गण्डकीका पाँचै स्थानमा नेकपा

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:१८

समाधान संवाददाता
पोखरा

उपचुनाव भएका गण्डकी प्रदेशका पाँचै स्थानमा नेकपा विजयी भएको छ । यो उपनिर्वाचनमा प्रमुख विपक्षी कांग्रेसले गण्डकी प्रदेशमा खाता नै खोल्न सकेन ।

संघीय सांसदका लागि उपचुनाव भएको एकमात्र क्षेत्र कास्की २ मा नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारी विजयी भइन् । उनले नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पछि पारिन् ।

Advertisement

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे । शाहीले ११ हजार २ सय ३५ र शेरचनले ९ हजार १ सय ३८ मत पाएका थिए । यहाँ २ जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । विजयी भएपछि शाहीले विकासमा पछाडि परेको पश्चिम क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता गरे । उनले जीतले आफूलाई खुसी र जिम्मेवार दुवै बनाएको उल्लेख गरे । ‘जनताका आधारभूत आवश्यकतासँगै विकासका लागि काम गर्छु ।’

बागलुङकै बडिगाड गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाको समर्थनसमेत प्राप्त गरेका शेरचन ७ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत पाएका थिए ।

Advertisement

उपचुनाव भएको लमजुङको सुन्दरबजार नगरपालिका २ अध्यक्ष पनि नेकपाले नै जितेको छ । नेकपाका उम्मेदवार नवीनकुमार श्रेष्ठ ९ सय ९३ मत पाएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४ सय ८२ मत पाए । नवलपुरको बौदिकाली गाउँपालिका ५ मा नेकपाका खिमबहादुर खरूमगर चुनिएका छन् । खिमबहादुरले नेपाली कांग्रेसका तुलबहादुर रानालाई १ सय ३६ मतले पछि पारे ।

तपाईको प्रतिक्रिया