महिनावारी, छाउगोठ र कुरिति

समाधान संवाददाता २०७६ मंसिर १९ गते १२:१४

सुमन थापामगर

अछामको साँफेबरगरमा महिनावारी भएकी १ महिलाको मंसिर १६, २०७६ मा ज्यान गयो । साँफेबर ३ सिद्धेश्वर डिक्रेनीकी २१ वर्षे पार्वती बुढाले महिनावारी भएपछि छाउगोठमा बस्दा ज्यान गुमाउनुप¥यो परम्पराका नाममा । विवाहको २ वर्ष पनि नपुग्दै अकालमा उनले ज्यान गुमाइन् । त्यो पनि स्वभाविक मासिक चक्र भएकै बेलामा साँझको खाना खाएर राम्रै सुतेकी उनी कहिल्यै नब्युँझिने गरेर निदाइन् सदा–सदाका लागि । यो त भर्खरको एउटा उदाहरण मात्र हो । महिनावारी भएकै समयमा छाउपडी गोठमा बस्दा ज्यान गुमाएका घटना बेला बेलामा सार्वजनिक भइरहेका हुन्छन् । तर पनि छाउपडी गोठ जस्तो कुसंस्कारको अन्त्य हुन सकेको छैन ।

मुलुकमा अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यही अभियान अन्तरगत विभिन्न सभा, सम्मेलन जनचेतनामूलक कार्यक्रम पनि भइरहेकै छन् । तर फेरि पनि १ पटक यो घटनाले त्यस्ता कार्यक्रम तथा सभा र सम्मेलनको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ । अछाममा भएको यो घटना महिला हिंसा अन्र्तगत नै पर्छ भन्दा फरक पर्दैन सायद । महिनावारी भएको समयमा महिलालाई झन् बढी पौष्टिक तत्व र हेरचाहको आवश्यकता हुन्छ । तर त्यही समयमा नै उनीहरुलाई कुसंस्कार तथा कुरितिले गर्दा एक्लै कुनै अलग्गै स्थानमा बस्न बाध्य बनाउने पनि समाज नै हो । र यही नियमले गर्दा नै अछाम जस्ता अन्य जिल्लामा महिला अकालमा ज्यान गुमाउन बाध्य छन् । महिनावारी कुनै समस्या होइन । यो त गर्व गर्नुपर्ने विषय हो । तर समाजले संस्कारका नाममा महिलालाई तल्लोस्तरको बनाइदिएको छ ।

महिनावारी महिलाको मासिक चक्र हो, जसलाई प्राकृतिक नियमका रुपमा पनि लिन सकिन्छ । प्रकृतिले दिएका सुन्दर उपहार पनि हो नारीका लागि यो चक्र । तर समाजले यही सुन्दर उपहारलाई नै कुरुप बनाइदिएको छ संस्कार र रीतिरिवाजका नाममा । पहिलो पटक महिनावारी भएको समयमा सूर्य, दाजुभाइ र बाबालाई हेर्नु हुँदैन, घर बाहिर जानु हुँदैन, घरको भान्सामा पस्नु हुँदैन, घरमा लगाइएको फलफूल तथा अन्य रुखलाई छुनु हुँदैन लगायतका नियम अहिले पनि छन् समाजमा । तर यो नियम अरु कसैले नभएर समाजले नै निर्माण गरेको हो, जसलाई मान्दै आउँदा २१ औं शताब्दीमा पनि चलिरहेको छ । गाउँमा मात्र होइन सहरमा पनि यो संस्कार कायमै छ ।

