गाउँ ब्लक पुर्जा वितरण

समाधान संवाददाता २०७६ मंसिर १५ गते १३:२२

कृष्ण न्यौपाने
दमौली

नापी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकास्थित विभिन्न वडाका स्थानीयवासीलाई गाउँ ब्लक पुर्जा वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका १, २ र ३ का ८५ जना स्थानीयलाई कार्यालयले गाउँ ब्लक पुर्जा वितरण गरेको हो । वर्षौदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

गाउँ ब्लक पुर्जा पाउनेमध्ये सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिका १ का ४० जना स्थानीय छन् । सर्वसाधारणको सहजतालाई ध्यानमा राखी गाउँमै पुगेर त्यहाँका स्थानीयवासी गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको आचार्यले बताए । ‘ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पुर्जा वितरण गरिएको हो,’ आचार्यले भने ।

Advertisement

नापी कार्यालयले केही महीना अगाडि आँबुखैरेनी गाउँपालिका ४ भाँगेका २३ र आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कका ३३ जनालाई पनि ब्लक पुर्जा वितरण गरेको थियो । पुर्जा पाएपछि स्थानीय खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशवण्डा गर्नबाट वञ्चित थिए ।

२०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण थालेको आचार्यले जानकारी दिए । तनहुँमा २०७१ सालदेखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक छन् । गाउँ ब्लक अन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पुर्जा बनाउन सक्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया