रोटरीले पुर्‍यायो तालबेसीका घरमा धारा

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:५२

समाधान संवाददाता, पोखरा

रुपा गाउँपालिकाको तालबेसीका ७२ परिवारको प्रत्येक घरमा धारा जडान भएको छ । गाउँपालिकाको १ घर १ धारा योजना अनुसार रोटरी क्लब अफ पोखरा मिडटाउनले घरघरै धारा जडान गरेको हो । क्लबको पहलमा बनेका धारामध्ये २२ वटा भने पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पनि छन् ।

खानेपानी योजनाका लागि रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्टमार्फत रोटरी क्लब अफ यामातो माहारोबा जापानले ४३ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । उपभोक्ताले ३ हजार रुपैयाँका दरले २ लाख १६ हजार रुपैयाँ संकलन गरेका थिए । खानेपानी योजनाका लागि रोटरी क्लब अफ पोखरा मिडटाउनले सहजीकरण र समन्वय गरेको थियो ।

Advertisement

तालबेसीका घरहरुमा खानेपानी पुर्‍याउन बयरेकुना, नाम्लीखोला, घैबिरौटा, माकुरीखोला, मझुवा खोला, दबदबे, झाँक्री खोलासमेत गरी ७ वटा मुहानको पानी संकलन गरिएको हो । योजना अन्तर्गत २०÷२० घनमिटरका टंकीसमेत निर्माण गरिएको छ । स्थानीयका घरका अलावा रुपाज्योति माविमा पनि खानेपानी सुविधा पुर्‍याइएको छ । विद्यालयमा छुट्टै टंकी र ३ धारा निर्माण गरिएको छ । घरघरै धारा पुर्‍याउने आफूहरुको अभियान अन्तर्गत आएको योजनाका लागि प्राविधिक सहयोग उपलब्ध गराएको जानकारी रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले दिएका छन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझा, जापानी पाहुनाहरु योसिइ तोरु, योसिदा अकिरा, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष प्रा. विनोद हेज्युले खानेपानी योजनाको आइतबार उद्घाटन गरेका थिए ।

Advertisement

खानेपानी योजना उद्घाटनका क्रममा जापानको रोटरी क्लब जापानका पदाधिकारी तथा सदस्य, रोटरी क्लब अफ पोखरा मिडटाउनका पदाधिकारी र सदस्यहरु तथा रुपा ६ का वडाध्यक्ष नारायण गुरुङ लगायत सहभागी भएका थिए । स्थानीय बासिन्दाले बाजागाजा बजाएर उत्सव मनाएका थिए ।

रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष प्रा. विनोद हेज्युको अध्यक्षतामा भएको खानेपानी उद्घाटन कार्यक्रममा रुपाज्योति माविका प्रअ मणिराज कँडेल, जापानी पाहुना योसिइ तोरु, रोटरीकी एसिस्टेन्ड गभर्नर बिनु कुँवर, डेगेन्द्र गुरुङ, लगायतले शुभकामना मन्तव्य राखेका थिए । रोटरी क्लब अफ पोखरा मिडटाउनका तर्फबाट खानेपानी योजनाका संयोजक श्रीमान् गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया