थानीमाईमा पुर्वाधार निर्माणका लागि महायज्ञ

समाधान संवाददाता २०७६ मंसिर १८ गते १३:२२

समाधान संवाददाता
दमौली

थानीमाई मन्दिरमा पूर्वाधार निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यसहित श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । भानु नगरपालिका ७ वसन्तपुरस्थित थानीमाई मन्दिर व्यवस्थापन समितिले मन्दिरमा पूर्वाधार निर्माणका लागि महायज्ञ आयोजना गरेको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिर पुनर्निर्माण सम्पन्न भए पनि मन्दिरमा पित्तलको छाना, मन्दिर परिक्रमा गर्ने स्थानमा ढुंगा छाप्ने लगायतका पूर्वाधार निर्माणका लागि रकम अभाव भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले बताए । महायज्ञमा १ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । ‘थानीमाई मन्दिरको छुट्टै महत्व र गरिमा भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावले यसको सोचे जति विकास हुन सकेको छैन,’ थापाले भने, ‘महायज्ञबाट संकलित रकम पूर्वाधार निर्माण र मन्दिरको प्रचारप्रसारका लागि खर्च गर्नेछौ ।’

Advertisement

२४ गतेसम्म सञ्चालन हुने महायज्ञमा युवावाचक माधवकृष्ण महाराजले कथावाचन गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २२ लाख र मन्दिरको भेटीबाट संकलित रकम गरी ५५ लाख लागतमा मन्दिर पुनर्निर्माण गरिएको थियो । १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि १ रुखमा ओत लाग्दा त्यहाँबाट अन्तध्र्यान भएको किंवदन्ती छ । सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको बताइन्छ ।

थानीमाई मन्दिरमा कात्तिकको मंगलबार फूलको डोली चढाउन भक्तजनको भीड लाग्छ । यस वर्षको कात्तिक महिनाका ४ वटा मंगलबार मन्दिरमा २ सय २७ फूलको डोली चढाइएको थियो । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ ।

Advertisement

थानीमाई मन्दिरमा कात्तिकसँगै मंसिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौंबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचितसांसद कृष्णकुमार श्रेष्ठले महायज्ञमा ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गरेका छन् । मन्दिरमा पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित आयोजित महायज्ञले मन्दिरको प्रचारप्रसार र विकासका लागि योगदान दिन उनले यो सहयोग गरेका हुन् । सांसद निर्वाचित भएदेखि नै श्रेष्ठले तलब बापतको रकम विभिन्न संघ, संस्थालाई उपलब्ध गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया