्षाको प्रयोगबाट शोषणविहीन समाजको अन्त्य हुँदैन र मानिसको व्यवहारमा पनि परिवर्तन आँउदैन भने त्यो कदापी शिक्षा हुन सक्दैन । यही नै गान्धीको शिक्षाको मूल मन्त्र हो ।

आचार्य रजनीशः
आचार्य रजनीश भारतीय भूमिमा सृजना भएका सबैभन्दा मौलिक, ऊर्वर र स्पष्ट साथै सर्वाधिक सृजनशील विचारक हुन् । उर्जा, उत्प्रेरणा, स्मरण र उर्वरताको अर्को नाम हो आचार्य रजनीश ।

चन्द्रमोहन जैनबाट सन् ११ डिसेम्बर १९३१ मा उदय भई अनेकौं नाम र उपनामबाट विभूषित भइ सन् १९९० जनबरी १९ मा सदाको लागि अस्त भएका थिए । आचार्य रजनीश आफ्नो जन्म र मृत्युको बन्द र खुल्ला आयाममा आफ्नो कुनै सन्देश, सिद्धान्त र दर्शन तथा चिन्तन नभएको मात्र एउटा क्रान्तिकारी रुपान्तरणको लागि सन्देश, विचार र सिद्धान्त भएको बताएका पाइन्छ ।

हरेक मानवीय संवेदनामा उनी कहिले प्राकृतिक बने त कहिले अप्राकृतिक बने, कहीं समर्थक बने त कहीं विद्रोही बनेर रहस्यदर्शी र आध्यात्मिक गुरुको रुपमा फरक पहिचान बनाउन सफल भएका थिए । आचार्य रजनीश १ शान्त शक्ति हुन् । सुगन्धित समाधी हुन् । आचार्य रजनीश मानवीय चेतनाको शीतल अभिव्यक्ति हुन् । प्रेम, करुणा, ध्यान सम्भोग, बोध, जाँगर एवम् उत्सवको सन्देश मानव समुदायलाई प्राकृतिक भाषामा मात्र दिएर गएनन, वर्तमानलाई अपनाउनको लागि सविनय अनुरोध समेत गरेका छन् ।

आचार्य रजनीशको शैक्षिक धारणाः
शिक्षारुपी जगको इतिहास जर्जर र वर्तमान गलत भएको कारणबाट प्रतिस्पर्धा, प्रतियोगिता र महत्वाकांक्षाको तिव्रता समाजमा हुरी झैं चलिरहेको छ । परिणामस्वरुप व्यक्ति, परिवार, समाज र राष्ट्रलाई लडाई, संघर्ष र कलह साथै द्वन्द्वले अक्रान्त पार्नुको साथै गलत संस्कारयुक्त रोगी मानिसको जन्म गराएको छ । वर्तमान शिक्षाको स्वरुपबाट न विद्यार्थी सन्तुष्ट छन्, न अभिभावक विश्वस्त छन्, न राष्ट्र नै आशावादी छ । स्वयम् शिक्षक पनि छैन । तसर्थ यो शिक्षा प्रणालीको बारेमा आमूल परिवर्तनका साथ गहिराइमा पुगी बदल्न आवश्यक छ ।

जन्म प्राप्त हुन्छ । तर जीवन प्राप्त हुँदैन जीवनलाई निर्माण गरिनुपर्छ । जीवन निर्माणको कला सिकाउने १ मात्र माध्यम शिक्षा हो । तसर्थ वर्तमानलाई जगाउने र जीवनको कला सिकाउने शिक्षामा जोड दिनुपर्छ ता कि भविष्य र अतीतलाई जोड्ने शिक्षा हुुनु हँदैन भन्ने कुरामा आचार्य रजनीशको स्पष्ट मान्यता देखिन्छ । महत्वाकांक्षा र प्रतिस्पर्धाको विरुद्धमा आत्मविकासको क्रान्ति गर्न सक्ने अबको शिक्षा हुनुपर्छ । शिक्षामा एउटा ठूलै क्रान्तिको आवश्यकता छ, जसले शिक्षाको पुरातन ढाँचालाई आमूल रुपमा भत्काएर प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण सहितको नवीन संरचनाको शुभारम्भ गरिनुपर्छ । जुन ढाँचाको मूल्य, मान्यता र वातावरण नितान्त फरक हुनुपर्छ । शिक्षा अगाडि पछाडि हुने गरेर दौडने महत्वाकांक्षाको दौड होइन यो सँगसगै सहकार्य गरेर खेल्ने मैत्रीपूर्ण खेल हो । जहाँ जीत र हार शून्य हुन्छ, केवल मित्रता मात्र हुन्छ ।