मंगोल समुदायमा महिनावारी भएको समयमा बार्ने कुनै नियम हुँदैन । केहीले बारे पनि धेरैले बार्दैनन् । म आफैलाई पनि महिनावारी भएको समयमा बार्नु परेन । पहिलो पटक महिनावारी हुँदा केही डर लागेको भए पनि बानु नपरेपछि ठूलो कुरा होइन रहेछ भन्ने बुझेकी थिएँ मैले । पहिलो पटक महिनावारी हुँदा म घरको भान्सामा प्रवेश गरेको थिए । हजुरबुबा, बाबा, भाइ सबैलाई मैले छोएको थिएँ । मैले छोएको पनि उनीहरुले खाए । केही बार्नु परेन । त्यसैले पनि धेरै सहज भएको थियो । समस्या जस्तो नै लागेको थिएन । पछि समाजमा बुझ्दै जाँदा मेरा धेरै साथीको घरमा बार्ने चलन रहेछ भन्ने थाहा पाएकी थिएँ ।

हुन त धेरै पहिलेभन्दा अहिले परिवर्तन भइसकेको छ । पहिले जस्तो महिनावारी हुँदा बार्ने चलन धेरै स्थानमा हटिसकेको छ । तर मन्दिर गएर या फेरि घरकै मन्दिरमा पनि पूजा नगर्ने चलन अझै छ । मन्दिर नजाने चलन पनि बिस्तारै हराउँदै जाला । किन कि महिनावारीको विषयमा अहिले आएको परिर्वतन एकै पटक आएको होइन । केही परिर्वतनका लागि पनि नेपाली महिलाले धेरै समय कुर्नु परेको थियो । हाम्रा हजुरआमाले पनि यो बारेका थिए र समाजबाट हुने अपहेलना पनि भोगेकै हुन् । हजुरआमाको र अहिलेको समयमा त धेरै परिर्वतन आएको छ । तर अझै केही कुसंस्कार भने कायम छन् ।

मलाई १ पटकको घटना याद छ । मैले काम गर्ने संस्थामा तिहारको लक्ष्मी पूजा थियो । सबै बिदामा, तिहार पश्चात बिदा लिने सर्तमा मैले त्यो समयमा काम गरेको थिएँ । लक्ष्मी पूजाको दिन महिनावारी भएको ३ दिन भएको थियो । लक्ष्मी पूजा गर्न संस्थाका अध्यक्ष श्रीमतीसहित आए । पूजा भइसकेपछि उनीहरुले मलाई प्रसाद दिए । मनमा पहिलेदेखि नै परेको असरले होला त्यो दिन प्रसाद खाने कि नखाने भन्ने भयो । महिनावारी भएको ३ दिन मात्र भयो भन्न पनि सकिन र बाध्यता तथा केही हुन्छ कि भन्ने डरका बीच पनि प्रसाद खाएँ । तर मनमा भने केही डर थियो केही हुन्छ कि भन्ने । घरमा गएर पनि भने । तर केही भएन । त्यो समयमा नै महिनावारी सामान्य हो भन्ने बुझिसकेकी थिएँ । भगवान रिसाउँछन्, केही नराम्रो हुन्छ भन्दै महिलालाई पहिलेदेखि नै डराउन दिइन्छ । संस्कृतिको नाममा उनीहरुलाई बाध्य बनाइन्छ । तर संस्कृति तथा इज्जत जोगाउने कर्तव्य महिलाको मात्र होइन, पुरुषको मात्र पनि होइन । सबै मिलेर जोगाउनुपर्छ ।

अहिले पनि लाग्छ महिनावारी बार्ने नाममा महिलालाई हेप्ने गरिन्छ र यो कुरीति हटाउनै पर्छ । समय लागे पनि सुरुआत भने हरेक महिलाले आफैंबाट गर्नुपर्छ । मैले पनि लक्ष्मीको पूजाको दिनमा प्रसाद खाइसकेपछि बुझेकी थिएँ, महिनावारीका बेलामा मन्दिर जानु र प्रसाद खानु सामान्य कुरा हो । त्यसपछि मैले त्यो विषयमा खासै ध्यान दिने गरेकी छैन । म मन्दिर जाने मान्छे होइन । भगवानप्रति विश्वास भएपनि मन्दिरमा गएर पूजा गरेको थाहा छैन । त्यसैले पनि महिनावारीको समयमा मन्दिर जाने भन्ने कुरा नै आउँदैन । किन कि अन्य सामान्य समयमा पनि म जादिँन । यति मात्र होइन मेरै आमा पनि महिनावारी भएको समयमा पूजामा बस्नु भएको छ । तर खै अहिलेसम्म त्यस्तो केही भएको थाहा पाएको छैन । यस्ता घटनाबाट पनि बुझ्न सकिन्छ कि महिनावारी भनेको मासिक र प्राकृतिक चक्र हो र हरेक महिलालाई यो हुन्छ । यसका विषयमा बनेका अनेकौं नियम समाजले बनाएका हुन् । त्यसमा कुनै सत्यता छैन । धेरै महिला महिनावारीका समयमा अन्य कुरामा नबार्ने भएपछि मन्दिर जाँदैनन् । आस्था भएर नै होला धेरैलाई उक्त समयमा मन्दिर जान हिम्मत नै आउँदैन । यो पनि बिस्तारै हट्दै जाला । समयसँगै गरिर्वतन हुने छ भन्ने सोच राख्नुपर्छ ।

महिनावारीका समयमा धेरै महिलालाई ढाड दुख्ने, तल्लो पेट दुख्ने जस्ता शारीरिक समस्या हुन्छ । शरीरको रगत बग्ने भएकाले केही कमजोरी पनि महसुस हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई पौष्टिक तत्व तथा हेरचाहको आवश्यकता हुन्छ । तर झन् बार्ने र भगवान रिसाउने बाहनामा उनीहरुलाई थप पीडा दिने गरिन्छ । यो स्वभाविक प्रक्रिया हो र महिनावारी नभए संसारको सृष्टि नै रोकिन्छ भन्ने कुरा हरेक व्यक्तिले बुझ्नुपर्छ । किन कि महिनावारी नभएका महिला आमा बन्न सक्दैनन् ।

विकट गाउँको त कुरै छाडौं, सहरमा पनि छाउपडी प्रथा व्याप्त छ । केही ५÷७ दिन जति भान्सा कोठामा जाँदैनन् र त्यो समयमा खाना खाने भाँडा तथा सुत्ने बिस्तारा पनि फरक छ । फरक यत्ति हो, विकट जिल्लाका गाउँमा घरभन्दा टाढा गोठमा सुत्न जानुपर्छ तर सहरमा घरमा नै सुत्न पाइन्छ । जस्तै पढेकाले पनि यो प्रथा मानेको पाइन्छ केही स्थानमा । महिनावारी जस्तो प्राकृतिक चक्रका समयमा पनि समाजले नियम तथा नीतिको बाहनामा महिलालाई विभिन्न विषयमा रोक लगाइएको हुन्छ, जुन गलत हो ।

सन् २०११ की मिस नेपाल मलिना जोशीलाई अझै पनि याद छ धेरै पहिले महिनावारी हुँदा उनले आफूले आफ्नो कोठामा सुत्न पनि पाउँदिनथिन् र भान्सामा पनि जान्थिनन् । उनले एउटा युट्युब च्यानललाई दिएको अन्तरवार्ताका क्रममा भनेकी छिन्, ‘तर अहिले म आफ्नै कोठामा सुत्छु र भान्सामा गएर खाना खान्छु केही भएको छैन, यसलाई सामान्य रुपमा सोच्नुपर्छ ।’ उनले धरान जस्तो सहरमा पनि महिनावारीका क्रममा दुख भोगिन् । उनी मात्र होइन, सहर र शिक्षित भनिएका परिवारमा पनि महिनावारीलाई नराम्रो रुपमा लिइने चलन अझै पनि छ ।

