१३ औं सागः ब्याडमिन्टनमा नेपाल सेमिफाइनमा

समाधान संवाददाता २०७६ मंसिर १६ गते १३:१५

महिला टिम इभेन्टतर्फ बंगलादेशमाथि जित निकाल्दै सेमिफाइनल प्रवेश गरेपछि खुसी मनाउँदै नेपाली महिला ब्याडमिन्टन खेलाडी । तस्बिरः युनिश गुरुङ समाधान

विकास रोकामगर
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै ब्याडमिन्टनबाट नेपालले कुनै पनि २ पदक पक्का गरेको छ ।

Advertisement

आइतबार बिहान पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको टिम इभेन्टतर्फको खेलमा पुरुष टिमले भुटान र महिला टिमले बंगलादेशलाई जित्दै सेमिफाइनल स्थान पक्का गरेका हुन् ।

१३ औं साग अन्तर्गत पोखरामा भएको पहिलो खेल अन्तर्गत ब्याडमिन्टन खेल भएको थियो । पुरुष टिम इभेन्टतर्फको पहिलो खेलमा नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१–६, २१–९ को सोझो सेटले पराजित गरे । प्रतिष्पर्धामा नेपाली खेलाडी दीपेश धामीले भुटानका नैदुप दोर्जे २१–१३, २१–१४ सोझो सेटमा सहज जित निकाले । प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुलमाथि २१–१२, २१–५ को अंकमा फराकिलो जित निकालेसँगै पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीच खेल भएको थियो । खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१÷१८, १५÷२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरिन् । जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २–० को सोझो जित निकालेकी छिन् । उनले पहिलो सेटमा २१–१८ र दोस्रो सेटमा २२–२० अंकले जित निकालिन् ।

दोस्रोमा खेलमा पाकिस्तानको विजयी सुरुआत
ब्याडमिन्टन अन्तर्गत दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । पोखरा ब्याडमिन्टन कोर्टमा भएको पुरुष टिम इभेन्टतर्फ पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पाकिस्तानकी महुर सहजादले माल्दिभ्सकी अमिनाथ नबिहा हअब्दुल राज्जाकलाई पहिलो सेटमा २१–१९ र दोस्रो सेटमा २१–१४ अंकले पराजित गरेकी हुन् । पाकिस्तानकै पलवासा बासिरले माल्दिभ्सकी नीला अहमिदसँग पहिलो सेटमा १६–२१ अंकमा हार व्यहोरेकी थिइन् ।

तर, दोस्रो र तेस्रो खेलमा आफूलाई सुधार गर्दै बासिरले जित आफ्नो पोल्टामा पारिन् । उनले दोस्रो सेटमा दोस्रो सेटमा २३–२१ र तेस्रो सेटमा २१–१७ अंक अहमिदमाथि जित निकालिन् ।

त्यस्तै पाकिस्तानकै गाज्जिला सिद्धिकीले माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल राजाकलाई पराजित गरिन् । उनले नबाहालाई पहिलो सेटमा २१–१५ र दोस्रो सेटमा पनि सोही अंक २१–१५ मा रोक्दै सहज जीत निकालिन् ।

आइतबार नै भएको बंगलादेश र पाकिस्तानबीच भएको ब्याडमिन्टन खेलमा पुरुष टिम इभेन्ट खेलमा पाकिस्तानले ३–० को सहज जीत निकालेको छ । पोखरास्थित ब्याडमिन्ट कोर्ट नम्बर २ मा भएको खेलमा पाकिस्तानका अविस जाहिदले बंगलादेशका सलमान खान मोहम्मदमाथि जित निकाले । उनले जाहिदले पहिलो सेटमा सलमानलाई २१–१८ र दोस्रो सेटमा २१–१४ मै रोक्न सफल भए ।

पाकिस्तानका खेलाडी अली मुरादले बंगलादेशका खेलाडी गौरव सिंघालाई पराजित गरे । उनले सिंघामाथि पहिलो सेटमा २१–११ र दोस्रो सेटमा २२–२० को अंकसहित जित आफ्नो पोल्टामा दर्ता गरेका हुन् । पाकिस्तानका मोहम्मद मकिट टहिरले बंगलादेशका खेलाडी सायद सकर सिबगाट उल्लाहमाथि पहिलो सेट र दोस्रो सेटमा सम्मान अंक २१–१७ सहित सहज जित निकाले ।

तपाईको प्रतिक्रिया