उनका अनुसार शिक्षा सम्मान र अपमानसँग जोडिएको पाठ्यपुस्तक पढ्ने होइन यो सम्भावसँग गाँसिएको पाठ्यक्रम हो । शिक्षाले व्यक्तिलाई तुलना होइन सबै अतुलनीय र प्रर्याप्त पनि छन् भन्ने सन्देश दिन सक्नुपर्छ । शिक्षाले प्रेम सिकाओस्, विनम्र बनाओस् र शान्ति निर्माण गराओस् तब मात्र नयाँ बालबालिकाको उदय हुन सक्छ । यदि यस्तो हुन सक्यो भने एक नयाँ सुवास भएको संसारको निर्माण हुनेछ । जहाँ धनीको साथै ध्यानी, समृद्धसँगै शान्त र पदार्थको मालिकको साथ परमात्मालाई आमन्त्रण गरिएको हुन्छ । शिक्षाको माध्यमबाट मानवको जीवनमा प्रेम, विनम्र र शान्तिको आत्मजागरण साथै चैतन्यको आयोजना गर्न सकिएमा शिक्षा सारा जगतका लागि एक अद्भुत क्रान्ति बन्न सफल हुनेछ । सबै बालबालिकामा प्रेम जगाउनुहोस् र जीवनप्रति आनन्द सृजना गराउनुहोस् । जहाँबाट मानव जीउनको लागि एक नयाँ दृष्टि उपलब्ध हुनेछ ।

निष्कर्षः
शिक्षा कुनै पनि समाजको ऐना हो । शिक्षाले राष्ट्रको दिशा तय गर्ने भएको हुँदा शिक्षा राष्ट्र र राष्ट्रियतासँग सम्बन्धित हुनुपर्छ । बौद्धिक एवम् शैक्षिक सुधारकले निर्देशित गरेको र दुरदृष्टि अपनाइएको शिक्षा हुनुपर्छ । शिक्षाले उत्कृष्टताको प्रणालीलाई अन्त्य गरी समानताको व्यवहारलाई जोडने हुुनुपर्छ । जवाफदेही होइन, उत्तरदायित्व वहन गर्न सक्ने बनाउनुपर्छ । अध्ययन, ज्ञान र खोज तथा नैतिक आचारणलाई उच्च प्राथमिकता प्रदान गरिएको शिक्षा आजको आवश्यकता हो । शिक्षाले सधै सम्भावना र सपनाको मात्र जन्म गराउँदैन त्यसलाई सम्भव तथा साकार बनाउने मार्गको शिलान्यास पनि गराउँछ ।

शिक्षा बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराई उनीहरुका मस्तिष्कमा समानता र स्वतन्त्रताका भावनालाई उब्जाउन सक्ने मानवता र प्रकृति केन्द्रित हुनुपर्छ । शिक्षा विद्यालय र विश्वविद्यालय उत्र्तीण गरेपछि विदेशी दुतावास र म्यान पावर कम्पनीको गेटमा भिसाको प्रतीक्षामा उभिने र अरबका मरुभूमि र मलेसियाका जंगलमा सपना सजाउने जनशक्ति उत्पादनमा केन्द्रित हुनु हुँदैन । २१ औं शताब्दीको शिक्षा मानवका आधारभूत आवश्यकताको स्व–व्यवस्थापन गर्न सक्ने र दूर दराजमा छरिएर रहेका सम्भावनाका थुप्रै अवसरलाई प्रविधिको प्रयोग गरी त्यसको सदुपयोग गर्न सक्ने हुनुपर्छ । शिक्षा आफ्नै भूगोलमा पसिना चुहाइ सित्तैमा पाएको १० डलर भन्दा मिहेनत गरेर कमाएको दस रुपैयाँ प्यारो र मिठो हुन्छ भन्ने ज्ञान दिने हुन जरुरी छ । यस्तो शिक्षा नै आजको आवश्यकता हो । यसको उद्गम स्थल विद्यालयको कक्षा कोठा नैै हो ।

तपाईको प्रतिक्रिया