कलाकार सुरक्षा पन्तले पनि महिनावारीको समयमा यस्तै समस्या भोगिन् । पहिलोपटक महिनावारी हुँदा उनलाई घाम, दाजुभाइलाई हेर्न हुँदैन भनिएको थियो । एसएलसी दिंदासम्म उनले महिनावारीको समयमा बारिन् । तर बुझ्दै गएपछि अहिले बार्दिनन् । घरमा पनि अहिले केही समस्या छैन महिनावारीलाई लिएर । घर केही कुरा पनि एकैपटक परिर्वतन नहुने बरु बिस्तारै–बिस्तारै अगाडि बढ्नुपर्ने उनी बताउँछिन् । उनी मात्र होइन सहरमा पनि यस्ता समस्या प्राय घरमा हुने गर्छ । तर धेरैलाई यसलाई सार्वजनिक गर्न चाहँदैनन् । स्कुलमा पढ्दा नै प्राय युवतीलाई महिनावारी सुरु हुने भएकाले स्कुलको पाठ्यक्रममा नै महिनावारीका बारेमा सम्पूर्ण जानकारी भएको विषयवस्तु समेट्नुपर्नेमा उनी जोड दिन्छिन् ।

नेपालको शिक्षामा समस्या त धेरै छन् । महिनावारी जस्तो विषयमा विद्यालय तहमा नै युवतीलाई जानकारी दिन सके अझै प्रभावकारी हुन्छ । विद्यालयको त कुरे छाडौं नेपाली समाजमा घरमा समेत महिनावारीको विषयमा युवतीलाई कुनै जानकारी नै दिइँदैन । यदि घरमा छोरीले नै यो विषयमा जानकारी लिन खोजिन् भने पनि यस्तो पनि कुरा गर्ने हो भन्दै टारिदिन्छन् । हरेक छोराछोरीका लागि आफ्नो परिवार नै सबैभन्दा पहिलो शिक्षक हुन्छन् । महिनावारीका विषयमा त झन् आमाले आफ्नी छोरीलाई सबै जानकारी दिनुपर्छ । सानैमा महिनावारीको बारेमा जानकारी दिन सके उनीहरुले बार्ने तथा अन्य कुरीतिलाई भोग्नु पर्दैन र यो सामान्य प्रक्रिया हो भन्ने बुझन् समय लाग्दैन । त्यसैलै लाज मान्नुभन्दा यो विषयमा सबै जानकारी दिनु नै उचित हो ।

विद्यालय तहका पुस्तकमा पनि महिनावारीका विषयलाई सही तरिकाले समेट्नुपर्छ । यो कुनै ठूलो विषय होइन । केही शिक्षकले महिनावारी तथा यौनका बारेमा पढाउनु छ भने त्यो पाठलाई त्यसै छोडेर अर्को विषयमा पढाउन सुरु गर्ने उदाहरण पनि हाम्रै समाजमा छ । शिक्षक नै लाजले जानकारी दिन हिच्किचाउँछन् भने विद्यार्थीले कसरी सिक्ने त ? त्यसैले लाज होइन, गर्वका साथमा आफ्ना महिनावारीका विषयमा विद्यार्थीलाई जानकारी दिनुपर्छ ।

महिनावारीको विषयमा महिला स्वयम् मात्र होइन पुरुष पनि जागरुक हुनुपर्छ । यसलाई पुरुषले पनि गर्वका रुपमा दिनुपर्छ । किन कि महिला महिनावारी नभएको भए उनीहरुले पनि यो संसार देख्न पाउँदैनथे । यसलाई लाजभन्दा पनि शिक्षाका रुपमा ग्रहण गर्नुपर्छ । यति मात्र होइन, महिनावारीका समयमा प्रयोग हुने प्याड कुनै पसलमा गएर किने पसलका व्यक्तिले पत्रिका या अन्य कुनै पेपरले बेरेर नदेखिने गरेर दिन्छन् । तर यो गलत हो । महिनावारी हुँदा प्रयोग हुने प्याडमा त्यस्तो केही खराबी पनि हुँदैन र यो प्राकृतिक प्रक्रिया हो भन्ने उनीहरुमा ज्ञान हुनुपर्छ । अझ केही युवतीमा समेत मेडिकल या पसलमा प्याड किन्न जाँदा पुरुष छ भने लजाएर त्यसै फकिर्ने समस्या हुन्छ । आखिर लजाउनु किन ? प्याड किन्दैमा हाम्रो इज्जत जाने होइन र हामीले कुनै अपराध पनि गरेका हुँदैनौं । यदि परिवर्तन हुनु नै छ भने सुरुमा त महिला आफै जागरुक हुनु जरुरी छ ।

