डेब्यु खेलमै अञ्जलीको विश्व कीर्तिमान

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:०३

विकास रोकामगर
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबारदेखि पोखरामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध १० विकेटको सानदार जित निकालेको छ ।

टस हारेर बलिङमा उत्रिएको नेपालले प्रभावशाली प्रदर्शन गरेको हो । जसमा माल्दिभ्सले नेपाललाई १७ रनको लक्ष्य दिएको थियो । तर, खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जम्मा ५ बलमै बिना विकेट लक्ष्य पूरा गर्दै विजयी सुरुआत गर्‍यो ।

Advertisement

डेब्यु खेलमै कीर्तिमान
नेपाली महिला टोलीबाट ‘डेब्यु’ गर्दैै टि २० प्रतियोगितामा सहभागी बैतडीकी अञ्जली चन्दले उत्कृष्ट प्रदर्शन गरिन् । सोमबार पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा माल्दिभ्सविरुद भएको खेलमा उनले उत्कृष्ट प्रदर्शनमात्रै गरिनन्, विश्व कीर्तिमान नै बनाइन् । उनी प्रतियोगिताको म्यान अफ दी म्याच पनि घोषित भइन् ।

प्रतियोगितामा अञ्जलीले १३ बल खेलिन् । २ ओभर १ बलमा उनले कुनै पनि रनबिना ६ विकेट लिइन् । यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक हो । डेब्यु खेलमै विश्व कीर्तिमान कायम गरेपश्चात उनले भनिन्, ‘यति राम्रो गर्न सक्छु भन्ने लागेकै थिएन । तर, चान्स पाएँ भने १÷२ विकेटसम्म त कसरी नल्याउँला र भन्ने लागेको थियो ।’ खेलमा ६ विकेटसहित विश्व कीर्तिमान कायम गरेकी अञ्जलीले आफूलाई नसोचेको खुसी लागेको प्रतिक्रिया दिइन् ।

Advertisement

२५ वर्षीय अञ्जली अहिले एपिएफबाट ‘कन्ट्र्याक्ट’मा खेल्दै छिन् । सानोमा गाउँ(बैतडी)मै दाइहरु क्रिकेट खेलेको देखेर लहै लहैमा क्रिकेटमा लागेको बताउने उनी अब भने क्रिकेट अभिन्न अंग भइसकेको बताउँछिन् । ‘मलाई क्रिकेटमा लागिरहन पनि घर र माइत दुवैबाट राम्रो सहयोग मिलेको छ । परिवारबाट राम्रो सहयोग नभएको भए कसरी आज यति राम्रो खेल्न सक्थें र ?,’ उनले भनिन् ।

हातमा बल घुमाउँदै दाइहरुसँग क्रिकेट क्रिजमा होमिन थालेको अञ्जलीले ६ वर्षदेखि नै हो । त्यसयता उनले १ पटक यु–१९ र १ पटक कोरियामा भएको एसियन गेम्समात्रै खेलेकी छिन् । ४ वर्षअघि बिहे गरेर केही समय उनी खेलबाट टाढा भइन् । भन्छिन्, ‘४ वर्षपछि सागमै हो म फेरि खेल्न थालेको पनि ।’

अञ्जलीले माल्दिभ्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरिन् । तर, माल्दिभ्स साग अन्तर्गतको महिला क्रिकेट समूहमा सबैभन्दा कमजोर टिम मानिन्छ । त्यस कारण अर्को खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने उनलाई राम्रैसँग थाहा छ । ‘माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गरेर पनि म सन्तुष्ट छैन । आफ्नो डेब्यु म्याचमा राम्रो गरें भनेरमात्रै खुसी लागेको हो,’ भन्छिन्, ‘मेरो बलिङको पाटो यही नै हो । आजको खेलमा जसरी आफ्नो सक्दो बेस्ट दिएँ । त्यसरी नै प्रदर्शन गर्ने सोच छ ।’

अञ्जली नेपाली महिला क्रिकेटकी ‘हिडन ट्रेजर’ ठहरिइन् । उनले सोमबार पोखरा रंगशालामा उत्कृष्ट गरेसँगै सबैको आँखामा परेकी छिन् । तर, उनी भने क्रिकेट भविष्य नभएको बताउँछिन् । ‘अहिले एपिएफबाट कन्ट्र्याक्टमा खेलिरहेकी छु । अब त्यहाँ पनि कहिलेसम्म हो थाहा छैन,’ अञ्जली दुख पोख्छिन्, ‘त्यै हो आफू कहिलेसम्म खेल्न सक्छु भन्ने नै ठूलो कुरा हो ।’

१३ औं साग अन्तर्गत पोखरामा हुने महिला क्रिकेट प्रतियोगितामा अब अर्को खेलमा नेपालले बुधबार बंगलादेशविरुद्ध भिड्ने छ । बंगलादेश टेस्ट मान्यता प्राप्त देश हो भने नेपाल एसोसियटमात्रै हो ।

तपाईको प्रतिक्रिया