धम्काउँदै रकम असुल्दै घुमुवा प्रहरी

समाधान संवाददाता २०७६ मंसिर १८ गते १३:०२

सुरेशराज अधिकारी
पोखरा

सुरक्षाको अवस्थाबारे गोप्य सूचना संकलन र अनुसन्धानका लागि खटिने नेपाल प्रहरीका जुनियर १ अधिकृतले लेकसाडका डान्सबारबाट मासिक रकम उठाउने गरेको पाइएको छ ।

प्रहरीको पोसाक लगाउँदा सूचना पाउन कठिन हुने भएकाले नेपाल प्रहरीले सादा पोसाकमा जुनियर अधिकृत र हवल्दार र जवानलाई फिल्डमा खटाउँछ । वडा प्रहरी कार्यालय बैदाम मातहत सादा पोसाकमा खटिने प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर रोकाले व्यवसायीसँग रकम असुल्दै आएका हुन् । उनले व्यवसायीसँग रकम मागेको अडियो र रकम लिँदै गरेको भिडियो समाधानलाई प्राप्त भएको छ । उनी बैदाम क्षेत्रमा घुमुवाका इन्चार्ज हुन् ।

Advertisement

साँझ परेपछि सञ्चालनमा आउने दोहोरी साँझ, बार, क्याफे, रात्रि क्लब, यौन व्यसायीसँग समेत सादा पोसाकका प्रहरीले धम्काउँदै मासिक रकम असुल्ने गरेका छन् । यसरी उठाएको रकम जिल्ला र प्रदेशका उच्च अधिकारीसम्म पुग्ने गरेको प्रहरी स्रोतकै दाबी छ । अबेरसम्म खोल्दा पनि हस्तक्षेप नगर्ने र अन्य काममा पनि सहजीकरण गरिदिने भन्दै सादा पोसाकका प्रहरीले मासिक रकम उठाउँदै आएको व्यवसायीको भनाइ छ ।

प्राप्त भिडियोमा १ डान्सबारका कर्मचारीले असई रोकालाई रकम हातमा राखिदिएको र रोकाले खल्तीमा राखेर लुसुक्क फर्केको प्रष्ट देखिएको छ । त्यस अघि उनले फोन गरेर कहिले, कतिबेला र कहाँ आउने भनेर सोधेको अडियोमा प्रस्ट सुनिएको छ । अघिल्लो महिनाको समेत बाँकी रहेकाले २ महिनाको एकैपटक मिलाएर दिन भन्दै रोकाले यो कुरा कसैसँग नगर्न आग्रहसमेत आग्रह गरेका छन् ।

Advertisement

असइ रोका विगत १ दशकदेखि नै सादा पोसाकमा खटिने गरेको पाइएको छ । बीचको केही अवधि रोकाविरुद्ध गुनासो बढेपछि उनलाई नेपाल प्रहरीकै सशस्त्र गणमा पठाइएको थियो । तर सेटिङ मिलाएर पुन बैदाम क्षेत्रमै घुमुवा इन्चार्जको जिम्मेवारीका साथ फर्केको प्रहरी स्रोत नै बताउँछ ।

रोकाको अरु काम पनि शंकास्पद
जिल्ला प्रहरी कार्यालय कास्की २ मा निर्वाचन सुरक्षामा जुटिरहेका बेला वडा प्रहरी कार्यालय बैदाम मातहतकै क्षेत्रमा बम विष्फोटका घटना भए । उम्मेदवार मनोनयनका दिन कात्तिक २१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै टुरिस्ट बसपार्कमा बम पड्क्यो । मंसिर ९ मा पोखरा ३३ का वडाध्यक्ष शिव आचार्यको बिरौटास्थित घरको पार्किङमा अर्को बम पड्क्यो । यी २ घटनापछि जिल्ला नेतृत्वले रोकालाई सचेत गराएको थियो । तर सचेत गराइसकेपछि पनि नेकपाको चुनावी सभा भइरहेका बेला मंसिर ११ मा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा झन् ठूलो आवाजका साथ बम पड्क्यो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रम नजिकै यस्तो घटना भएपछि प्रहरीको सूचना प्रणाली र सुक्ष्म निगरानीमाथि नै प्रश्न उब्जेको थियो । त्यतिमात्र होइन, चुनावको दिन पोखराकै नयाँबजारस्थित नवप्रभात मावि मतदानस्थल परिसरमै बम पड्क्यो । चुनावी सुरक्षामै सम्पूर्ण जिल्ला प्रहरीले सम्पूर्ण शक्ति लगाइरहेका बेला भएको यो घटना प्रहरीका लागि ठूलै चुनौती सावित भयो । यी सबै घटनाका बारेमा सुक्ष्म अनुसन्धान गर्न प्रहरी नेतृत्वले असई रोकालाई खटाए पनि उनले कुनै सूचना ल्याउन सकेनन् । यसै कारण बैदाम र जिल्लाको नेतृत्व उनीप्रति असन्तुष्ट थियो ।

कारबाही प्रक्रिया सुरुः प्रवक्ता केसी
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार केसी असई रोकाको बारेमा गुनासो आएपछि अनुसन्धान गरी कारबाही प्रक्रिया थालिएको बताउँछन् । पछिल्लो समयमा सादा पोसाकका प्रहरी विवादमा आएको र गुनासो पनि बढेको उनले स्वीकारे । उनका अनुसार असई रोकालाई प्रहरी ऐन अनुसार विभागीय कारबाही थालिएको हो ।

तपाईको प्रतिक्रिया