महिनावारीको विषयलाई लाजको विषयभन्दा पनि सबैसँग कुरा गर्न सक्ने किसिमको बनाउनुपर्छ । प्याड किन्दा लुकाएर पत्रिकामा बेरेर होइन गर्व साथ मागौं । परिर्वतन आफैंबाट सुरुआत गर्नुपर्छ । अनि मात्र समाज परिवर्तन हुन सक्छ । समाज हामी जस्तै व्यक्ति–व्यक्ति, परिवार–परिवार मिलेर बन्ने हो । त्यसैले पनि पहिले १ व्यक्तिलाई सम्झाउन सफल भएपछि परिवार र परिवारलाई सम्झाएपछि समाज परिर्वतन गर्ने हो । अनि मात्र महिनावारी भएपछि विभिन्न विभेद हुँदा कुनै युवतीले ज्यान गुमाउनुपर्ने छैन ।

नेपालमा महिनावारीको विषयमा जागरुक बनाउने भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरिरहेका हुन्छन् । कार्यक्रमको आयोजना गरिन्छ । तर विकट स्थानमा नभएर सहरको कुनै होटल तथा पार्टी प्यालेसमा । सहरमा केही बाँकी रहेको भएपनि महिनावारीको समयमा हुने यस्ता संस्कार गाउँमा बढी व्याप्त छ । सहरमा कार्यक्रम गरेर गाउँमा पनि त्यसको प्रभावकारिता बढ्छ भन्ने सोच राख्नु नै गलत हो । अहिले चलिरहेको १६ दिने अभियानका विषयमा पनि कतिपय महिलालाई थाहा पनि छैन होला । अभियान तथा कार्यक्रमका नाममा बजेट मात्र सक्नुभन्दा प्रभावकारी कार्य गर्नु पनि आवश्यक हुन्छ ।

तर यसको विषयमा समाजमा रहेको कुरीतिलाई हटाउन सकिरहेको छैन । अझै पनि देशका विकट जिल्लामा युवतीले महिनावारीका समयमा छाउगोठमा बस्नु पर्दा ज्यान गुमाइरहेका छन् । महिनावारीका समयमा हुने विभेद कुनै होटलमा गोष्ठी, सम्मेलन तथा अन्य कार्यक्रमको आयोजना तथा सडकमा ठूला–ठूला अक्षरमा लेखिएका ब्यानर सहितका र्‍यालीको आयोजना गरेर मात्र समाधान हुने होइन । यसको प्रभावकारितालाई ध्यान दिएर साच्चै नै यो समस्याको अन्त्य गर्नु छ भने सम्बन्धित स्थान, महिला तथा पुरुष दुवैलाई सही तरिकाले जानकारी दिनुपर्छ ।

होइन भने मुलुकमा पार्वती जस्ता अनेकौं युवतीले ज्यान गुमाइरहने छन् र त्यस्ता कार्यक्रम गोष्ठी, होटल तथा पार्टी प्यालेसमा मात्र सीमित हुने छ । प्रत्येक महिलाले यो विषयमा खुल्ला रुपमा कुरा गरौं र महिनावारीका समयमा प्रयोग गरिने प्याड लगायतका सामान पत्रिका वा अन्य कुनै पेपरले बेरेर होइन खुल्ला रुपमा किन्न सिकौं । अनि मात्र हामीले आफू माथि महिनावारीका नाममा हुने विभेदको अन्त्य गर्न सक्छौं । होइन भने के थाहा ? यस्तै लाज मानिरहे पार्वतीको स्थानमा हाम्रो आफ्नै सन्तान पनि हुन सक्छिन् । यो विषयमा सोचौं र महिनावारीलाई गर्वका रुपमा लिन सिकौं ।

तपाईको प्रतिक्रिया