‘पुतली बाजे’ले पाए नागरिकता

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:०५

नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापनका शाखाका अधिकृत अरुण सापकोटा लगायतले स्मिथलाई नागरिकता हस्तान्तरण गर्दै । तस्बिर सौजन्यः सुनील उलक

समाधान संवाददाता
पोखरा

पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन फिलिप स्मिथले सम्मानार्थ नागरिकता पाएका छन् । सोमबार गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले उनलाई काठमाडौंमा सम्मानार्थ नागरिकता दिएको हो । शाखा अधिकृत अरुण सापकोटाले ०१÷०७६÷०७७ नम्बरको नागरिकता उनको नाममा जारी गरेका छन् ।

Advertisement

नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले लामोसमयदेखि नेपालमै बसेर पुतली अध्ययन अनुसन्धानमा खटिएका स्मिथलाई सम्मानार्थ नागरिकता दिने निर्णय गरेको थियो । निर्णयानुसार नै स्मिथलाई नागरिकता जारी गरिएको शाखा अधिकृत सापकोटाले जानकारी दिए ।

स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत् शिक्षण पेसाका लागि नेपाल आएका थिए । मिसनमार्फत् पोखरा, गोरखा र काठमाडौंमा उनले शिक्षण गरिरहँदा पुतलीबारे अनुसन्धान एवं संग्रह गर्थे ।

Advertisement

सोही क्रममा गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमासमेत उनले पढाए । त्यहाँ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए ।

सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौंमा प्रकृति विज्ञान संग्रहालयको लागि स्मिथले १ दशक पुतली संग्रहको काम गरे । उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेको बताइन्छ । अध्ययन र अनुसन्धानसँगै उनले विभिन्न प्रकाशनसमेत त्यसक्रममा गरे । उनको ३० वटा भन्दा बढी वैज्ञानिक लेख र १० वटा पुस्तक प्रकाशन भएका छन् ।

स्मिथ पोखरा महानगरपालिका १८ ग्यारजातीमा बस्छन् । उनीसँग लामो सयम काम गर्ने १ परिचितको नामबाट घर जग्गा किनेर बस्दै आएका हुन् । उनी बसोबास गर्दै आइरहेको ठेगाना गृहले नागरिकतामा उल्लेख गरेको छ ।

नागरिकता ऐन, २०६३ अनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान छ । नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् ।

तपाईको प्रतिक्रिया